बुद्ध र मार्क्स
डा. गोविन्दशरण उपाध्याय ।
भारतीय दलित नेता डा. भीमराव अम्बेडकरले (१८९१–१९५६) को निबन्ध सङ्ग्रह ‘Buddha or Karl Marx’ ढ्दै गर्दा एउटा दर्शनशास्त्रको विद्यार्थीको रूपमा के साच्चिकै बुद्ध र मार्क्सका विचार तथा व्यबहारमा समानता छ ? भन्ने प्रश्नको उठान भएको छ । कार्लमार्क्स र अम्बेडकर दूवै अर्थशास्त्री हुन् । मार्क्सलव विश्वविद्यालयबाट डिग्री नलिए पनि पूँजी लेखेका छन् जुन अर्थशास्त्र हो भने अम्बेडकरले भने अर्थशास्त्री भएर पनि समाजको अभियन्ता भएर ‘दलित उद्धार’का लागि काम गरेका हुन् । जीवनको अन्त्यतिर परम्परागत बौद्ध धर्ममध्ये महायान र हीनयान वा ब्रजयानका व्याबहारिक तथा सिद्धान्तगत धारणाबाट मन सन्तुष्ट नभएर ‘नवयान’ नामक यान खोल्दै आफूलाई र आफ्ना अनुयायीहरूलाई नवयानवादी बौद्धका रूपमा प्रस्तुत गरेका हुन् ।
कार्लमार्क्स बुद्धभन्दा लगभग २५ वर्ष कान्छा हुन् । बुद्धले वैदिक धर्मसँग विद्रोह गरेका हुन् भने कार्लमार्क्सको विद्रोह सबै धर्म र खासगरी व्यक्तिगत पूँजीवादसंग रहेको प्रष्ट छ । बुद्धको विद्रोह भौतिक, मानसिक दुःखहरूको मुक्तिको लागि हुन्छ भने कार्लमार्क्सको विद्रोह पुँजीपति विरुद्ध छ । कार्लमार्क्सले गरिव (सर्वहारावार्ग)ले युद्ध गरेर धनिहरूबाट धन आफ्नो हातमा पार्न सके ‘दुःख–मोचन’ हुन्छ भन्ने विश्वास गर्छन् भने सिद्धार्थ गौतमले दुःख मुक्तिका लागि दुःख समुदयक साध्यहरू विरुद्ध मानसिक वा आध्यात्मिक विद्रोहको नेतृत्व गरेका छन् । बुद्ध धार्मिक नेता हुन् । कार्लमार्क्स अर्थराजनैतिक सिद्धान्तकार हुन् । बुद्धमा हिंसा पाप र अहिंसा आर्यकर्म हो भने कार्लमार्क्सले हिंसालाई परिवर्तनको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण साधन भएको घोषणा गर्छन् ।
अम्बेडकरले आफूलाई बौद्ध भनेका छन् । बौद्धहरूका लागि राजनीति दोस्रो साध्य हुन सक्छ तर पहिलोसाध्य केवल दुःख मुक्ति र निर्वाण हो । अचम्मको तत्थ्य त के हो भने अम्बेडकरले मार्क्सको समीक्षा बुद्धसँग गरेका छन् र ‘दुःख मुक्ति र सामाजिक उत्थानका लागि बुद्ध र मार्क्सलाई जोड्ने असफल प्रयत्न गरेका छन् तर उनी स्वयं मार्क्सवादी अर्थ र राजनैतिक चिन्तनसंग कुनै सरोकार नभएको व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । ‘दलित उन्मुक्तिका लागि सुधारिएको बौद्धवाद’ अम्बेडकरको राजनीति हो भने बुद्धले अशोकजस्ता युद्धउन्मादीलाई पनि अहिंसाको बाटोमा हिड्न तयार पारेका छन् । बुद्धमा घृणा छैन तर अम्बेडकर र मार्क्समा आफ्नो सिद्धान्त अस्वीकार गर्नेप्रति घृणा भरिएको छ ।
अब नेपालको कुरा गरौँ । लेखक तथा पूर्वमन्त्री तथा साम्यवादी नेता मोडनाथ प्रश्रितसहित केही वामपन्थीनेताहरूले आफूलाई बुद्धमार्ग उचित लागेको घोषणा गर्न थालेका छन् । केही वामपन्थीहरूले त झन् हिन्दूधर्मको कठोर आलोचना गर्दै बौद्धवादको बचाऊ पनि गर्ने गरेका छन् । के धर्मलाई अफिम भन्ने मार्क्स र अहिंसा नै प्रमुख धार्मिकता हो भन्ने बुद्धका विचमा कुनै मिलन विन्दु हुन सक्छ ? यो प्रश्नले मलाई केही लेख्न प्रेरित गरेको छ । पहिलो कुरा, बुद्ध र कार्लमार्क्समा तुलना गर्नुनै असंगत हुन्छ । किनभने बुद्धको समय र कार्लमार्क्सको समयमा धेरै फरक छ । परिवेश, चिन्तन धारा तथा मानवीय आवश्यकताहरू र प्राथमिकतामा तुलना गर्नु वेइमानी ठहरिन्छ ।
कार्लमार्क्सको साध्य भौतिक जगत हो भने बुद्धको साध्य निर्वाण हो र भौतिकजगत दुःखको प्रमुख उत्पादक थलो हो । बुद्धले विश्वको चौथो सबैभन्दा ठूलो धर्म जन्माएका हुन् भने कार्लमार्क्सले विश्वबाट धर्म तथा धार्मिकताको पूर्ण विनाश नै प्रगतिको पहिलो चरण हो भन्ने राजनैतिक आन्दोलनका सैद्धान्तिक जन्मदाता हुन् । यदि कसैले आफुलाई मार्क्सवादी भन्छ तर बुद्धमा श्रद्धा गर्छ भने संसारको सबैभन्दा ठूलो असत्य हुन्छ । त्यसैगरी यदि कसैले आफुलाई बौद्ध भन्दा तर उसले आफूलाई वामपन्थी पनि भन्छ भने यो पनि संसारको सातौं आश्चर्य हो । तर नेपाल र भारतमा यी दुवै प्रबृत्ति सजिलै भेटिन्छन् । बौद्धप्रति सहानुभूति राख्ने मार्क्सवादीहरूले बौद्धहरूको राजनैतिक उपयोग गरिरहेका छन् भने बौद्ध भएर पनि आफूलाई मार्क्सवादी भन्नेहरू राजनैतिक ‘तरमारा’ बाहेक केही होइनन् ।
एउटा कठोर मार्क्सवादीका लागि धर्म र धार्मिकता अफिम हो भने एउटा बौद्धवादीका लागि मार्क्सवाद भने हिंसा, प्रतिहिंसा तथा दुःखमय संसारमा आशक्त बनाउने बन्धन बाहेक केही हुनैसक्दैन । कुनै पनि बौद्ध साधक मजदुर होइन, ऊ साधकको रूपमा आफ्नो मालिक आफै हो । कुनै पनि बौद्ध सैद्धान्तिक रूपमा जाति, वर्ण, भूगोल, भाषा तथा नाक हुनैसक्दैन । एउटा बौद्ध साधकका लागि विद्रोह गर्ने बलियो साध्य संसारिक तृष्णा र अज्ञान हो र संसारिक हुनु बाध्यता । तर एउटा मार्क्सवादीका लागि संसार, संसारिक सुख र समानता सबैभन्दा महत्वपूर्ण अभिप्राप्ति हुन् । सैद्धान्तिक रूपमा कुनै पनि मार्क्सवादी बौद्ध बन्न सक्दैन भने कुनै पनि बौद्ध हिंसावादी मार्क्सवादको अनुयायी बन्ने कल्पना पनि गर्न मिल्दैन ।
कार्लमार्क्सका लागि समानताको अर्थ धनको समान उपयोग हो भने बुद्धका लागि समानताको अर्थ दुःखको अनुभूति हो । बुद्धका अनुसार घृणा महापाप हो तर मार्क्सवादका लागि घृणा नै पुँजीवादी विरुद्ध सङ्घर्ष गर्न उप्रेरित गर्ने ऊर्जा हो ।
जहाँसम्म अम्वेडकरको नवबौद्धवाद हो, यसले बुद्धलाई घृणावादतिर डोर्याएको छ । नवबौद्धहरूको चरित्र र नेपाली प्रोस्तेस्टेन्ट, सुन्नीहरूको चरित्र ठ्याक्कै मिल्छ । अम्बेडकरले बुद्धको झन्डामा घृणावाद बोकेका छन् । कार्लमार्क्स बरू प्रष्ट छन् – उनी धर्म र धार्मिकता अस्वीकार गर्छन् त्यसैले बुद्ध र घृणावाद संगै हिड्न नसकेझैं मार्क्स र बुद्ध संगै हिड्ने कल्पना गर्नु ‘स्वर्गमा ७२ अप्सरा छन् । जिहादीले मात्र ती अप्सराहरू भोग्न पाउँछन्’ भन्नु एकैसरह हो । दुईटा किनाराहरू एकआपसमा मिल्नै सक्दैनन् । हो, अम्बेडकरले बुद्धका नाममा बुद्धलाई घृणावादका मतियार बनाएझैं मार्क्सवादीले पनि मार्क्सको नेपाली संस्करण तयार पारेर बौद्धवादी बन्ने बाटो त खुला छँदै छ ।
भवतु सब्ब मङ्गलम्
क्रमशः