चीन लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदारः सभामुख घिमिरे



काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताएका हुन् ।

“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उनले भने, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”

सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताउनुभयो । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उनले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताए ।

सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।

“हालसालै डिसेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ”, सभामुख घिमिरले भने, “उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्गप्रशस्त गरेका छन् ।”

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गर्दै गत वर्ष विविध चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै चीनले उत्कृष्ट प्रगति गरेको बताए । साथै उनले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा, विशेषगरी अध्यक्ष सी चिनफिङको मार्गदर्शनमा चीनले जटिल अन्तर्राष्ट्रिय अवस्थाको बीचमा आफ्नो आर्थिक विकासलाई सुनिश्चित गरेको जानकारी गराए ।

राजदूत चेनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन–नेपाल रणनीतिक सहकारी साझेदारीलाई अगाडि बढाउँदै बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवद्र्धन गर्न, सहयोग ढाँचा सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरे । यसले विकास र समृद्धिको दिशामा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको उनको भनाइ थियो ।

“दुई देशका बीचमा, त्रि–आयामिक कनेक्टिभिटी नेटवर्क निर्माणले गति लिइरहेको छ, १४ परम्परागत सीमा व्यापार नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् र हप्तामा ४८ वटा सिधा हवाई उडान सञ्चालनमा रहेका छन्”, उनले भने, “दुई देशका मित्रहरू एकअर्कालाई पर्यटनका लागि घुम्न आउने, नेपालमा लगानी गर्न र व्यापार गर्नका लागि धेरै चिनियाँ उद्यमीहरू आउने र बढीभन्दा बढी नेपाली सामान चीनमा निकासी हुने गरेको देख्दा हामी खुसी छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाभारतमा आगलागी नियन्त्रणका लागि सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रे।  काभ्रे जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…

गण्डकी। उपचारका क्रममा भारतको एक अस्पतालमा मंगलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम

सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ: उपमहासचिव ज्ञवाली

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप