नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौती



डा, नरेन्द्र लामिछाने

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइएको छ र तिनले स्वास्थ्य समस्याहरूको उपचारमा महत्वपूर्ण भूमिका खेलेका छन् । आयुर्वेदको विकास त नेपालको सांस्कृतिक र भौगोलिक विविधतामा आधारित जडीबुटीहरूको प्रयोगमा गरिएको छ, जसले धेरै परम्परागत औषधिहरू निर्माण गर्न सहयोग पुर्याएको छ ।

युनानी चिकित्सा पनि प्राचीन समयमा मुस्लिम समुदायमार्फत नेपालमा प्रवेश गरेको थियो र विभिन्न स्वास्थ्य समस्याहरूको समाधानका लागि लोकप्रिय रह्यो । तर, पछिल्लो समय नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रभाव बढ्दो छ । यसले गर्दा परम्परागत चिकित्सा पद्धतिहरूमा पनि परिवर्तन आवश्यक रहेको छ । पछिल्लो केही वर्षमा अकुपञ्चर चिकित्सा विधिको लोकप्रियता बढ्दो छ । यस पद्धतिको प्रयोग विशेषगरी सहरी क्षेत्रहरूमा बढी देखिएको छ, जहाँ आधुनिक चिकित्सा प्रणालीका साथै वैकल्पिक चिकित्सा विधि फिजियोथेरापी, मालिस जस्तैको खोजी हुने गर्दछ । स्वास्थ्य क्षेत्रमा नवीन दृष्टिकोण अपनाउँदै, केही नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले अकुपञ्चरको उपयोगिता र प्रभावकारितामा गहन अध्ययन गर्न थालेका छन् । अकुपञ्चरले विना औषधि दुखाइको उपचार गर्न सक्ने भएकाले, यसले लामो समयसम्म औषधि सेवन गर्दा उत्पन्न हुने नकारात्मक प्रभावहरूबाट जोगाउन सक्ने मान्यता छ ।

झन्डै दुई हजार वर्ष पुरानो उपचार विधि हो अकुपञ्चर । यसमा शरीरका विभिन्न ‘मेरिडियन’ भनिने ऊर्जा च्यानलहरूमा सुईहरूको प्रयोग गरी स्वास्थ्य समस्याहरूको उपचार गरिन्छ । चिनियाँ चिकित्सा सिद्धान्तअनुसार जब शरीरमा ‘चि’ भनिने ऊर्जा प्रवाहमा असन्तुलन हुन्छ, तब विभिन्न रोग र स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । अकुपञ्चरले यी च्यानलहरूमा सुई राखेर असन्तुलनलाई सुधार्न र शरीरको प्राकृतिक उपचार क्षमतालाई मजबुत बनाउन मद्दत गर्दछ ।

यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ । अकुपञ्चरले विना औषधि नै शरीरका प्राकृतिक उपचार प्रक्रियाहरूलाई सक्रिय बनाउँछ । यसले गर्दा प्रयोग गर्ने मानिसहरूमा दीर्घकालीन औषधिको आवश्यकतालाई घटाउने सम्भावना हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले अकुपञ्चरको महत्वलाई औँल्याउँदै १०० भन्दा बढी रोगको उपचारमा यस पद्धतिको प्रभावकारिता प्रमाणित गरेको छ । सङ्गठनको मान्यता र अनुसन्धानले गर्दा विश्वभरका मुलुकहरूमा यस पद्धतिलाई व्यापक रूपमा वैकल्पिक चिकित्सा विधि भनेर अभ्यास गरिन थालिएको छ । चीन अकुपञ्चरको उद्गमस्थल हो र यहाँ सबैभन्दा व्यापक रूपमा प्रयोग गरिन्छ । जापानमा ‘हरिगेट्सु’ विधिबाट फरक तरिकाले अकुपञ्चर गरिन्छ, जबकि दक्षिण कोरियामा परम्परागत र आधुनिक चिकित्सा पद्धतिको मिश्रणमा यसको लोकप्रियता बढ्दै गएको छ ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा दुखाइ र तनाव व्यवस्थापनमा यसको प्रयोग बढिरहेको छ र क्यानडामा यसलाई स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ । अष्ट्रेलियामा यो विशेषगरी दीर्घकालीन रोग र दुखाइ उपचारमा लोकप्रिय छ । जर्मनीमा अकुपञ्चरलाई बीमा कभरेजसहित आधुनिक चिकित्सा पद्धतिमा समावेश गरिएको छभने ब्रिटेनमा राष्ट्रिय स्वास्थ्य सेवाले यसलाई वैकल्पिक उपचार विधिका रूपमा मान्यता दिएको छ ।

फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।

त्यस्तै छिमेकी मुलुक मलेसिया, थाइल्यान्ड, भेतनाम, सिङ्गापुरजस्ता देशमा अझै अकुपञ्चरको लोकप्रियता लोभलाग्दो छ । साथै, वैज्ञानिक र चिकित्सा अनुसन्धानहरूले अकुपञ्चरको प्रभावकारिता र यथार्थतामा गहिरो अनुसन्धान गर्न थालिसकेका छन् । विभिन्न बिश्वप्रख्यात जर्नल जस्तै ल्यान्सेट, नेचर, शेलमा अकुपञ्चरसम्बन्धी अनुसन्धान प्रकाशित भएको पाइन्छ । यो विधि स्वास्थ्य समस्याहरूको उपचारमा मात्र सीमित नरहेर, रोगहरूको रोकथाम र समग्र स्वास्थ्यमा सुधार ल्याउन पनि उपयोगी साबित भएको छ । यसको उपयोगबाट मानिसहरूले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधारको अनुभव गर्दछन् ।

नेपालमा अकुपञ्चर पद्धतिको प्रयोगको इतिहास लामो नभए पनि पछिल्ला दुई–तीन दशकमा यसको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । यो चिकित्सा विधि चीनसँगको सांस्कृतिक, शैक्षिक, र स्वास्थ्य सम्बन्धको परिणामस्वरूप नेपालमा प्रवेश गरेको मानिन्छ । अझै भैगोलिक विकासको रुपमा मुख्य गरेर अरनिको राजमार्ग बन्ने समयमा नेपालमा भित्रिएको दस्तावेज पाइन्छ । सन् १९८० को दशकमा वीर हस्पिटलमा अकुपञ्चरको शाखा नै खुलेर १७ वर्ष चलेको इतिहास छ । प्रारम्भमा सीमित स्थानहरूमा मात्र अकुपञ्चर सेवा उपलब्ध भए पनि अहिले यो सेवा नेपालका प्रमुख सहरहरूमा सहज रूपमा पाइन्छ । अझै सबैभन्दा पुरानो र ठूलो वैकल्पिक चिकित्सालय नरदेवी चिकित्सालयमा यसको उपयोगिता व्यापक रुपमा छ । पछिल्लो समय धेरै स्वास्थ्य संस्था, अस्पताल, र व्यक्तिगत क्लिनिकहरूले अकुपञ्चरलाई उपचारको एक विकल्पका रूपमा समावेश गरेका छन् । न्युरोसम्बन्धी नेपालको प्रमुख हस्पिटल अन्नपूर्ण न्युरोमा आइसियुदेखि नै अकुपञ्चर प्रयोग गरिन्छ भन्दा नौलो पनि लाग्न सक्दछ ।

नेपालमा अकुपञ्चरको विस्तारलाई चिकित्सा पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सन् २००० को दशकदेखि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै अकुपञ्चर सेवा प्रदान गर्न थालिएको थियो । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, र योग तथा ध्यानको प्राचीन परम्पराले गर्दा नेपाल शारीरिक र मानसिक उपचारका लागि आकर्षक गन्तव्य बनिरहेको छ । पर्यावरणीय शान्ति र आध्यात्मिकता खोज्ने पर्यटकहरूले अकुपञ्चरलाई आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उत्कृष्ट विकल्पका रूपमा देख्न थालेका छन् । अकुपञ्चरलाई ध्यान, योग, र प्राकृतिक उपचार विधिहरूसँग एकीकृत गरेर थेरापी दिन थालेपछि यसको प्रभावकारिता र लोकप्रियता झन् बढ्दै गएको छ । एकजना ब्राजिल पर्यटकले परम्परागत भारतीय चिकित्सा आयुर्वेद र चिनियाँ चिकित्साको एकैचोटि अनुभव लिनको लागि नेपाल आएको सुन्दा त पर्यटन क्षेत्रमा अकुपञ्चरको अझै विकास हुन धेरै बाँकी रहेको भान हुन्छ ।

नेपालमा अकुपञ्चरले विभिन्न स्वास्थ्य समस्यामा राम्रो परिणाम दिएको छ । विशेषगरी, ग्रामीण र सहरी दुवै क्षेत्रमा यसको पहुँचले गर्दा धेरै नेपाली जनतालाई प्राकृतिक उपचार पद्धतिहरूमा पुनः आकर्षित गरेको छ । चीनमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरूले अकुपञ्चरलाई नेपाली स्वास्थ्य प्रणालीमा समावेश गर्न महत्वपूर्ण भूमिका खेलेका छन् तर हालसम्म सरकारी तवरबाट धेरै चासोको विषय नबनेको देखिन्छ ।

अकुपञ्चरको प्रभावकारिता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारमा प्रमाणित भइसकेको छ । अनुसन्धानहरूले देखाएको छ कि अकुपञ्चरले विशेषगरी दुखाइ व्यवस्थापन, तनाव र मानसिक स्वास्थ्य समस्याहरू, निद्राको समस्या, पाचनसम्बन्धी विकारहरू, र प्रजनन स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ । दुखाइ व्यवस्थापनमा, अकुपञ्चरले शरीरमा प्राकृतिक पीडा निवारण गर्ने एन्डोरफिन्सको उत्पादनलाई प्रवद्र्धन गर्दछ । मांसपेशी र स्नायुहरूको रक्त प्रवाह सुधार गरेर यसले लामो समयदेखिको पुरानो दुखाइ, खासगरी घुँडा, डाढ–कम्मरको दुखाइ र माइग्रेनको उपचारमा सहयोग पुर्याउँछ ।

त्यस्तै, मानसिक स्वास्थ्य समस्याहरूमा अकुपञ्चरले तनाव र चिन्ता घटाउन मद्दत गर्दछ, जसले निद्राको गुणस्तरलाई सुधार्न प्रभावकारी देखिन्छ । त्यसैगरी, प्रजनन स्वास्थ्य सुधार गर्न र महिलाहरूमा मासिक धर्मसम्बन्धी समस्यालाई व्यवस्थापन गर्न पनि अकुपञ्चर प्रभावकारी छ । विशेषगरी बच्चा जन्माउन चाहने महिलामा यसको प्रयोग बढ्दो छ । यसको प्रभावकारिता प्रमाणित भएपछि यो पश्चिमी देशहरूमा पनि लोकप्रिय बनेको छ र पारम्परिक औषधिको कुनै असरविना दीर्घकालीन समस्याहरूको समाधान दिन सक्छ भन्ने विश्वासले यसको लोकप्रियता अझै बढ्दै गएको छ ।

साथै, प्रसिद्ध व्यक्तिहरूले अकुपञ्चरको प्रयोग गरेपछि आफ्नो अनुभव व्यक्त गर्न थालेपछि यसको विश्वसनीयता र पहुँच पनि बढेको छ । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूले अकुपञ्चर सेवा उपलब्ध गराउन थालेपछि यो सहज रूपमा पहुँचयोग्य बनेको छ, जसले यसको लोकप्रियतालाई थप बल प्रदान गरेको छ ।

नेपालमा अकुपञ्चर सेवाको विकाससँगै औपचारिक शिक्षा र प्रशिक्षणमा देखापरेका प्रमुख समस्यामध्ये एक भनेको देशभित्र अकुपञ्चर शिक्षाका लागि कुनै विशेष कलेज वा विश्वविद्यालयको अभाव हो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक पूर्वाधार र पाठ्यक्रम विकास नहुनु ठूलो चुनौती बनेको छ । अकुपञ्चर अभ्यासका लागि औपचारिक शिक्षाको मान्यता नहुनाका कारण धेरै नेपाली विद्यार्थीहरूले चीन, दक्षिण कोरिया र जापानजस्ता मुलुकहरूमा गएर अध्ययन गर्नुपरेको छ, जसले आर्थिक र सांस्कृतिक चुनौती थप्दछ ।

विदेशमा शिक्षा प्राप्त गरेर फर्किएका विशेषज्ञहरूको प्रमाणीकरण प्रक्रिया भने अझै अस्पष्ट र जटिल रहेको छ । विदेशमा अध्ययन गरेका डाक्टरहरूले नेपालमा दर्ता गराउन र लाइसेन्स प्राप्त गर्न लामो समयसम्म प्रक्रियामा अड्किनुपर्ने हुन्छ । प्रमाणीकरणका क्रममा उनीहरूको योग्यता र दक्षतालाई ठोस रूपमा मूल्याङ्कन गर्ने प्रक्रिया स्पष्ट नभएकाले यो क्षेत्र व्यवस्थित हुन सकेको छैन । यसले अकुपञ्चर अभ्यास गर्ने योग्यतावान चिकित्सकहरूको प्रभावकारी सेवा प्रदान गर्नमा अवरोध खडा गरेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले अकुपञ्चरलाई व्यवस्थित गर्नका लागि ठोस मापदण्ड निर्माण गर्न आवश्यकता छ । विदेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरूको योग्यता र अनुभवलाई मान्यता दिने सरल, छिटो र विश्वसनीय प्रक्रिया विकास गर्नु जरुरी देखिन्छ । यसले नीतिगत स्पष्टता ल्याएर अकुपञ्चरको गुणस्तरीय अभ्यासलाई प्रोत्साहन गर्नेछ र यो पद्धतिलाई संस्थागत रूपमा अगाडि बढाउन सहयोग पुर्याउनेछ । साथै, आन्तरिक रूपमा शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूको विकास गर्नसमेत प्राथमिकता दिइनु पर्नेछ, जसले नेपालभित्रै दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउन सक्छ ।

हालसम्म अकुपञ्चर अभ्यासलाई कानुनी रूपमा मान्यता दिने कुनै विशेष ऐन वा नियमावलीको अभावले यस पद्धतिका गुणस्तर र पारदर्शितामा विभिन्न चुनौती देखापरेका छन् । कानुनी संरचनाको अभावले गर्दा अकुपञ्चर सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाहरूको प्रमाणीकरण, योग्यता मापदण्ड र सेवाको गुणस्तर सुनिश्चित गर्न समस्या परेको छ । कानुनी आधारविना, यो पद्धतिको दुरुपयोगको सम्भावना रहन्छ, जसले सेवाग्राहीहरूलाई ठगी र त्रुटिपूर्ण उपचारको जोखिममा पार्न सक्दछ ।

अकुपञ्चरलाई चिकित्सा सेवाका रूपमा कानुनी मान्यता दिनु अत्यावश्यक भइसकेको छ । कानुनी संरचनाले मात्र अकुपञ्चरको औपचारिकता र विश्वसनीयता सुनिश्चित गर्न सक्छ । यसले अभ्यास गर्ने विशेषज्ञहरूको योग्यता, दर्ता र लाइसेन्सिङ प्रक्रियालाई पारदर्शी र सङ्गठित बनाउँछ, जसले अकुपञ्चर सेवाको गुणस्तर बढाउन र सर्वसाधारणमा यसको लोकप्रियता फैलाउन सहयोग पुर्याउनेछ ।

स्वास्थ्य मन्त्रालयले आयुर्वेद, होमियोप्याथी र अन्य वैकल्पिक चिकित्सा विधिहरूसँगै अकुपञ्चरलाई पनि समान तहमा राखेर नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । यसका लागि एकीकृत शिक्षा, अभ्यास, र अनुसन्धानको संरचना तयार पार्न जरुरी छ । अकुपञ्चरलाई वैकल्पिक चिकित्सा प्रणालीमा आधिकारिक रूपमा समावेश गरिएमा यस विधिको अनुसन्धानलाई प्रोत्साहन दिने, विशेषज्ञहरूको प्रशिक्षणलाई सुव्यवस्थित गर्ने र जनमानसलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अवसर मिल्नेछ ।

अकुपञ्चरप्रति सर्वसाधारणमा अझै पनि केही हदसम्म गलत धारणाहरू देखिन्छन् । धेरैजसोले यसलाई केवल परम्परागत वा धार्मिक उपचारका रूपमा मात्र हेर्ने गरेका छन् । यसले गर्दा यसको वास्तविक विज्ञानमा आधारित पक्ष र प्रमाणित प्रभावकारितालाई नजरअन्दाज गरिएको छ । कतिपय मानिसहरू अकुपञ्चरलाई वैज्ञानिक रूपमा प्रमाणित नभएको र वैकल्पिक उपचारका रूपमा मात्र लिने प्रवृत्ति देखिन्छ तर पछिल्ला वर्षहरूमा विश्वभरिका अध्ययनहरूले अकुपञ्चरको वैज्ञानिक आधार पुष्टि गर्दै आएका छन्, विशेष गरी पीडा व्यवस्थापन, तनाव निवारण र अन्य स्वास्थ्य समस्याहरूमा यसको सकारात्मक प्रभाव प्रमाणित भएको छ ।

जनचेतना अभावका कारण यस्तो गलत धारणा अझै कायम छ । यसलाई सुधार गर्नका लागि व्यापक जनचेतना कार्यक्रमहरू आवश्यक छ । यसले अकुपञ्चरको वैज्ञानिक आधार र यसको प्रभावकारितालाई सर्वसाधारणसमक्ष पुर्याउन सक्दछ । प्रचार–प्रसार र सही जानकारीको अभावमा यो चिकित्सा पद्धतिको वास्तविक फाइदा बुझ्न नसक्ने अवस्था रहेको छ ।

स्थानीय स्तरमा समेत अकुपञ्चर सेवा प्रदायकहरूलाई सही तालिम दिनु अत्यन्त महत्वपूर्ण छ । तालिमप्राप्त विशेषज्ञहरूमार्फत मात्र गुणस्तरीय सेवा प्रदान गरिनुपर्छ भन्ने धारणा स्थापित गर्नुपर्छ । तालिम र प्रमाणीकरण बिना सेवा प्रदान गर्ने व्यक्तिहरूको कारणले बिरामीहरूले गलत सेवा प्राप्त गर्ने जोखिम हुन्छ । योग्यतावान् विशेषज्ञहरूले मात्र यो सेवा दिनुपर्ने बाध्यता राखेर सेवाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ । यसले अकुपञ्चरलाई व्यापक रूपमा फैलाउन र सर्वसाधारणमा यसको सही जानकारी पुर्याउन सहयोग पुग्नेछ ।

भविष्यको सम्भावना र आवश्यक सुधारहरू

नेपालमा अकुपञ्चरको भविष्य वास्तवमै उज्ज्वल देखिन्छ, किनकि यो प्राकृतिक र वैकल्पिक चिकित्सा विधिका रूपमा जनस्तरमा स्वीकृति पाउँदैछ । दीर्घकालीन स्वास्थ्य समस्याहरूको रोकथाम, उपचार र पुनःस्थापनामा अकुपञ्चरको भूमिका महत्वपूर्ण बन्न सक्छ । यसको प्रभावकारितालाई बुझ्दै, नीतिगत सुधार र संस्थागत संरचना विकास गर्नु अत्यावश्यक छ । नेपालमा अकुपञ्चरको अभ्यासलाई कानुनी मान्यता दिएर, शिक्षा र प्रशिक्षणको मापदण्ड विकास गर्दै योग्य विशेषज्ञहरू उत्पादन गर्न स्वास्थ्य मन्त्रालय, चिकित्सा संस्थाहरू र विशेषज्ञहरूबीच सहकार्य आवश्यक छ ।

जनचेतनामा सुधार ल्याउनु र सही जानकारी सम्प्रेषण गर्नु महत्वपूर्ण छ, ताकि अकुपञ्चरको वैज्ञानिक पक्ष र चिकित्सकीय लाभ सर्वसाधारणले बुझ्न सकून् । सरकारी र निजी क्षेत्रले ग्रामीण र दुर्गम क्षेत्रहरूमा पनि यो सेवा विस्तार गर्न पहल लिनुपर्छ, जसले गर्दा सहरी र ग्रामीण सबै क्षेत्रका जनताले एकैसमान सेवा पाउन सकून् । यसले अकुपञ्चरको पहुँच बढाउनाका साथै यस पद्धतिको स्थायित्व र लोकप्रियतामा सहयोग पुग्नेछ ।

(लेखक ब्लू लोटस हेल्थ होममा कार्यरत हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी सङ्गठनलाई व्यवस्थित गर्न एकीकृत समाजवादीमा केन्द्रीय सदस्यलाई जिम्मेवारी

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र

उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि मतमा सुधार भएको राप्रपाको निष्कर्ष, कमजोरी अध्ययन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनमा भएको कमजोरी अध्ययन

पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन