लोकतान्त्रिक राजनीतिक सभ्यताले निर्माण गरेका राजनीतिक मान्यताहरु मूलधारका दलहरूले नष्ट गरे
डा. युवराज संग्रौला ।
आजसम्मका लोकतान्त्रिक राजनीतिक सभ्यताले निर्माण गरेका राजनीतिक मान्यताहरु मूलधारका दलहरूले नष्ट गरे। (१) परिणाम आज राष्ट्रको आर्थिक संरचना लथालिङ्ग भएको छ, (२) राज्यका अङ्गहरु क्रियाहीन र जिम्मेवारीहीन भएका छन् (३) सांस्कृतिक मूल्यमान्यता र राष्ट्रिय मनोविज्ञान क्षतविक्षत भएको छ।
तर यी गम्भीर विचलन सँगै आएको अर्को समस्या हो ‘राजनीति मुल्य र मान्यता विहीन’ स्युडो राजनीतिक शक्तिको बजार निर्माण । अहिलेको नेपाली राजनीतिका समस्याका दुईवटा पाटा छन् । यसलार्य बिम्बबाट प्रष्ट गरौँ । (१) एउटा रुख धमिराले खाइसकेको छ र (२) अर्को चराले बिष्ट्याएर उम्रिएको बोट भाले हो फल्दैन । आजको अवस्था कसरी आयो, त्यसको राजनीति मुल्यांकन गर्ने बौद्धिक सामर्थ्य पनि नष्ट भएको देखिन्छ। यो अवस्था आउन के कुराहरू वा राजनीति दलका हिजोका के के अपराधहरु जिम्मेवार छन् ?
१. २०५२ साल पछाडि देखि नै नेपालका राजनीति दलले लोकतन्त्र विरोधी गठबन्धनबाट सत्ता कब्जा गर्ने राजनैतिक कुसंस्कारलाइ धन्दा बनाए । लोकतन्त्र ‘बहुमत र प्रतिपक्ष’ का संरचनामा काम गर्छ । गठबन्धनको कुसंस्कार राजनीतिक दलहरु’जनताप्रति उत्तरदायी छैनन् उनीहरुको धन्दा लुट्नु हो भन्ने’ भन्ने कुराको ठोस प्रमाण हो ।
२. राजनीति दलहरूले ‘देशको अर्थतन्त्रलाई विदेशी सहयोग (ऋृण) को दुब्लाइको रोगबाट संक्रमित पारे । ठूला परियोजनामा विदेशी संस्थासँगै मिलेर कमिसनतन्त्र कायम गरे र विदेशमा रकम जम्मा गर्न थाले । आज अर्थतन्त्र नवउदारवादले खाइसकेको छ ।
३. कथित शिक्षित वर्गले आफूलाई आधुनिकताको नाममा ‘उपभोक्तावाद’ दास बनायो, र कमाइजति खाएर सक्यो । त्यही मास राजनीतिक दलका झोला बोकेर हिड्यो र गाउँगाउँसम्म भ्रष्टाचार पुर्यायो । यस मासले नेपालको संस्कृति समग्र पतनको बाटोमा ठेल्यो ।
४. विकल्पका नाममा सनक र चटकको सहारामा बिचारहीन मास निर्माण भयो । यो काठ होइन नर्कट हो । यसबाट खम्बा बन्दैन ।
आजको आवश्यकता राजनीतिक नैतिकताको मूलधार निर्माण गर्दै, राज्य व्यवस्थापनका आधारभूत मान्यता स्थापित गर्दै राज्यको आर्थिक समृद्धिको नेतृत्व गर्ने बौद्धिक राजनीति संयन्त्र निर्माण गर्नु हो । परम्परागत समाजवाद र पश्चिमी उदारवाद असफल भएको आजको युगमा ‘लोकतन्त्रलाई नागरिकतन्त्रमा रुपान्तरण गर्ने र त्यसलाई मौलिक समतामूलक बितरण प्रणाली तर्फ उन्मूख गर्ने सामाजिक प्रणालीको विकास को संस्थापन गर्ने’ जिम्मा नै राजनीति हो । यस तर्फ नमोडिएको आन्दोलनले राष्ट्रको अवसान निम्त्याउने छ ।