रविका समर्थनकले गगन थापाहरूसँग थुतुनो बजाएर के पाउँछन् त ?
जेपी गुप्ता ।
बाँच्नेले त संसार हेर्छन्। मरेर जानेलाई कसले सम्झेका छन् र ? नेपालमा अदालतसंग ‘बैतनिक वकिल राखेर इजलाशमा संवाद गर्नु’ र ‘आफ्नो कुरा नमानेमा अदालतलाई नै ठेगान लाउन सक्ने संसदीय उपक्रम चलाउने हैसियतवाला दलका नेता’ मार्फत संवाद गर्नु– कुन माध्यम प्रभावशाली हुन्छ त रविका लागि ? सवाल त जीवन रक्षाको हैन र ?
एक समय रविले काँग्रेससँग मिल्न खोजेकै हो । एमालेसँग मिलेकै हो । नागरिकता सम्बन्धि मुद्दा परेको बेला एमाले पार्टीले रविको प्रतिरक्षा गरेकै हो । परिस्थिति फेरियो, अहिले प्रचण्डजी उनको प्रतिरक्षामा उत्रेका छन् । उनि चक्रव्यूहमा परिसकेपछि, त्यहीबेला ओलीजी अमेरिकामा रहेको समय यहाँबाट रविले अपील गर्दै भनेकै हो कि– ‘नेपाल आउनुस्, संवाद गरौं!’ कुरो मिलेन । अहिले थुनाबाट भएपनि संवादको प्रयास हुनु के गलत छ ?
स्वर्णिम वाग्ले र मनिष झाहरू काँग्रेसबाट बाहिरिएका हुन् । कोही एमालेबाट बाहिरिएका होलान् । यस्ताहरूको उक्साहटमा परि जिल्ला सरकारी वकिल अनि जिल्ला न्यायाधीशहरूबाट न्याय पाउने भर परेर रविले यत्रो उदीयमान राजनीतिक जीवनको हत्या गर्नु हुँदैन । अहिले रविले नेताहरूसँग संवाद थालेको ठिक हो । हाल मुलुकमा कारगर सिद्ध भैसकेको ‘व्यवहारिक राजनीतिको प्रारम्भिक रूप’ हो यो र यस्तो संवाद ।सबैले गरिआएकै हो । यसो नगरिएको भए लोकमान सिंहको थुनामा परेर प्रचण्ड सकिन्थे । उनी भारत भ्रमणमा रहँदै लोकमानको निर्णयको चाल पाएर देउवासँग मिलेर तक्षण महाभियोग दर्ता नगराएको भए डिल्लीबजार कारागार भित्रको गुम्बामा बसेर क्रान्तिको कथा लेखिरहेका हुन्थे ।
ओलीले प्ररायुसंघका युवा नेताहरूलाई अख्तियार पठाएर माओवादी शिविरमा भएका भ्रष्टाचारको छानबिनका लागि निवेदन उजुरी दर्ता गराएको बिर्सनु भयो ? प्रचण्ड लोकमानबाट जोगिए पनि ओलीजीले आफूले नियुक्त गरेका अख्तियार प्रमुखलाई सदुपयोग गरेर प्रचण्डलाई नउठ्ने गरि ठिंग्याउने थिए ।केही अघि यिनै रवि संसदमा रन्किदै– ‘अब वाईडबडी तथा मानव तस्करी आदि सबै फायल खोल्ने’ भनेको हैन ? कसरी बिर्सिनु ? त्यसपछि रामेश्वर थापाको घरमा मध्यस्ततामा ओली नेतृत्वको नयाँ सरकारको जन्म भएको हैन र ? रामेश्वर थापाको आत्मकथ्यको लोकार्पणको दिन अनुग्रहित देउवाको करूण भावना यतिकै फुटेको थिएन नि । अघिल्लो पटक ओलीले प्रचण्डलाई प्रधानमन्त्री नमानेको भए ओलीकाविरूद्घ दशौं मुद्दा खडा हुने थिएन र ? याद गर्नुस् त ? यसै पटक देउवाजीले सविनय ओलीलाई प्रधानमन्त्री नबनाएको भए प्रचण्डले देउवाको दशैं तिहार सक्ने थिएनन् र ? आरजू म्याडम स्वयंले स्वीकारेको हैन र यस तथ्यलाई ? पब्लिक डोमिनमा छ हेर्नुस् । देउवाले पनि सके ओली सरलाई गिँड्ने थिए ।
वालकृष्ण खाँणजी देउवाका सारथी थिए । कुनी कहाँ के मिलेन, राजनीति नै बर्वाद भयो । तर के कृष्ण सिटौलाले डाफर आदि केशमा आफ्नो ज्यान जोगाएनन् त ? राजा ज्ञानेन्द्रले शाही सत्ताको बेला सूर्यनाथलाई प्रयोग गरि कतिलाई सोत्तर पारे, अनि कतिलाई आत्मसमर्पण पछि जोगाई दिए, ति भाग्यमानी तालमेलीहरूले त मुद्दा पनि मिलाए, बक्सिसमा मन्त्री पद पनि पाए । तिनीहरूको नाम यहाँ लेख्नु पर्छ र ! नबिर्सनुस्, यो मुलुक आफन्तहरूको रगतको बहालमा लडेको श्रीपेचलाई तलबारको टुप्पोबाट उठाएर शिरमा पहिरिएर पन्जा छाप लेखाएर श्री ३ को पगरी पाउने जंगबहादुरलाई आदर्श मान्नेहरूको मुलुक हो ।
सहकारीको रकम हिनामिना भएको छ । रवि दोषी पनि होलान् । एनसेलले तिर्नु पर्ने राजस्व, विद्युत महसुलमा खर्बौंको मिनाहा, बैंक ब्याजमा अर्बौं अर्बौंको छुट, राष्ट्रिय गौरवका आयोजनाहरूलाई कहिल्यै समयमा सम्पन्न हुन नदिने गरि भेरिएशनमा भेरिएशन थप्दै खर्बौं खर्बको भार जनता उपर थोपर्दा कसैले चुइँक्क पनि नबोल्ने मुलुकमा रवि लगायत सबैबाट भए गरिएका अपचलनहरू माफी मिनाहा दिइँदा के नै बिग्रिने हो र ?
न्यायालयलाई निसाफको मन्दिर मानेर बयान दिदै जाने हो भने रविको अबको बाँकी जीवन अड्डा सार हुँदै बयान दिँदैमा यिनहरूले सकिदिन्छन् । एउटा जाबो फुली थपि माग्नका लागि जघन्य भन्दा जघन्य अपराधहरूलाई नामेट गरि दिने प्रहरीका हाकिमहरू भएको मुलुकमा, सकल प्रमाणहरूको पोकाका पोका फाइलहरू पर सारेर फैसलामा कविका पंक्तिहरू लेखेर अर्बौ अर्बका राजस्व असुली नगर्न न्याय गर्न नहच्किने न्यायाधीशहरूले रविलाई रेटनु परे थोपा रगत पनि भूइँमा टप्किन दिँदैनन् । के गर्नु त रविले ? अदालतको भर परेर ब्रम्हनालमा पुग्नु त !
‘ट्रयाक टु’ न्याय भनेकै सडकमा जे भैरहेको छ, त्यसलाई अगाडी पछाडी पार्दै नेताहरूसँग मिल्नु हो । फालिएको उ बेलाको राजाले राजदण्ड मुठ्याउन राजतन्त्र फालिएको सबै दोष थुपारेका प्रचण्डसँग मिल्न आज तम्सेका छन् । शेरबहादुर देउवा समक्ष ठकुरी–ठकुरीको भाइचारा प्रस्ताव गरिरहेका छन् । भारतलाई दोष दिन्छन् अनि योगी आदित्यनाथको पाउमा पर्छन् भने विचरा रवि तथा उनका मानिसहरूले गगन थापाहरूसँग थुतुनो बजाएर के पाउँछन् त ?
अनिकालमा जिऊ जोगाऊ है राजा रवि ! यिनले निमिट्यान्न् पार्लान् नि ! अहिले ज्यान जोगाउने तिर लाग सर ! बिन्तीपत्र लेखेर हुन्छ कि ढोगेर हुन्छ, यसबाट उम्कियौं भने चुनाव लडन पाउँछौ, नामांकन पत्र भर्दा यी सब वृतान्त लेख्नु पर्दैन । मुलुकमा तिम्रो मतदाता यत्रतत्र छन् । पोखरा, बुटवल, चितवन, काठमाण्डूको यस जनमतलाई निरास किन बनाउनु सर !