सरकार सहज ढंगले चलेको पनि छैन र यो धेरै समय टिक्नेवाला पनि छैनः अध्यक्ष प्रचण्ड
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताएका हुन् ।
उनले केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता डा. शेखर कोइराला र चन्द्र भण्डारीसँग कुराकानी भएपनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको बताए ।
उनले भने, ‘कांग्रेसका शशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो । सरकारप्रति अहिले कुनै अभिरुचि छैन । सत्ता सहकार्यको कुनै कुरा भएन ।’
प्रचण्डले सरकार सहज ढंगले नचलेको र यो गठबन्धन धेरै समय नटिक्ने बताए । सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विधेयक अध्यादेशमार्फत ल्याएर गलत गरेको जिकिर गरे ।
संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो ।