ओलीजीलाई धन्यवाद, कसैको जागिर नखोसी रवि लामिछानेलाई नयाँ काम दिएकोमा !



नारायण गाउँले ।
युरोप अमेरिकातिर काम पाउन सजिलो छ, खुला बजार छ, त्यसैले भनसुन गर्न पर्दैन । तैपनि धेरैजसो जागिरका लागि ‘रिफरेन्स’ भनेर दुई जनाले सिफारिस गर्नैपर्छ । चरित्र र अनुभवको रिफरेन्स नआउँदासम्म काम सुरु गर्न सकिन्न । नेपालमा हामीले नेतामात्रै अटाउने र मोटाउने बजार बनाएका छौं । तीन वर्ष नेतागिरी गर्नुस्, देखिने जागीर नभए पनि जीवन ‘लग्जरियस’ हुन्छ । गाडी चढ्ने, नियमित बाहिर खाने, चाहेको बेला प्लेन चढेर देशभरि पुग्ने र दुई चार आसेपासे बोकेर हिँड्ने । जागिर खाएर यत्ति गर्न बाहिर पनि मुश्किल छ । मन्त्री, सांसद, मेयर, वडाध्यक्ष, सदस्य जस्ता पदहरू तीन–चार सय प्रतिशतले थपिएका छन् । त्यहाँ पुगेपछि फेरि जागीर खाने आवश्यकता पर्दैन । कस्तो सुविधा, कस्तो आम्दानी !

तर, एउटा नर्सले नर्सिङ पास गरेपछि काम पाउन पनि फेरि त्यही नेतागिरी गर्ने दर्जन जतिलाई नमस्कार गर्नपर्छ । फर्म भर्ने नाममा दसबीस हजार चढाउनुपर्छ । पुलिस, आर्मी, शिक्षक, एनटिभी या यस्तो कुनै सार्वजनिक जागिरको नाम लिन सकनुहुन्न जसमा राजनैतिक सिफारिसबिना सजिलै काम पाइयोस् । लोकसेवा छ एउटा आशा तर त्यसबाट जागिर खाए पनि घरपायक सरुवादेखि इच्छाअनुसार काम गर्न कतै न कतै, कुनै न कुनै दिन फेरि तिनैलाई नमस्कार गर्नैपर्छ । देश यस्तो बनाएको केपी ओलीले मात्रै पक्कै होइन । तर केपी ओलीले पनि त हो नि ! अमेरिकाबाट फर्केर एउटा युवाले भनसुनबिना काम नपाउने भएकै कारण ऊ त्यहाँ पुग्यो होला । सजिलै पाइने कुरो कसले माग्छ र ? योग्य भए यसै पाउँथ्यो नि भन्ने ओठे जवाफ नदिनुहोला, पाउँदैनन् ।

ओलीजीलाई धन्यवाद, उहाँले अरू कसैको जागिर नखोसी रवि लामिछानेलाई नयाँ काम दिनुभएछ । रविजीको पनि हिम्मत मान्नपर्छ, उहाँ प्रधानमन्त्रीसम्म पुगेर काम माग्नुभएछ । कति जनाले त्यो हिम्मत गर्लान् ? केपी ओलीसँग काम मागिएको होइन, देशको प्रधानमन्त्रीसँग मागिएको हो । केपी ओलीजी पनि भोट मागेरै त्यहाँ पुग्नुभएको हो । देश नै त्यस्तो बनाएपछि सुरूवाती जीवनमा सबैले ‘मागेरै’ जागिर खाएका छन् । खासमा नेतालाई त्यत्रो तलबभत्ता, सुविधा र भोट दिएको कम्तिमा नागरिकले नमागीकनै क्षमताअनुसारको जागिर पाऊन् भनेर हो । नेताले चाहनेबित्तिकै फुत्त काम निस्किने नहोस्, सिस्टमले होस् भनेर हो । तर नेताले तलब खाएर काम भने गर्न नसकेकाले नै रविहरूले काम माग्न परेको हो । प्रधानमन्त्रीले माग्न आउनेलाई मात्रै दिने होइन ।

तर उल्टो अलि दया नै देखाएर, टिठ खाएर, उपकारै गरेर काम दिएको जस्तो भान पर्ने गरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको भए हुने । अझ के काम जानेको छ भनेर सोधेको प्रसङ्ग अलि हेपेजस्तो सुनिने रहेछ । व्यक्तिगत जीवनलाई सबैले परस्पर आदर गर्नैपर्छ ।

हो, राजनीतिमा, खासगरी गृहमन्त्री बन्न ओलीजीले मद्दत गर्नुभएको हो । नागरिकतादेखि पासपोर्टसम्मका इस्युमा अलिकति सदाशय देखाउनुभएको हो । तर, त्यो पनि त आफ्नै गठबन्धन जोगाउन र आफ्नै स्वार्थ बचाउन गर्नुभएको हो । आज आफ्नो स्वार्थमा रविको भूमिका नभएकाले त्यही स्तरको बचाउ नगर्नुभएको हो । भोलि गणितले माग्यो भने फेरि गर्नुहुन्छ । यो त राजनीतिको तितो सत्य हो । देशको साधनस्रोत र जागीर जति आफ्नै गोजीमा राख्ने र आममान्छेलाई माग्न बाध्य बनाउने अनि मागेकोमा खिसिट्यूरी गर्ने कामचाहिँ अलि सभ्य भएन । प्रधानमन्त्रीको ठाउँमा रवि लामिछाने भएको भए र ओलीजी सत्ता र शक्तिमा नभएको भए उहाँले पनि त माग्नै पर्थ्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारीपूर्वक काम गर्न

मसलेदार खाना खानुका फाइदा छन् ?

खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम ।  नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न

यसरी गरियो गण्डकी प्रदेशसभा सदस्य गौचनको अन्तिम बिदाइ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको अन्तिम बिदाइ गरिएको छ । कात्तिक