एकदुई काण्डमा मुछिएको रास्वपा सकियो भन्नु क्षणिक उत्तेजनामात्रै हो



नारायण गाउँले ।
एमाले–माओवादी मिलेर दुई पाइलटवाला नेकपा बन्यो, देश वाममय भयो । सानातिना पार्टी बत्तीमा पुतलीजस्तै नेकपासँगै होमिए । एक मुठी सांसदमात्रै बाँकी बचेको कांग्रेस अब सकियो भन्ने थियो, तर सकिएन । ओलीको उदण्डता र अहम्ले गर्दा झन्डै दुईतिहाई नजिकको नेकपा फुट्यो, एमाले नै पनि फुट्यो । केन्द्रदेखि प्रदेशसम्म सरकार ढले । लौ अब एमाले सकियो भन्ने थियो, तर सकिएन । कांग्रेससँग चुनाव लडेको माओवादी पल्टी खेल्दै केपी ओलीको काँध चढेर प्रधानमन्त्री भयो । एकदम नयाँ सोच र ऊर्जासहित आएको भनिएको रास्वपा र राप्रपा पनि ह्वातहुत्तै प्रचण्डसँग गए । संसदजस्तो ठाउँबाट ओलीले अबको पाँच वर्ष ढोक्सामा केही नपर्ने ग्यारेन्टी गर्दै कांग्रेसलाई ढोक्सा नथाप्ने धम्की दिए, साँच्चिकै कांग्रेस सकियो जस्तो लाग्यो, तर केही महिनामैं फेरि ढोक्सा भरियो ।

प्रचण्ड फेरि कांग्रेसतिर पल्टी खेलेपछि यो संसदमा देउवा र माधव नेपाल बरु प्रधानमन्त्री बन्ने भए, तर ओली बन्दैनन् भन्ने थियो, त्यो पनि फेल भयो । प्रधानमन्त्री त फेरि पनि प्रचण्ड नै थिए तर ‘देशी विदेशी षड्यन्त्र’ चिर्दै फेरि ऐतिहासिक नयाँ गठबन्धन बनेको घोषणा भयो । दुर्घटना हुनै लागेको देश सही ट्रयाकमा फर्किएको भाषण भयो । यो नयाँबन्धन चुनावसम्मैं जाने र पार्टी नै एक हुने भन्ने दाबी र गुणगान सुरु भयो । अब कांग्रेसको पालो सकियो भन्ने थियो, तर फेरि खेल फेरियो ।

अहिले धेरैलाई माओवादी र रास्वपा सकियो जस्तो लागेको छ भने केही महिनामा ’ग्राउण्ड–रियालिटी’ ठ्याक्कै उल्टो हुन पनि सक्छ । माओवादी सकियो भन्ने त तपाईंले आठदश वर्षदेखि सुन्दै आएको हुनुपर्छ तर आठदश वर्ष यता ऊ ड्राइभिङ सिटमै छ । एमालेलाई सभामुख, कांग्रेसलाई राष्ट्रपति र रास्वपालाई उपप्रधानमन्त्री दिने माओवादी नै हो । दुई सय बढ़ी काण्ड बोकेका दुई दलले हात मिलाउने बित्तिकै एकदुई काण्डमा मुछिएको रास्वपा सकियो भन्नु पनि क्षणिक उत्तेजनामात्रै हो ।

निष्ठा, आदर्श, सिद्धान्त, इमान र देशलाई सोचेर गरिएका पल्टी, गठबन्धन या तटबन्धन भए पो लौ अब यो सकियो, ऊ सकियो भन्नु । सबैको उद्देश्य उही, गन्तव्य उही, घुम्ती उही । कहाँनिर कससित को ठोकिन्छ के थाहा ! ढुक्क हुनुस्, कोही साँच्चिकै सकिन लाग्यो भने यिनैले मिलिजुली उठाउँछन्, माओवादीलाई कसरी उठाए भन्ने त याद नै होला ।देशको आम्दानीले त तलबभत्ता पनि धान्दैन भन्ने थाहै छ । अब ऋण लिने र हरेक छ महिनामा काठमाडौंदेखि महेन्द्रनगरसम्म मन्त्रीका गाड़ी र नेमप्लेट फेरेपछि देशको मुहार कसो नफेरिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालुवाटारमा प्रचण्डको गीत सुनेपछि यसरी चल्यो संसदमा नेताहरुबीच गीतबाटै सवाल-जवाफ

  काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच यही असार

सरकारले डेढ वर्षको अवधिमा नयाँ पुस्तामा आशा र उत्साह जागृत गर्ने महत्वपूर्ण कार्यको थालनी गरेको छ

रेखा शर्मा ।  सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको

रास्वपालाई एमालेको प्रश्नः सरकार बहुमतमा हुँदा साथीहरुको गोजीमा रहेको राजीनामा कहाँ पुग्यो होला ?

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ

बाढीपहिरोमा परी ७० जनाको मृत्यु, पाँच बेपत्ता, ८६ जना घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान