आलोचना
डा. गोविन्दशरण उपाध्याय ।
आजको नेपाली समाजमा आलोचना गर्नु सबैभन्दा लोकप्रिय कार्यदिशा बनेको छ । आलोचनाले व्यक्ति, समाज, संस्कृति तथा राष्ट्रको आत्मविश्वासलाई कमजोर बनाउँछ । बुझ्नेहरू आलोचनामा होइन, परामर्शमा क्रियाशील हुन्छन् । कसैले देखे पनि, नदेखे पनि, सुने पनि नसुने पनि सकारात्मक परामर्श गर्न छोड्दैन् । कसैले आलोचनायोग्य कार्य गरे पनि सचेत विद्वानले आफ्नो सकारात्मक चेतनालाई अझैं बलियो रूपमा प्रस्तुत गर्ने अवसरको रूपमा उपयोग गर्छन् ।
सधैं अर्काको आलोचनामा रमाउनेहरू आत्मविश्वास र कुण्ठालाई प्रकट गरिरहेका हुन्छन् । यस्तो गल्ती मैले/हामीले पनि गरिरहेका हुन्छौं । उदाहरणका लागि विश्व प्राकृतिक रूपमा बहुलताले भरिपूर्ण छ । वैदिक, यहुदी, जैन, बौद्ध, इसाई, मुस्लिमआदि र नास्तिकहरू पनि बहुलतायुक्त समाजका अभिन्न अङ्ग हुन् । एउटाले अर्कोको अस्तित्व अस्वीकार गर्दैमा, यो बहुलता नष्ट हुँदैन । वैदिक हिन्दू संस्कृतिका विनम्र अनुयायीहरूले यो तत्थ्य सबैभन्दा राम्ररी बुझेका छन् । विश्वको बहुलतावादको सम्मान गर्छन् ।
विश्वको हरेक मान्छे आ–आफ्नो विश्वासका आधारमा अगाडी बढिरहेको छ । अरूको दृष्टिकोणमा अस्वीकार्य हुने व्यबहारहरू सायद उनीहरूकै दृष्टिकोणबाट महत्वपूर्ण हुन सक्छन् । यस्तो अवस्थामा, आलोचना गरेर प्रत्यालोचना र घृणावादलाई मलजल दिनु भन्दा आफ्ना अमूल्य विषयवस्तुहरूका विषयमा प्रखर हुनु सबैभन्दा बेस हुन्छ । आलोचना र आलोचकको आयु छोटो हुन्छ । आलोचना पोप गीत जस्तै हो, छिचिमिद्रोजस्तै उड्छ र विलाउँछ । परामर्श शास्त्रीय संगीतजस्तै हो जुन् सधैं सदावहार रहन्छ ।
स्वस्त्यस्तु