पीएल दाइ भन्नुहुन्थ्यो-‘ल भन जेपी, आज काँग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्याण्डल गर्ने ?’



जेपी गुप्ता ।
लामो समयको अन्तरालमा काठमाडौं गएको थिएँ । अर्को दिन बिहानै पिएल दाइलाई भेटन चाक्सीबारी पुगेको थिएँ । तुरून्तै भेट्न पाएँ र सोधें तपाईंलाई कस्तो छ ? केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कँदै गरेको लाग्यो । स्वर पुरानै थियो । “फिल मच बेटर । तर, अत्यधिक थकाईको अनुभव र रोगले जन्माएको खाना प्रतिको बेस्वादले दिक्दार लागेको छ।” पिएल दाइले मलाई बडो अपनत्वका साथ आफूसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ ।

त्यसदिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौं । पिएल दाइको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नु हुन्थ्यो। फेरि गफिँदै हामी बालाजु, सोह्रखुट्टे, पक्नाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक हुँदै न्यूरोड गेटसम्म आइपुगेका थियौं । हिँडाई लामो भएको थियो । बिस २०४०–४१ साल तिरको त्यस हिँडाईमा पिएल दाइले बडो बिस्तारका साथ गणेशमानजीको विचार निर्माणको पद्दतिका बारेमा केही कुरा बताउनु भएको थियो। र, बिपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानको लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैली बारे हाँस्दै भन्नु भा’थ्यो पिएल दाइले–त्यो के ‘ह्याण्डल बिथ केयर’ भन्छन् नि, हो ! बिपीको त्यही शैली अहिले चाहिन्छ गणेशमानजीलाई डिल गर्न बुझ्यौ ?

बिस २०४२ सालमा नेपाली कांग्रेसले पंचायती व्यवस्थाकोबिरूद्ध शुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो काँग्रेसको नेतृत्वमा। गणेशमानजी र गिरिजाबाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठूलो मतभिन्नता झाँगिईदै गएको देखिन्थ्यो । राजाले केही दाउ खेलेका थिए । कीर्तिनिधी विष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नु भएको थियो । गणेशमानजीलाई यो मन परेको थिएन । यसले गर्दा सत्याग्रह तर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो । तर, गिरिजाबाबुको विचार भिन्नै थियो । उहाँलाई लागेको थियो, पंचायत बिरूद्धको लामो संघर्षले साथीहरूमा थकाई पनि छ । केही साथीहरू पंचायततिर लागे पनि ।

राजासँगको यस्तो भेटले नेपाली काँग्रेसको ‘रिकगनाइजेशन’ बढने छ। शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन् छाउन नसक्ने एक पक्ष रहेछौं भन्ने धारणा स्थापित पनि हुन्छ। यसरी सोच्नु हुन्थ्यो गिरिजाबाबु। अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नु भएको थियो । विद्युत महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै बेहोराको निवेदनमा आम जनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजाबाबुको । तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन । पंचहरू तथा कम्युनिष्टहरूले यसलाई “बिन्तीपत्रको राजनीति” भनेर प्रचार गरिरहेको थिए। आन्दोलनको लागि काँग्रेसको बढदै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमान जीको ईगोले हम्मेसी स्वीकार्ने बिषय थिएन। यसलाई पंच र कम्युनिष्टहरूले खुब हौस्याएका थिए । पुरै काँग्रेस वृत यसबाट चिन्तित थियो । गणेशमानजी र गिरिजाबाबुकाबीच विचारको बुझबुझारथ हुनुपर्ने सबैको चासो थियो । पार्टी भित्र पिएल दाइ र शैलजा दिदी–यी दुई जना मात्र थिए जो दुबै नेताकाबीच सहज संवादलाई बढाउने सामर्थ्य राख्द्थ्यो । म यही बारेको केही कुरा गर्न त्यसबेला पिएल दाइलाई भेट्न गएको थिएँ ।

हेर जेपी उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन र ! यसैले त मैले ‘ह्याण्डल विथ केयर’ भनेको हुँ । पिएल दाइले नेपाली काँग्रेसको वीरगंज अधिवेशनको कुरो सुनाउनु भयो। वीरगंज अधिवेशनमा पार्टीका धेरै ठूला नेताहरूको सभापतिमा सुवर्ण शम्सेरलाई समर्थन थियो । गणेशमानजीले सुवर्ण शम्सेरलाई सभापति बनाउन चाहनु भएको थिएन । गणेशमानजीले सुवर्णजीको बिरूद्ध कुनै बलियो उम्मेदवार पाउनु भएको थिएन । बिपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नु भएको थियो । यो पनि गणेशमानजीलाई मन परेको थिएन । बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनु भयो भने उहाँलाई ठूलो धक्का लाग्नेछ । पैसा र धनका धनीको काँग्रेस भयो । मेरो त्यागको कुनै मान्यता भएन भने कुराले गणेशमानजीलाई बडो दुःखी तुल्याउने छ । यो ठूलो चिन्ता थियो बिपीलाई । अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना विश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अर्हाउनु भएको थियो । शायद बिस २०१२ साल तिरको कुरो हो यो । पिएल दाइले पाउँपैदल हिँडिरहेको मलाई सोध्नु भएको थियो– ल भन जेपी, आज काँग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्याण्डल गर्ने?

काँग्रेस भित्रको त्यस समस्याको त्यसबेला समाधान भयो । सबैले सत्याग्रहलाई बढाए । राजा समक्ष निवेदन पनि दिइयो । राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले लाखौं जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन् । राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो ।

अन्ततः गणेशमान जी काँग्रेस छोड्नु भयो । उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाइँदा र त्यस महायात्रमा हिँड्दा मलाई लागेको थियो–गणेशमान जीको मृत्यूलाई त किमार्थ पंछाउन सकिन्न्थ्यो। तर, यदि तेस दिन पिएल दाइले भन्नु भए अनुसार बिपीले गणेशमानजीलाई सम्हाल्ने गरे जस्तै त्यसबेलाका नेताहरूले सम्हालीदिएको भए पशुपतिसम्मको गणेशमानजीको यात्रा अझ महान हुने थियो ।

त्यसदिन रूग्ण पिएल दाइसँगै उहाँको सानिध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेए आयो ।
पुराना त्यसकुरामा बगेको मलाई थाहै भएन यसबीच पिएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । अनि मैले गहिरिएर उहाँलाई हेरें । आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाइ बातबातमा मेरो नाम लिनु पर्दा जेपी आनन्द बोल्नु हुन्थ्यो । यो नयाँ कुरा थिएन । तर यसले मेरो उहाँसंँगको लामो सम्बन्धको झल्को दिन्थ्यो। अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन् ।

धेरैबेर कुरा भयो । मेरो गाउँको घर पनि पुगेको संझना आयो उहाँलाई । एकसरो धेरै कुराहरू सुनाउनु भयो । सबैभन्दा बढी याद आइरहेको छ, पिएल दाइले भनेको–’जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु!’ शायद उहाँले यो कुरो म भित्रको मलाई भन्नुभएको थियो। लगभग वर्षदिन पहिले, शायद असोज ९, २०८० को कुरो हो यो ।  म फेरि पनि लेख्नेछु पिएल दाइ प्रेमलाल सिंहको बारेमा सोचेको थिएँ । आज उहाँको देहावसानको समाचार सुनें । शान्तिका साथ त्यहाँ रहनु हुनेछ पिएल दाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा के विषयमा भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

प्रकाशमानको प्रश्नः कांग्रेस-एमाले सरकार बनेपछि कुनै ‘स्क्याम’ सुन्नुभएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्