‘यो मेरो जीवनकै ठूलो गल्ती थियो’



सन् १९३९ अगस्ट २ का दिन अल्बर्ट आइन्सटाइनले अमेरिकी राष्ट्रपति फ्र्याङ्क्लिन डी रुजवेल्टलाई एउटा पत्र लेखे। उक्त पत्रले इतिहासकै महत्त्वपूर्ण र विध्वंसकारी आविष्कार भनेर चिनिएको ‘म्यान्हटन परियोजना’को बाटो खोल्दै थियो। यदि २ अगस्ट १९३९ को उक्त पत्र लेखिएकै हुँदैनथ्यो भने परमाणु हतियारको घातक प्रयोगलाई नाटकीय रूपमा दर्साइएको सन् २०२३ को बहुचर्चित सिनेमा ‘ओपननहाइमर’ विज्ञानमा आधारित एक काल्पनिक चलचित्रबाहेक केही हुँदैनथ्यो।

‘परमाणु भौतिकीमा हालै भएका कामले युरेनियमलाई ऊर्जाको एउटा नयाँ र महत्त्वपूर्ण स्रोतमा बदल्न सम्भव तुल्याइदिएको छ,’ प्रसिद्ध भौतकशास्त्री आइन्स्टाइनले टाइप गरेर हस्ताक्षर गरी रुजवेल्टलाई पठाएको पत्रमा भनिएको छ। उनले अगाडि उक्त ऊर्जालाई ‘असाध्यै शक्तिशाली बम बनाउन प्रयोग गर्न सकिने” उल्लेख गरेका छन्।

अधीनस्थ चेकोस्लोभाकियामा युरेनिअमको बिक्री रोक्ने जर्मनीको निर्णयमाथि सन्देह व्यक्त गरिएको उक्त पत्रले दुई अर्ब डलरको गोप्य ‘म्यान्हटन परियोजना”लाई प्रेरित गर्‍यो। उक्त अनुसन्धान परियोजनाले परमाणु हतियारको होडबाजीमा जर्मनीलाई हराउने उद्देश्य राख्दथ्यो।

भौतिकशास्त्री रोबर्ट ओपनहाइमरको नेतृत्वमा सुरु भएको तीनवर्षे परियोजानाले अमेरिकालाई परमाणु युगतर्फ धकेल्दै थियो, जसले महत्त्वपूर्ण र विध्वंसात्मक हतियार ‘परमाणु बम’को आविष्का र गर्दै थियो।

सन् २०२४ सेप्टेम्बर १० का दिन आइन्स्टाइनले सावधानीका साथ लेखेको उक्त परिणाममूलक पत्र ‘क्रिस्टिज न्यूयोर्क’मा लिलामी गरिँदै छ। उक्त पत्र चालीस लाख डलरभन्दा बढीमा बिक्री हुने ठानिएको छ।

पत्रका दुईवटा संस्करण छन्। तीमध्येको छोटो पत्रलाई लिलामी गर्न गिएको हो। पत्रको पूर्ण संस्करण भने न्यूयोर्कस्थित फ्र्याङ्क्लिन डी रुजवेल्ट पुस्तकालयको स्थायी हिस्साको रूपमा संरक्षित छ।

‘कैयौँ अर्थमा यो पत्रले विज्ञान, प्रविधि र मानवताको इतिहासमा एउटा गम्भीर मोडलाई दर्साउँछ,’ क्रिस्टिजका अमेरिकाना, पुस्तक तथा पाण्डुलिपिसम्बन्धी वरिष्ठ विशेषज्ञ पीटर क्लार्नेटले भने।

‘यसरी अमेरिकी सरकार प्रमुख वैज्ञानिक अनुसन्धानमा प्रत्यक्षतः आर्थिक हिसाबले सामेल भएको त्यो पहिलो पटक थियो,’ उनले थपे, ‘उक्त पत्रले संयुक्त राज्य अमेरिकालाई विकसित हुँदै गरेका प्राविधिक परिवर्तहरूको पूर्ण लाभ लिने अवसर दियो।’

क्लार्नेटको कुरामा स्वान्सी विश्वविद्यालयको राजनीति, दर्शन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यक्रम निर्देशक तथा अमेरिकन एन्ड न्यूक्लिअर हिस्ट्रीका अध्यापक तथा अनुसन्धानकर्ता डाक्टर ब्रायन विल्कक पनि सहमत छन्।

‘बमको उत्पत्तिका अधिकांश घटनाक्रम सोही पत्रमा उल्लेखित चर्चाबाट सुरु भएको छ,’ उनले  भने।

‘उक्त पत्रको विषयवस्तुले नै राष्ट्रपति रुजवेल्टलाई प्रत्यक्ष कारबाहीतर्फ डोर्‍यायो,’ उनले जोड दिँदै भने, ‘एटोमिक हेरिटेज फाउन्डेशनले उक्त पत्रले … रुजवेल्टलाई परमाणु अनुसन्धानतर्फ प्रेरित गर्न ”हत्त्वपूर्ण भूमिका’ खेलेको भनी व्याख्या गरेको छ।’

म्यान्हटन परियोजनाको कथामा आधारित तथा कैयौँ पुरस्कार जितेको सिनेमा ‘ओपनहाइमर’को एउटा दृष्यमा ओपनहाइमर र अर्का भौतिकशास्त्री अर्नेस्ट लरेन्सबीच त्यस पत्रका सन्दर्भमा कुराकानी भएको देखाइएको छ। त्यसले लिलामी प्रक्रियामा मानिसहरूको चासोलाई बढाउने ठानिएको छ।

क्लार्नेट भन्छन्, ‘यो पत्र सन् १९४५ देखि नै लोकप्रिय संस्कृति (पप्युलर कल्चर)को हिस्सा रहँदै आएको छ। त्यसैले यसको पहिलेदेखि नै बलियो उपस्थिति रहे पनि म ओपेनहाइमर चलचित्रले यसलाई नयाँ पुस्तामाझ परिचित गराइदिएको ठान्दछु।’

‘ओपनहाइमर’ चलचित्रको प्रसङ्ग

आइन्स्टाइन लोकप्रिय संस्कृतिको ‘एउटा पौराणिक पात्र’जस्तो बनेको क्लार्नेट बताउँछन्। ओपनहाइमर सिनेमामा उनको चरित्रको छोटो भूमिका छ। हामीलाई उक्त भूमिका हेर्ने व्यग्र प्रतीक्षा थियो। सिनेमाको दृष्यमा हावाले टोपी उडाउँदा उनको प्रसिद्ध सेतो कपाल देखिएपछि मात्र हामी उनलाई चिन्छौँ।

आइन्सटाइनको समीकरण E=mc2 ले परमाणुमा प्रतिक्रिया गराउने ऊर्जाको व्याख्या गरेर त्यसको भयावह प्रयोगका निम्ति बाटो खोलिदियो, तर परमाणु बमको निर्माणमा उनको भूमिकालाई सिनेमामा सायद बढाइचढाइ गरेर देखाइएको छ।

सिनेमाको अन्तिम दृष्यमा देखाइने आइन्स्टाइन र ओपनहाइमरबीचको मार्मिक संवादलाई क्लार्नेट ‘वाहियात’ ठान्छन्। उक्त दृष्यमा ओपनहाइम भन्छन्, ‘जब म ती हिसाब लिएर तपाईँकहाँ आएको थिएँ, हामीले यसले श्रृङ्खलाबद्ध प्रतिक्रियाहरूमार्फत् संसारलाई नै ध्वस्त पारिदिन सक्छ भन्ने ठानेका थियौँ।’

आफ्नो वामपन्थी झुकाव र जर्मन पृष्ठभूमिका कारण आइन्स्टाइनले शङ्काको सामना गर्नुपरेको र उनीसँग परियोजनाका निम्ति सुरक्षा सुनिश्चितताको अभाव रहेको क्लार्नेट बताउँछन्। एक जना प्रतिबद्ध शान्तिवादीका रूपमा उनले आफूलाई म्यान्हटन परियोजनाबाट टाढै राखे र परमाणु ऊर्जाको विकासमा आफ्नो भूमिका ‘निकै अप्रत्यक्ष’ रहेकोमा जोड दिइराखे।

‘नमुना बम’को विस्फोटन

वास्तवमै उकास्ने व्यक्ति कोही थिए भने ती आइन्स्टाइनकै पूर्वविद्यार्थी लिओ सिलार्ड थिए। सिलार्डद्वारा सिसाकलमले ‘मूल प्रति नपठाइएको!’ भनी लेखिएको आइन्स्टाइनको उक्त पत्र सन् १९६४ मा मृत्यु नहुँदासम्म सिलार्डसँगै रह्यो। जर्मनीमा जन्मिएका आइन्स्टाइन र हङ्गेरीमा जन्मिएका सिलार्ड दुवै यहुदी थिए र नाजीवादको उदयसँगै अमेरिका पलायन भएका थिए। जर्मनीद्वारा पैदा हुन सक्ने खतरा दुवैले अरूले भन्दा राम्ररी बुझेका थिए।

राष्ट्रपतिलाई पत्र लेख्ने कुरा सिलार्डको मनमा फुरेको थियो र उनी आइन्स्टाइनले पत्र लेखेर हस्ताक्षर गरून् भन्ने चाहन्थे। क्लार्नेटका अनुसार सन् १०२१ मा नोबेल पुरस्कार जितेपछि ‘आधुनिक विज्ञानका प्रतीक’ बनेका आइन्स्टाइनको कुरा बिक्ने हैसियत बनिसकेको थियो।

‘उनको जस्तो प्रभाव अरूसँग थिएन। अन्य मानिसहरूले रुजवेल्टलाई अघिल्लो महिनादेखि भइरहेका घटनाक्रमबारे सतर्क गराउने कोसिस गरेका थिए। अचानक त्यही बेला तपाईँ ‘यसो गर्न सक्नुहुन्छ’ भन्दै आइन्स्टाइनको पत्र आइपुग्छ। त्यसले प्रभाव त पार्ने नै भयो।’

सन् १९४५ को जुलाई १६ मा सुरक्षाघेरा पार गरेका मानिसहरूले आफ्ना आँखा चस्माले ढाके र न्यू मेक्सिको मरुभूमिमा ‘ग्याजेट’ नामको नमुना बमलाई सफलतापूर्वक विस्फोटन गराए। त्यसले जित र डर एकैसाथ निम्त्यायो। त्यस दिन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रूम्यानले आफ्नो डायरीमा लेखे, ‘हामीले विश्‍वइतिहासमै पहिलो पटक अत्यन्तै खतरनाक बम पत्ता लगाएका छौँ।’

युद्धमा जर्मनीले आत्मसमर्पण गर्‍यो, जापानले गरेन। बरु जापानी बन्दरगाहहरू नागासाकी र हिरोशिमामा भयङ्कर डरलाग्दो र अभूतपूर्व शक्तिले हमला गरेको खण्डमा चाँडै युद्ध अन्त्य हुने ठानियो।

बमको परीक्षण गरिएको भोलिपल्ट सिलार्डले एउटा निवेदन दिँदै त्यस्तो कठोर कारबाही गर्नुअघि जापानसमक्ष आत्मसमर्पणको अनुरोध गर्न आग्रह गरेका थिए। तर उनको त्यो निवेदन सम्बन्धित अधिकारीहरूसमक्ष समयमा पुग्नै पाएन।

अगस्ट ६ मा हिरोशिमामा ‘लिटिल बोइ’ नामको बम खसालियो। अगस्ट ९ मा ‘फ्याट म्यान’ नामको अर्को बम नागासाकीमा विस्फोटन गराइयो। उक्त घटनामा दुई लाख मानिसहरू मारिएका वा घाइते भएको अनुमान गरिन्छ। विकिरणको दुस्प्रभावका कारण वर्षौँपछिसम्म पनि मानिसहरू मरिराखे। आजसम्मको मितिमा युद्धमा प्रत्यक्ष रूपमा परमाणु हतियारको प्रयोग गरिएको यो एक मात्र घटना हो।

आइन्स्टाइनको पत्रबिना म्यान्हटन परियोजना अस्तित्वमा आउँथ्यो वा आउँदैनथ्यो भन्न कठिन छ। विल्ककका अनुसार ब्रिटेनले पहिलेदेखि नै ‘अमेरिकालाई यससम्बन्धी गहन अनुसन्धानलाई सघाउन अत्यन्तै जोड गर्दै आइरहेको थियो र परमाणु हतियारको सम्भाव्यतासम्बन्धी ब्रिटेन नेतृत्वको एमएयूडी रिपोर्ट (१९४१) ले अमेरिकालाई त्यसको अनुसन्धानतर्फ अघि धकेल्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।’

आइन्स्टाइनको पत्रले उक्त प्रक्रियालाई तीव्र बनाइदियो। विल्ककको विचारमा पत्र नलेखिएको भए उक्त प्रक्रियामा ढिलाइ हुन सक्थ्यो। ‘सम्भवत: सन् १९४५ को गर्मी महिनासम्म प्रयोग गर्न सकिने गरी तयार हुँदैनथ्यो।’

पश्चात्ताप

आइन्सटाइनले सन् १९३९ को उक्त पत्रका कारण पैदा भएको हिंसा र अराजकताप्रति आफ्नो तर्फबाट खेद व्यक्त गरेका थिए। परमाणु हतियारको खतराबारे प्रचार गर्न र विश्व शान्तिको बाटो देखाउन उनले सन् १९४६ मा परमाणु वैज्ञानिकहरूको आपत्कालीन समितिको स्थापनामा साथ दिएका थिए।

सन् १९४७ को न्यूजवीक म्यागजीनको ‘आइन्स्टाइन : ती व्यक्ति जसले यो सबै सुरु गरे’ शीर्षकको एउटा लेखमा उनले भनेका छन्, ‘जर्मनहरू परमाणु हतियार बनाउन सफल हुने छैनन् भन्ने थाहा पाएको भए मैले बमका सम्बन्धमा केही गर्दैनथेँ।’ सबै प्राविधिक जानकारी भएर पनि जर्मनीसँग अझै परमाणु हतियार छैन।

आइन्स्टाइनले आफ्नो बाँकी जीवन परमाणु निरस्त्रीकरण अभियानमा समर्पित गर्न चाहे। नोबेल पुरस्कार विजेता रसायनशास्त्री लिनस पउलिङसँगको सन् १९५४ को कुराकानीमा उनले रुजवेल्टलाई लेखिएको पत्रलाई ‘आफ्नो जीवनको ठूलो गल्ती’ भने।

परमाणु बमले युद्धको परिदृष्यलाई आधारभूत रूपमै बदल्दियो र पूर्वीय–पश्चिमाहरूबीच हतियारको होडबाजी सुरु गरायो। त्यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत आकार दिँदै आएको छ। नौ वटा राष्ट्रसँग परमाणु हतियार हुदै गर्दा आज हामीले जुन खतरा महसुस गर्छौँ, त्यो उक्त पत्रको समयदेखि नै छ।

‘यो आजका निम्ति पनि उत्तिकै प्रासङ्गिक मुद्दा हो,’ क्लार्नेट भन्छन्, ‘यो एउटा यस्तो छाया हो जुन मानवताको शिरमाथि मडारिइहेको छ।’ ‘त्यस पत्रले हामीलाई हाम्रो आधुनिक विश्‍व कहाँबाट र कसरी यहाँसम्म आइपुग्यो भन्ने स्मरण गराउँछ।’

सन् १९५५ मा रुजवेल्टलाई सन् १९३९ मा पठाइएको मौलिक पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको नाम उनको मरणोपरान्त जारी ‘रसेल–आइन्स्टाइन घोषणापत्र’ शीर्षकको सामग्रीमा उजागर गरियो। परमाणु युद्धविरुद्ध दार्शनिक बर्टान्ड रसेलले तयार पारेको उक्त शक्तिशाली भाष्यले मृत्युको एक सातापूर्व आइन्स्टाइनको समर्थन प्राप्त गरेको थियो।

‘हामी मानिसका रूपमा मानिसहरूलाई आह्वान गर्छौँ,’ त्यसको एउटा अंशमा भनिएको छ, ‘आफ्नो मानवतालाई सम्झनुस्, बाँकी बिर्सनुहोस्। तपाईँले त्यसो गर्नुभयो भने नयाँ क्षितिजतर्फको बाटो खुल्छ र सक्नुभएन भने तपाईँले सम्पूर्ण विनाशको जोखिमको सामना गर्नुपर्ने हुन सक्छ।’

डेबोरा निकोल्स–ली
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास

उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

किएभ । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो। जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खला वृद्धि गर्ने लक्ष्य राख्दै

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा