मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श
डा. गोविन्दशरण उपाध्याय ।
मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ । मानसिक तनावले व्यक्तिमा डेरा जमाएको छ । यस्तो अवस्थामा, जोसंग परामर्श सेवाको पहुँच छैन, उनीहरू यथास्थितिका लागि बाध्य छन् तर जोजससँग यसको पहुँच छ, उनीहरूले परामर्श–सेवालाई निरन्तरता दिनेतिर उदासीनता भेटिन्छ ।
मानसिक तनाव हो वा मानसिक रोग कसैको चाहना हुँदैन । कडा मानसिक रोग लागेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै मनोवैज्ञानिक परामर्श सेवा लिंदा रोग निको हुन्छ । मनोबैज्ञानिक परामर्श सेवा लिँदा मानसिक रोग लाग्नै पर्छ भन्ने हुँदैन र मनोवैज्ञानिक परामर्शदाता (Counselor) सँग भेट्ने व्यक्ति मानिसक रोगी हुनु आवश्यक छैन । आफ्नो मानसिक अवस्था र व्यबहारका विचमा सामंज्यस्य स्थापित गर्न होस् वा मानसिक तनाव, चिन्ता, त्रास, निराशा, अवसादजस्ता आफुले दैनिक जीवनमा खेप्नु परिरहेका समस्याको समाधान प्राप्त गर्न होस् मानसिक परामर्श सेवा प्राप्त गर्न सकिन्छ ।
मानसिक परामर्श सेवा प्राप्त गरिरहेका व्यक्तिहरुले विज्ञले सुझाएअनुसारका होमवर्क पूरा गर्ने र सेसनहरू पूरा गर्ने प्रयत्न गर्नुपर्छ । जसरी डक्टरले निश्चित मात्रा र दिन औषधि सेवन गर्न अनिवार्य गरेको हुन्छ त्यसरी नै परामर्श–सेवाका सेसनहरू पनि पूरा गरेको उचित हुन्छ । परामर्शको मामिलामा जवरजस्ती हुँदैन तर परामर्शका लागि तोकिएको सेसन बीचमै छोड्दा व्यवहार–व्यवस्थापनमा समस्या उत्पन्न भएर मानसिक समस्या बल्झिने वा ज्ञानअधुरो हुन सक्छ । त्यसैले कुनै पनि परामर्श सेवा प्राप्त गरिरहेका व्यक्तिले तोकिएको सेसन पूर्ण गर्ने प्रयत्न गर्नुपर्छ ।
मनोवैज्ञानिक परामर्शका सेवाग्राहीले आफ्नो मानसिक स्वास्थ्यको सुरक्षा तथा प्रवर्धनका लागि निम्न नियमहरू पालना गर्नुपर्छ ।
१. होमवर्क पूरा गरौँः परामर्शदाताले तपाईंको मानसिक स्वास्थ्य असल बनाउन केही क्रियाकलापहरू दिएका हुन्छन्, ती क्रियाकलापहरू गर्न अल्छी नगरौं । तोकिएको समयमा र तोकिएको अवधिभर ती क्रियाकलापहरूको अभ्यास गरौँ ।
२. विश्वास गरौँः विज्ञ परामर्शदाता र तपाईंको विचमा मानसिक स्वास्थ्य सुधार्न अनेकौं कुराहरू भएका हुन्छन् । ती कुराहरूमा धेरैजसो तपाईंकै अनुभवहरू समेटिएका हुन्छन् । विज्ञले तपाईंको अनुभवलाई आधार मानेर तपाईं कै सहमतिमा क्रियाकलाप तोक्छन् । तपाईंको मानसिक स्वास्थ्यमा सहयोग गर्ने परामर्शदाताको उचित कुरामा पूर्ण विश्वास गर्नुपर्छ ।
३. सेसन पूरा गरौँः मनोवैज्ञानिक परामर्श सेवा प्राप्त गरिरहेका सेवाग्राहीले तोकिएको सेसन पूरा नगरी विचमै छोड्ने गरेको भेटिन्छ । मानसिक स्वास्थ्यको सुरक्षाका लागि यो राम्रो हुँदैन । त्यसैले तपाईं र तपाईंको परामर्शकका विचमा तय भएका सेसनहरू पूरा गर्नुपर्छ ।
४. कुरा नलुकाऔंः मानसिक स्वस्थ्य परामर्शकले तपाईंले भनेका कुराहरू गोप्य राख्ने कसम खाएको हुन्छ भने यो उसको कानुनी बाध्यता पनि हो । त्यसैले बातचितका क्रममा आवश्यता पर्ने सम्पूर्ण जानकारीहरू खुलस्त भएर बताउनु पर्छ । कुरा लुकाउँदा विज्ञले तपाईंको मानसिक स्वास्थ्य अवस्था बुझ्न सक्दैन वा अपूर्ण बुझाई हुन्छ । यस्तो अवस्थामा तपाईंले प्राप्त गर्न चाहेको मानसिक परामर्शमा खलल पर्न सक्छ ।
५. धैर्य राख्नु पर्छः मानसिक स्वास्थ्य लाभ प्राप्त गर्न परिश्रम गर्नु पर्ने हुन्छ, निरन्तर अभ्यास गर्नु पर्ने हुन्छ । त्यसैले सेवाग्राहीले धैर्यपूर्वक पालन गर्नु नियमहरू, गर्नु पर्ने होमवर्कहरू र तोकेको समयमा परामर्शदातासंग भेट्नुपर्छ । अन्य रोगहरूको तुलनामा मानसिक स्वास्थ्य प्राप्त गर्न समय लाग्छ ।
६. डराउनु पर्दैनः डर पनि मानसिक स्वास्थ्यकै एउटा अंग हो । हरेक प्राणी डराउँछन् । मानसिक स्वस्थका सवालमा यो पनि तोकिएको उपचार/परामर्श कोर्स पूरा गर्दा निको हुन्छ । मानसिक स्वास्थ्यमा समस्या आउनु भनेको कुनै पाप होइन । शरीरभित्र हुने रसायनिक परिवर्तन, वाहिरको भौतिक तथा सामाजिक, सांस्कृतिक परिवेश तथा रोगइत्यादिले मनमा नराम्रो प्रभाव परेर देखिएका हुन्छन् । त्यसैले मानसिक स्वास्थमा केही समस्या देखियो, मनोवैज्ञानिक परामर्शदातालाई भेटियो भन्दैमा डराउनु पर्दैन ।तर परामर्शका क्रममा परामर्शकले गराउन/भराउन चाहेका कुरामा तपाईंको सक्रिय सहभागिता हुनैपर्छ । तपाईंको कल्याण होस् ।