अब गुड्ने होइन, उड्नेतिर



डा. गोविन्दशरण उपाध्याय ।
पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो भन्नु पनि उचित हुँदैन । पृथ्वीमा मान्छे छन्–यो अकाट्य सत्य हो । मान्छेको अस्तित्व पृथ्वीमा आश्रित छ–यो अर्को सत्य हो । मान्छे नहुँदा पनि पृथ्वीलाई केही फरक पर्दैन– यो तेस्रो सत्य हो । मान्छेले पृथ्वीलाई ‘फरक’ पारेका छन् – यो पाँचौं सत्य हो । पाँचौं सत्य बुझ्न रोशी खोला र हालैको स्पेन बुझे हुन्छ । मैले रोशी खोला देख्न सक्छु तर स्पेन सक्दिन । यो मेरो शक्ति हो । मेरो शक्ति नेपालभरी हिँड्न सक्छ, नेपाललाई केही बुझ्न सक्छ । नेपालमा म एक्लो छैन । तीन करोड मान्छे नेपाली छन् । केही नेपालमा छन्, केही बाहिर छन् । हामी मध्ये कसैले पनि नेपाल बनाएको होइन । हामीले नेपाल सित्तैमा पाएका हौँ । हामीले पृथ्वी पनि सित्तैमा पाएका हौँ । यहाँको हावा, पानी पनि हामीले सित्तैमा पाएका हौँ । सित्तैमा पाएको पृथ्वीमा हामी (मान्छेले) अधिकार जमाएका हौँ ।

सन् १७६९ मा निकोलसले पहिलो मान्छे बोक्ने स्वचालित सवारी साधन बनाएपछि यान्त्रिक सवारी साधनहरूको युग आरम्भ भयो । त्यसभन्दा पहिला घोडा, गोरू, ऊँटआदिले सवारी साधनहरू चल्थे । मान्छेले सवारी साधनहरू बोक्थे । बाटोहरूको इतिहास ७ हजार वर्ष पुरानो मानिन्छ तर १९ शताब्दिका जन म्याकआदमले आधुनिक रोड़ (कालो पत्रे) को सिद्धान्त तयार पारे । यसरी आधुनिक सवारी साधनहरू (स्वचालित इन्जिनमा आधारित मोटर, कार, बस, साइकल, डोजरआदि) चलाउन मिल्ने बाटोका सिद्धान्तकार जन आदम हुन् । त्यसपछि विश्वभरी कालोपत्रे बाटोहरू अजिङ्गरझैं जताततै फैलिए ।

विगत सात हजारवर्षदेखि १९ औं शताब्दिको पहिलो चरणसम्म बाटाहरू प्रकृति वा पृथ्वीमैत्री थिए । आवश्यकताअनुसार बाटाघाटा निर्माण हुन्थे । घरघरमा ‘साइकल, मोटरसाइकल, कार, बस र जहाज’ पुग्नु नै विकास हो भन्ने अवधारणा थिएन । मान्छेहरूका लागि पायक पर्ने ठाउँसम्म बाटो भए पुग्थ्यो । सन् १९२३ मा अमेरिकी कृषक जेम्स र म्याकलिडले पहिलो बुल्डोजर निर्माण गरे । यो ट्याक्टरको विकसित रूप थियो । मलाई लाग्छ, प्रकृतिका लागि बुल्डोजरको आविष्कार सबैभन्दा विनाशक सिद्ध भएको छ ।

नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि बाटोको परिभाषा र अमेरिका, भारतजस्ता मैदानी इलाका भएका देशहरूका लागि बाटोको परिभाषा एकै छ । अचम्मको कुरा के छ भने नेपालमा बग्रल्ती खुलेका इन्जिनिररिग क्याम्पस र तेहाबाट उत्पादन भएका रोड़–इन्जीनियरहरूका लागि र अमेरिकाको हवार्डमा पढ्ने इन्जिनियरका लागि रोड़को एकल परिभाषा छ । पहाड, तराई र हिमाल सबैतिरका लागि रोड़ एकैखाले हुने परिभाषा–पुस्तिकाको उहाँहरूसंग विकल्प छैन ।
परिभाषा र सिद्धान्त एउटा भएपछि नेपाली इन्जिनियरहरूका लागि पहाडी, हिमाली र मैदाने बाटोमा कुनै फरक परेन । सन् १९२३ मा काकतालीले निर्मित भएको बुल्डोजरहरू नेपाली इन्जिनियरहरूको मित्र बनेर नेपालका हरेक गाउँमा पुगेको छ । ती बुल्डोजरहरूले नेपालका पहाडहरूलाई बलात्कार गरेका छन् । हालै पूर्वतिर घुम्दा होस् वा पश्चिमतिरको यात्राको क्रममा किन नहोस् – बुल्डोजरले बलात्कार गरेका पहाडहरू, कान्लाहरू, गाउँठाउँहरू असरल्ल परेर रोइरहेका छन् । नेपाली अदालत, राजनीति वा समाजसेवीले यिनका पक्षमा वकालत गर्ने छैनन् ।

मलाई लाग्छ, पहिलो मोटर बनाउने निकोलस, पहिलो आधुनिक बाटो खन्ने सिद्धान्त प्रस्तुत गर्ने जन आदम र बुल्डोजर बनाउने म्याकलिडहरू पहिलो आधुनिक पेट्रोलको खोज गर्ने (१८५९) एडविन यी सबैको खोजको मान्छेले चरम दुरुपयोग गरेको छ । हो, सवारीसाधनहरूले मान्छेहरूको जीवन सहज भएको छ तर पृथ्वी र पृथ्वीमा रहेका अन्य प्रकृतिसंग मान्छेको व्यबहार उन्मत्त र स्वार्थी भएको छ । मान्छेको स्वार्थ र अभिमान निकै बढेको छ । पृथ्वीलाई (प्रकृति) जित्ने अहङ्कारले मान्छेको शक्ति बढेको छ । फलतः मान्छेको लागि अनिवार्य एकमात्र पृथ्वी अन्यायमा परेको छ ।

हालैको दशैंयात्रापछि मैले ‘नेपाली पहाडहरूका लागि डोजरले खनेर लैजाने बाटाहरू मानवीय स्वार्थ र दम्भका सबैभन्दा विकृत व्यबस्था हुन्’ भन्ने निष्कर्षमा पुगेको छु । जताततै डोजरले खनेर घाइते पहाडहरू वर्षाले गर्दा भत्किएका छन् । पहिरो नगएको कुनै ठाउँ छैन । प्रकृति नरोएको कुनै पनि रोड़ छैन । रोड़का छेऊमा वसोवास गर्ने कुनै पनि नडराएको मान्छे छैन । अचम्म त के छ भने आफैंले डोजर चलाउन सहयोग गर्ने तर पहिरो गएपछि सरकारलाई तथानाम भन्ने मान्छे मनग्गे भेटियो । दोषी को हुन् ? मैले निर्क्यौल गर्न सकिन तर धुजाधुजा भएको पृथ्वी हामी सबैले देख्न सक्छौं ।

अव अर्को कुरा गरौँ । बर्तमान मोटरबाटो होस् वा बाटोमा गुड्न बनाइएका सवारीसाधन नै किन नहोउन् – दूवै विज्ञान र बैज्ञानिकहरूले गरेका सबैभन्दा ठूलो भूल हुन् । बैज्ञानिकहरूले सवारीसाधनका लागि केवल पाङ्ग्रामा गुड्ने साधनहरूलाई महत्व दिंदा नेपाली पहाडहरूमा समेत मोटर गुड्न सक्ने बाटोको माग हुने अवस्था आएको हो । असलमा, पहिलो मसिनले गुड्ने सवारीसाधनको निर्माणमा जोड नदिएर केवल आकाशमा ‘उड्ने सवारीसाधन’को विकासमा जोड दिएको भए सम्भवतः नेपाली पहाडहरूको यस्तो दुर्दशा हुने थिएन । अजिङ्गरझैं जताततै सुतेका कालोपत्रे बाटोहरूका कारण पृथ्वीको तापक्रम १.३% बढ्ने थिएन ।

आकाश खाली छ । यदि आजको मोटरसाइकल, रेल, मोटर, बस आदि सवारीसाधनहरू निर्विध्न रूपमा आकाशमा उड्नेवाल हुन्थे भने पृथ्वीको तापक्रम १५ऋ रहन्थ्यो । पक्का र कच्चीबाटोका नाममा पृथ्वीलाई डोजरहरूले क्षतविक्षत बनाउने क्रियाकलाप निकै काम हुन्थ्यो । विश्वभरी सडकहरूको सन्जाल पुर्याउन लागेको अकुत पैसा मानवीय कल्याणकारी कार्यमा प्रयोग गर्न मिल्थ्यो ।

आज पनि बैज्ञानिकहरूसँग समय छ । सडकमा गुड्ने कारआदि निर्माण गर्न जुन रकम खर्च गरिएको छ, त्यतिनै रकम उड्ने सवारीसाधनहरूको विकासमा खर्च गर्ने हो भने आगामी १० वर्षभित्र खाली आकाशहरू सवारी उड्ने बाटो बन्ने छन् भने डोजरले क्षतविक्षत भएको पृथ्वीले प्राकृतिक रूपमा न्याय प्राप्त गर्ने छ । विज्ञानको अबको दिशा उड्ने सवारीसाधनहरूको बहुल विकासमा केन्द्रित हुनुपर्छ । आजको महत्वाकांक्षी मान्छे बाटोमा गुड्नुमा भन्दा उडेर गन्तव्यमा पुग्न चाहन्छ । मान्छे प्रकृतिको विनाशबाट चिन्तित छ । त्यसैले अवको बैज्ञानिक विकासमा गुड्नेतिर होइन उड्नेतिर निवेश हुनुपर्छ । कमसेकम नेपालको पहाडी र हिमाली भेकहरूमा बुल्डोजरको अत्याचार रोक्ने र मान्छेहरूलाई बोक्ने दूवैको विकल्प उड्ने नै हुनुपर्छ । त्यसै पनि आजको २५ वर्षपछि सडकमा गुड्नेहरू इतिहासका विषय बन्ने छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको सम्पत्ति जफत

रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, १५ वर्ष कैद सजाय माग

गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

काठमाडौं महानगरपालिकामा सहकारीसँग सम्बन्धित आउँछन् यस्ता समस्या र गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ,