किन बालेनले उठाउँदै छन् ओलीमाथि पटक-पटक प्रश्न ?
नारायण गाउँले ।
ओलीजी, तपाईं भ्रष्ट हुनुहुन्छ भन्ने यो मन मान्न तैयार छैन, तर भ्रष्टाचारलाई संस्थागत गर्न, ऊर्जा प्रदान गर्न र सुरक्षित अनुभव गर्न तपाईंको जान–अनजान ठूलो योगदान छ ।
१–घूस माग्दै गरेको अडियो नै बाहिर आउँदासमेत गोकुल बाँस्कोटामाथि कुनै छानबिन र कारवाही भएन । बाँस्कोटाले आफ्नै आबाज भनेर स्वीकार गर्दासमेत तपाईंले यो झुटो अडियो भनेर बचाउ गर्नुभयो । तपाईंलाई ‘बा’ मानेकै कारण उनी आज संसदमा भ्रष्टाचार छानबिन गर्ने समितिमा छन् र पार्टी सदस्यलाई सुशासनबारे प्रशिक्षण दिन्छन् !
२–माफिया र नेता मिलेर देशभर सरकारी जग्गा कब्जा गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता प्रत्यक्ष देखिने गरी थियो । शायद जग्गा नै उपहार पाउने उनी एक्लो नेता थिए । अरूले अरू नै उपहार लिए होलान् । फेरि उनको यो पहिलो जग्गा काण्ड थिएन । नक्कली सुकुम्बासी बनेर त्यसअघि नै उनले बुटवलमा सरकारी जग्गा कब्जा गरेका थिए । त्यसर्थ उनी पटके थिए । तर तपाईंले बलियो काख दिएपछि उनी आज देशकै ढुकुटीको चाबी लिएर अर्थमन्त्री बनेका छन् । जबकि पार्टीभित्र आरोप नलागेका र पढेका थुप्रै अर्थशास्त्री पनि छन् ।
३–यतिदेखि ओम्नीसम्मका काण्डमा तपाईंले आरोपीभन्दा एक कदम अगाडि बढेर कुनै घोटाला नभएको दाबी गर्नुभयो । एकपल्ट त्यति गम्भीर विषयमा छानबिन हुनेछ भनेर सामान्य औपचारिकतासम्म देखाउनुभएन ।
४–संसदीय उपसमितिले वाइडबड़ी काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कांग्रेस र एमालेका धेरैको नाम नै तोकेर छानबिन र कारवाही गर्न भनेको थियो । तपाईंले सोझै संसदीय समितिलाई मान्दिन भन्दै छुट्टै छानबिन समिति गठन गर्नुभयो । केहीले तलब खाए तर समितिको रिपोर्ट आफैले राख्नुभयो । न आफ्नो निजी रिपोर्ट सार्वजनिक गर्नुभयो न संसदीय समितिले दिएको निर्देशन अनुसार छानबिन अगाडि बढाउनुभयो । संसदीय मर्यादालाई यसरी चुनौती दिएको पहिलोपल्ट थियो ।
५–गिरिबन्धु काण्ड बाहिर आयो । यसको नियत र प्रक्रियाप्रति त सर्वोच्चले नै प्रश्न उठायो । यसमा तपाईंको नियत खराब थिएन होला, तर पनि पुनर्विचार या गल्ती भए सच्याउने विनम्रताको सट्टा तपाईंले अहम् मात्रै प्रस्तुत गर्नुभयो !
६–नक्कली शरणार्थी प्रकरणमा पनि तपाईंले कायरतापूर्ण तरीकाले पक्राउ गर्न खोजिएको भन्दै सुरुमैं एमाले नेताको प्रतिरक्षा गर्नुभयो । यस्ता उदाहरण धेरै छन् ।
विरोध गर्नेहरू आफै थाक्छन् र त्यसपछि सबै सामान्य हुन्छ भन्ने रणनीति तपाईंको देखिन्छ । होला पनि । तर सोच्नुस् त, यस्ता काण्ड बाहिर आउनेबित्तिकै सबैभन्दा पहिले तपाईं बचाउमा उत्रिनुको साटो तत्काल छानबिन र कारवाहीतिर लागेको भए तपाईं र पार्टीको लोकप्रियता, विश्वास र जनमत कति बलियो हुँदो हो ! अर्को पल्ट घूस माग्दै गर्दा अर्को नेताले तीनपल्ट सोच्दो हो ! तत्काल एक दुई नेता गुमाउँदा हुने घाटा दीर्घकालमा पार्टी र देश दुबैका लागि वरदान हुने थियो । समकालीन नेतामध्ये सबैभन्दा बढ़ी फलोअर्स तपाईंकै थिए ।
आज एउटा मेयरले प्रश्न उठाउँदा छाती खोलेर जबाफ दिन सकिन्थ्यो, पोस्ट हटाउन साइबर शक्ति प्रयोग गर्न पर्दैनथ्यो ।
जसले जति धक्का दिए पनि एमाले सजिलै ढल्दैन, त्यो सत्य हो । यसको लामो इतिहास छ, हजारौं सक्रिय कार्यकर्ता छन् र शुभचिन्तक छन् । एमालेले चाहेन भने देश बन्न सक्दैन, यो पनि सत्य हो । तर, अब नामको नभई कामकै परिवर्तन देश र जनताले खोजेका छन् र यो ’खोज’ पनि जसले जति बुट दबाए पनि दब्दैन, यो पनि त सत्य हो ।