समाजवादी मोर्चा बनाएर बार्गेनिङ !
ऋषि कट्टेल ।
अचेल राजनीतक वजारमा सरकार बदलियो । अब यो कति टिक्छ ? के ८४ सम्मै यो समीकरण जाला ? मन्त्रीहरु कस्ता कस्ता आए ? अब देश प्रगिमनतिर जानेभो भन्ने भाष्य तयार गर्न लागेका छन् एकथरी । अर्काथरी स्थायित्व र समृद्धिको बाटो खुल्यो भन्दै चिच्याइरहेका छन् । आदि अनेकन चर्चाहरु सामजिक संजालमा छन् । कोही अदालत दौडिएका छन् । कोही समाजवादी मोर्चा बनाएर बार्गेनिङ गर्दैछन् । कोही राजनीतिक नियुक्तिको लागि दौडधुप गरिरहे छन् । कोही पदखुस्केपछि रुन्चे मुख लाएर घुर्की लाएर बसेका छन् । अर्थात् आआफ्नै गच्छे अनुसारको खुसीयाली र रुवावासी छ सत्ता बजारमा । जनता भने रनभुल्लमा छन् ।
आखिर भएकै चैं के हो त ? अरु केही भएको छैन । केवल खेतालाहरुको अदलीबदली भएको मात्र हो । यो सामन्त दलाल तथा पूँजीवादको सत्ता हो । यसको मुख्य संचालक दलाल पूँजीवाद हो । नेपालमा यसको कमाण्ड इण्डो पश्चिमा शक्तिहरुले सम्हालेका छन् । यी सबै सरकारमा रहने वा बहिर्गमन हुने यिनकै खेताला हुन् । त्यसकारण नेपाली जनताले सरकारको परिवर्तन हैन खेतालाहरुको बदलावको रुपमा बुझ्नु पर्दछ । अहिले देशमा नेपाली जनताको सरकार छैन ।
खेतालाहरुलाई वर्ग आधारमा हेर्दा सत्तामा तीन प्रकारका खेताला छन् । १) स्थायी । कांग्रेस राप्रपा, रास्वपा आदि । यी वर्तमान सामन्त दलाल तथा नोकरशाही पूँजीवादी राज्यसत्ताका स्थायी अर्थात् मुख्य खेताला हुन् । २) नियमित । यसमा एमाले लगायतका दलहरु पर्दछन् । जो स्थायी हुन दौडधुप गरिरहेका छन् । र ३) ज्यालादारी । माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरु यो कोटीमा पर्दछन् । जो नियमित खेताला बन्ने दौडमा छन् ।
अहिले सत्ताले ज्यालादारीलाई मिल्काइदिएको छ । स्थायी र नियमित खेतालाको मिलन गराइदिएको छ । यसको पछाडिको पहिलो मुख्यकारण नेपालको सत्तामा प्रभुत्व जमाउन खोजिरहेका सोझो भाषामा भन्दा अमेरिका तथा भारतको बीच चलिरहेको होडवाजीको हो । यसलाई मोदीको हारको रुपमा लिइएको छ । अमेरिकाले जितेको छ । र दोस्रो कारण सत्तामा बढ्दै गएको संकट हो ।
अब यो कहिलेसम्म टिक्छ ? भन्ने प्रश्नको उत्तर प्रष्ट छ जबसम्म स्थायी खेतालाहरु एकठाँउमा आउँदैनन् र आएर पनि सत्ता चलाउने हैसियत राख्दैनन् तबसम्म टिक्छ । सिंगो सत्ताको चरित्रनै प्रतिगामी भएकोले प्रतिगमनको हल्लाको कुनै अर्थ छैन । यथास्थितवादनै वर्तमान खेतालाहरुको पनि मुल उद्देश्य हो ।