केपी ओलीनजिकका अन्य एमाले नेताहरू पनि किन जान्छन् कम्बोडिया भ्रमणमा ?
नारायण गाउँले ।
कोरियाको एउटा विवादित चर्चले आयोजना गरेको होली वाइन कार्यक्रममा कम्बोडियाका तत्कालीन प्रधानमन्त्री हुन सेनलाई भेट्न प्रधानमन्त्री केपी ओलीले कूटनीतिका सबै पर्खाल तोड्दै सोल्टी होटलमै तीन दिन बास बस्नुभएको थियो ।
चर्चको कार्यक्रममा कम्युनिष्ट ओली र हुन सेन कसरी जोडि़ए होलान् भन्ने धेरैलाई लागेको थियो । अझ चर्चको कार्यक्रमका लागि प्रधानमन्त्रीले निम्तो बाँड्ने र स्वागत गर्न होटलमै बस्ने कामका पछाडिको कारण गर्भमै रह्यो ।
त्यो भेटको केही महिनामै ओलीजीले विशेष महत्त्व दिएर कम्बोडियाको जम्बो भ्रमण पनि गर्नुभयो । डेढ वर्षअघिसमेत उहाँ निर्वाचन सुपरिवेक्षणका लागि कम्बोडिया पुग्नुभएको थियो । खास कारण र औचित्यबिनै तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष एवं एमाले नेता गणेश प्रसाद तिमिल्सिनाले पनि कम्बोडिया भ्रमण गर्दै हुन सेनलाई भेट्नुभएको थियो । केपी ओलीनजिकका अन्य एमाले नेताहरूले पनि कम्बोडिया भ्रमण गर्ने गरेको समाचार पढ्न पाइन्छ ।
दुबै देश गरिब हुनुबाहेक जनस्तरदेखि द्विपक्षीय व्यापारसम्म यी दुई देशबीच खास सम्बन्ध छैन । कम्युनिस्ट क्रान्ति र दर्शनका नाममा आधुनिक विश्वकै ठूलो नरसंहार भोगेको कम्बोडियाले करिब २० लाख नागरिक अथवा देशको झन्डै २५ प्रतिशत जनसङ्ख्या गुमाएको थियो । हामीले पनि १७ हजार नागरिक गुमायौं । पोलपोट भन्ने शासकको नाम सुन्नुभएको होला ।
युद्ध, भ्रष्टाचार र निरङ्कुश शासनले गर्दा इतिहासमा कुनै बेला समृद्ध कम्बोडिया आज चरम गरिबीको चपेटामा छ ।
बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको कम्बोडियालाई नेपालको लुम्बिनीसँग जोड्न सकियो भने भोलि त्यो देश समृद्ध भएसँगै केही धार्मिक पर्यटक तान्न सकिने देखिन्छ । तर, त्यसका लागि पनि पहिले कम्बोडिया धनी बन्नपर्ने हुन्छ ।
यो पृष्ठभूमिमा ओलीसँग जोडेर कम्बोडियाको कुरो गर्दा धेरैले सजिलै पत्याउने विश्वास दुर्गा प्रसाईंलाई भयो होला । अन्य देशजस्तो लोकतन्त्र र पारदर्शी शासन व्यवस्था नभएको कम्बोडियामा यस्तो आरोपको ‘भेरिफिकेशन’ गर्न सजिलो छैन भन्ने पनि उनलाई लाग्यो होला ।
त्यसमाथि कुनै बेला तत्कालीन माओवादी, नेकपा हुँदै एमालेसम्म किचनक्याबिनेटको सदस्य जस्तै बनेका र धेरै आन्तरिक छलफल र निर्णयमा साक्षी र मध्यस्थकर्ता बनेका दुर्गा प्रसाइँले पक्कै धेरै सूचना राखेका होलान् भन्ने सबैलाई लाग्छ ।
एकपल्ट उनको बिजनेस नै ओली र प्रचण्डको कृपाले फस्टाएको अनुमान धेरैले गरेकै थिए । दुई पाइलटलाई एकै ठाउँ ल्याउन सक्ने पहुँच र हैसियत थियो उनको । मार्सी भन्ने ब्राण्ड त सुन्नुभएको होला । लेनदेनकै कारण उनी किचनबाहिर पुगेको अनुमान गर्न सकिन्छ ।
यस्तो अवस्थामा प्रमाण नै नभए पनि उनले लगाउने गलत आरोपले मात्रै पनि आमजनमानसले पत्याउन सक्ने अवस्था थियो । अझ प्रमाण भन्दै फेक डकुमेन्ट नै बनाइएको रहेछ ।
उमेर, परिवार र स्वास्थ्यका कारण पनि ओलीलाई विदेशमा, त्यो पनि स्वस्थ र पारदर्शी कानुन नभएको देशमा पैसा लगानी गर्नुपर्ने अवस्था देखिन्न । त्यहाँ हाम्रा नेताका सन्तान काम गर्न जालान् भन्ने पनि छैन । अझ आफ्नै नागरिकता नै बुझाएर लगानी गर्नुभयो होला भन्ने पत्याउन सजिलो छैन । उहाँको मुख्य दोष भ्रष्टाचारको आरोप लागेका आफ्ना कार्यकर्ताको खुला संरक्षण हो ।
तर, अहिलेको माहोल त फेक र सत्य छुट्याउने कसरत गर्नुभन्दा आफ्नो नेताको भए षड्यन्त्र र अर्काको भए प्रमाण भन्दै विज्ञापनमा जुटिहाल्छ । ड्यामेज गर्ने मनसाय नै हो भने त्यो त पूरा भइहाल्छ ।
यसले आमनागरिकलाई भने घाटा पुर्याउँछ । कान्तिपुर लगायत पत्रिकामा समाचार आउँछ र बेइज्जत हुन्छ भन्दै हिजोसम्म रोकिएका भ्रष्टाचार र अनियमितता आज खुलेआम भएका छन् । कसैलाई मिडियाको डर छैन । यस्ता फेक आरोप जब प्रमाणित हुँदैनन्, त्यसको गर्भमा अन्य अपराध पनि भासभुस हुने डर हुन्छ !