के मोदीले जित्दैछन् ?
डा. गोविन्दशरण उपाध्याय ।
१. धर्ममा राजनीतिका सूत्राधार
यहुदी, इसाई र मुसाई पन्थहरू आफ्नो स्थापनाकालदेखि नै राजनैतिक महत्वाकांक्षा समुदाय थिए । एउटा जात, एउटा राष्ट्र, एउटा भाषा, एउटा ईश्वर, एउटा भूगोल, एउटा ईश्वरको सन्देशबाहक र त्यसमा आधारित राज्य व्यवस्थामा उनीहरूले कहिल्यै पनि सम्झौता गरेनन् । एकै पूर्खाका सन्तान भएपनि यही राजनैतिक महत्वाकांक्षाले गर्ने धर्मयुद्धहरू लडिरहे र आज पनि प्राविधिक रूपले युद्धरत नै छन् । हिन्दू–समुदायमा यस्तो राजनैतिक महत्वाकांक्षा कहिल्यै पनि थिएन र आजको मितिमा पनि अब्रहमिक–पन्थहरूको झैं छैन ।
२. राजनीतिमा हिन्दूत्वको प्रवेश
तर वीर–सावरकरहरूले स्थापित गरेको राष्ट्रिय स्वयं सेवक संघको उदयले परम्परागत हिन्दु मान्यतामा परिवर्तन ल्याएको छ । हिन्दू–समुदायले पनि धार्मिक विश्वास तथा भावनालाई राजनैतिक शक्तिका रूपमा रुपान्तरित गर्नुपर्छ भन्ने तत्थ्यलाई स्वीकार गरेको छ । हो, यो सबैतिर नहोला तर भारतमा भारतीय जनता पार्टीले सत्ता प्राप्त गरेपछि विश्वभरिका हिन्दूहरूमा ‘आफ्नो अस्तित्व रक्षा गर्न र निरन्तरता दिन राजनैतिक शक्ति खाँचो पर्ने रहेछ’ भन्ने तत्थ्यको ज्ञान भएको जस्तो देखिन्छ ।
चाणक्यले चन्द्रगुप्तका माध्यमबाट शक्ति आर्जन गरे तर चाणक्यको त्यो अभियान ‘हिन्दू राजनीति’को अङ्ग थिएन । इतिहासमा कुनै पनि हिन्दूराजाहरूले ‘हिन्दुत्व’लाई राजनैतिक शक्तिको केन्द्र बनाएको उदाहरण पाइन्न । मुस्लिम तथा इसाईहरूबाट भारतवर्ष आक्रान्त हुँदा पनि हिन्दुहरूले हिन्दुत्वलाई राजनैतिक मुद्दा बनाएर शक्ति आर्जन गर्ने प्रयत्न गरेको बुझिन्न । तत्कालीन भारतका महाराणा प्रताप होस् वा शिवराज दूवैको उद्देश्य आफ्नो राज्य जोगाउनु र विस्तार थियो, हिन्दूका लागि शक्ति आर्जन गर्ने थिएन । विद्वान्हरूले यस विषयमा समीक्षा गर्ने छन् ।
अर्कोतिर वैदिक (हिन्दू)हरूबाट फुटेर अलग धर्मका रूपमा विकसित भएको बौद्ध धर्मलाई राजनैतिक शक्तिका रूपमा प्रयोग गरेर राजा अशोकले भारतवर्षमा राज्य शक्ति स्थापित गर्न सफल भए । सैद्धान्तिक दृष्टिकोणले समिक्षा गर्ने हो भने यहुदी, इसाई, मुस्लिमहरूले जसरी धार्मिकतालाई प्रयोग गरेर प्रभाव विस्तार गर्न सफल भएका थिए, त्यसैगरी अशोकले बौद्ध धर्मलाई राजनैतिक शक्तिको रूपमा प्रयोग गरे । फलतः अशोकको समयसम्म सङ्गतिहरूमा अडिएको बौद्ध धर्म, एकाएक भारतवर्षको प्रमुख शक्तिका रुपमा स्थापित भयो । हिन्दू, जैन र बौद्धहरूका विचमा बैचारिक उदारवादी चिन्तन र सहअस्तित्वको चिन्तन बलियो भएको हुँदा तीनैवटा समुदायहरूले एकअर्कासंग भौतिक युद्ध नगर्ने बरू वैचारिक युद्ध भने न छोड्ने अलिखित सम्झौता कार्यान्वयन गरे । जुन आजको मितिमा पनि कायम नै छ ।
३. मोदीमा हिन्दूत्वको उदय
वीर सावरकरले अब्रहमिक, तथा बौद्धहरूले आफ्नो धार्मिक विश्वासलाई राजनैतिक शक्ति आर्जन गर्न प्रयोग गरिरहेको तत्थ्य मनन गरे । उनले हिन्दू राष्ट्र, हिन्दूत्व, हिन्दू–जातिआदि शब्दहरूको उपयोग गरेर हिन्दूहरूमा राजनैतिक शक्तिप्रति आकर्षण उत्पन्न गराए । आफूलाई धर्मनिरपेक्ष तथा प्रगतिशील मान्ने समुदायले जे–जस्तो आलोचना गरे पनि अब्राहमवादीले आफ्नो राजनैतिक लक्ष छोडेका छैनन् र हिन्दूहरूमा ‘संघे शक्ति कलौ युगे’ अर्थात् कलियुगमा सङ्गठित हुँदा मात्र शक्ति प्राप्त हुन्छ भन्ने तत्थ्य बुझ्न थालेपछि वामपन्थी, समाजवादी, अब्राहमवादी सबै आतंकित हुनु स्वाभाविक हो । आराभदेखि एकआपसमा सत्ता सङ्घर्ष गरिरहेका अब्राहमवादी र समाजवादीहरूले उप्रान्त हिन्दुत्वसंग पनि राजनैतिक सङ्घर्ष गर्नु पर्ने सुनिश्चित भएको तत्थ्य मोदीको उदयले स्थापित गरेको छ ।
४. नेपालमा हिन्दूत्वका बाछिटा
हिन्दूत्वका बाछिटा नेपालमा पर्न थालेका छन् । भारतीय कूटनीतिका जानकार नेपाली जनताहरूले भारतीय भर्जनको हिन्दुत्वको समिक्षा गरिरहेका छन् । हिन्दूत्वका रूपमा नितान्त नया राजनैतिक विपक्षी उदाउने डरले परम्परागत नेपाली राजनैतिक शक्तिहरू त्रस्त छन् । मोदीको उदयके ‘अब हिन्दू समुदायले राजनीतिमा आफ्नो प्रत्यक्ष हस्तक्षेप गर्ने क्षमता राख्छ’ भन्ने तत्थ्यचाहिं स्थापित गरेको छ । आगामी दिनमा अब्राहमवादी, बामपन्थी र समाजवादीके उपदेश दिएझैं ‘धर्म र राजनीति अलग रहनुपर्छ’ भन्ने उपदेश मानेर हिन्दूहरू राजनैतिक रूपमा आफ्नो पहिचान र शक्ति स्थापित गर्ने सङ्घर्ष छोड्ने छन् भन्ने मान्यता विस्थापित हुँदैछ ।
५. नेपालको लाजमर्दो लोकतान्त्रिक आधार
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतमा ५४५ सीट मध्ये केवल दुई वटा राष्ट्रपतिले मनोनयन गर्छन् भने ५४३ वटा जनताबाट प्रत्यक्ष चुनिएका जनप्रतिनिधि हुन्छन् । नेपालमा भने प्रतिनिधि सभाका २७५ सीट मध्ये १६५ प्रत्यक्ष चुनिएर आएका हुन्छन् भने ११० जना नेताहरूको आफ्नो तजवीजमा चुनिएर प्रतिनिधि सभाका सदस्य बन्छन् ।
भारतको जनसंख्या १४१ करोड छ भने नेपालको ३ करोड़का हाराहारीमा । भारतको एउटा सांसदले लभभग ३ लाख १७ जनाको प्रतिनिधित्व गरिरहेको हुन्छ भने नेपालमा प्रत्येक प्रतिनिधि सभाका सदस्यले १ लाख ९ हजार जनताको प्रतिनिधित्व गर्छन् । सबैभन्दा अचम्मको कुरा त के भने नेताहरूको तजविजीमा प्रतिनिधिसभाका सदस्य बनेका र जनताले प्रत्यक्ष भोट दिएर चुनेका प्रतिनिधिहरूको अधिकार समान छ । भारतमा पनि जातीय, भाषिक, भूगोलका आधारमा जनतालाई अल्पसंख्यक मानेर ११० से नेतातन्त्रको तजविजी गर्ने हो भने ९ सय जनप्रतिनिधि अरू थपिने छन् र लोकतन्त्रको नाममा लोकतन्त्रको हत्या भइ सधैं नेपालका झैँ अस्थिर सरकार बन्ने छन् । यसको अर्थ, नेपालमा पनि भारतझैं हुनुपर्छ भन्ने होइन तर भारतसरह वा भारत भन्दा केही राम्रो गरेर देखाएको खै ?
भारतीय लोकतन्त्रमा जोसुकै प्रधानमन्त्री आए/गए पनि भारतको हितका सवालमा त्यहाँका सबै राजनैतिक दलहरू एकठाउँमा उभिन्छन् । मोदीको विजयले नेपाललाई फाइदा होला भनेर नसोचे हुन्छ । भारतीय विदेश नीति स्थिर छ र भारतको हितमा केन्द्रित छ । मोदीले भारतको अहित गरेर नेपाललाई सुविधा देलान्, छुट देलान् भनेर सोच्नु वा आशा राख्नुको कुनै अर्थ छैन । चीन त झन् यो सवालमा भारत भन्दा १० गुणा बढी नै छ । अहिलेका युगमा भारत र चीन दूवै व्यापारी हुन् र फाइदाको विजनेशमात्र गर्छन् । मोदीको प्रभावले नेपाल हिन्दूराष्ट्र नै भए पनि नेपाल र नेपालीका हितका लागि हुने छैन । सरदार बल्लभ भाइको ‘अखण्ड भारत’को नीति आज पनि त्यहाँ उत्तिकै जीवन्त छ । भारतले आधिकारिक रूपमा नभएर पनि आदर्शका रूपमा नेपाललाई भारतको एउटा प्रान्त कै व्यबहार गर्छ ।
६. लोकतन्त्र कि नेतातन्त्रको वहस
यो सबै बुझ्नेले सजिलैसँग भन्न सक्छन् कि यही संवैधानिक व्यव्स्थाअन्तर्गत आगामी १०० वर्षसम्म पनि नेपालमा स्थिरसरकार बन्ने कुनै सम्भावना छैन । यहाँ कुनै पनि सरकारलाई जितहारको शुभकामना दिनुको कुनै अर्थ छैन किनभने समानुपातिक प्रणालीअन्तर्गत नेताहरूले रोजेका प्रतिनिधिहरूलाई ती पार्टीहरूले जुनसुकै बखत हटाउन सक्छन् र प्रतिस्थापित गर्न सक्छन् ।
नेपालका राजनैतिक दलहरूले आफ्नो छुद्रस्वार्थका लागि यहाँको ८१.३% जनसंख्यासंग सधैं दोस्रो दर्जाको व्यबहार गर्छन् । समानता, धर्मनिरपेक्षता तथा अधिकारको वाधकका रूपमा हिन्दू समुदायलाई गालीगलौज गर्ने र पीडकको रूपमा प्रस्तुत गर्ने समुदायलाई नेपालका राजनैतिक दलहरूको सहानुभूति प्राप्त छ । ‘अन्य’ समुदायमा पारेकाहरूले हिन्दू–समुदायप्रति जस्तो विष वमन गरे पनि धर्मनिरपेक्षता खल्वलिन्न तर हिन्दुहरूले आफ्नो कर्तव्य र अधिकारको कुरा उठाउँदासाथ नेपालको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता खतरामा पर्छ । देश–विदेशमा चर्चा हुन्छ ।
७. बहुमतलाई अपमान गर्ने नेतातन्त्र
सायद, मोदीले भारतीय बहुसंख्यकको भावनालाई सम्बोधन गरेका छन् । २५ करोडको सङ्ख्यामा रहेका अल्पसंख्यकहरू कसरी अल्पसंख्यक हुन सक्छन् भन्ने सन्देश दिन सफल भएका छन् । लोकतन्त्रमा रोइलो गर्न पाइन्छ तर बहुमतको कदर गर्नुपर्छ । नेपाली लोकतन्त्रमा ११० को नेतातन्त्रको शक्तिले लोकतन्त्र स्थापित हुने कुनै सम्भावना छैन । नेपालीले मोदीलाई विजयको शुभकामना दिए पनि नदिए पनि त्यहाँको लोकतन्त्रले काम गरेको छ । सरकारहरू स्थिर छन् । आफ्नो हितको रक्षा गर्न सफल छन् ।
देशमा उपलब्ध संसाधनको ख्याल नगरी अधिकारैअधिकार प्रत्यायोजन गर्ने नेपाली संविधानले कर्तव्यका सवालमा कानुनी भाषा बाहेक अरू केही बोलेको छैन । भन्नका लागि यो संबिधान सर्वगुण सम्पन्न छ तर यस्ता सबैगुणहरू विश्वभरी कहीं पनि नपाइने हुँदा अर्थविहिन र महत्वाकांक्षी मात्र छ । यसले जनतालाई अधिकार सम्पन्न न बनाएर नेताहरूलाई अधिकार सम्पन्न बनाएको कुरा विगत १९ वर्षको अभ्यासले प्रमाणित गरिसकेको छ । नेपाली जनताहरू कमजोर भएका छन्, नेपाली संस्कृति कमजोर भएको छ, नेपाली भाषाहरू अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् र युवाशक्तिहरू निराशाजनक जनक तवरले पलायनको भुमरीमा परेका छन् । नेता र तिनका झोलेहरूलाई भने यो संविधान फलिफाप भएको छ । किनभने भारतीय गणतन्त्रझैं यसले जनताप्रति उत्तरदायित्व ग्रहण गर्नबाट नेताहरूलाई पूर्ण उन्मुक्ति दिएको छ ।
उदाहरण भर्खरै प्रस्तुत भएको बजेटलाई लिन सकिन्छ । लगभग १२ खर्ब सरकारी तलबभत्तामा खर्च हुन्छ, ४ अर्ब विदेशी ऋणतिर्न खर्च गरिन्छ र २ खर्वको विकास बजेट विकासका लागि होइन विकासको नाममा नेता, ठेकेदार तथा अन्य मतियारहरूको सुखको साधन बन्छ । विश्वले तीव्रतर विकासको गति अवलम्बन गरिरहेको अवस्थामा नेपाली राजनैतिक शक्तिहरूले सत्ताप्राप्ति र सत्ता भोगको अभ्यास गरिरहेका छन् । अस्थिरता देश र जनताका लागि अभिशाप भए पनि नेता र तिनका झोलेहरूका लागि अमरत्वको वरदान सिद्ध भएको छ । चुनाव जितेका र हारेका राजनैतिक नेतृत्वहरूका विचमा कुनै पनि प्रकारको पार्थक्य छैन । चुनावहारेकाले १८ महिना प्रधानमन्त्री चलाउने पाउने संवैधानिक व्यवस्था नेपालमा बाहेक कहाँ होला ?
नेपालका लोकतान्त्रिकहरूले स्थायी सरकार बनाउन ११० को प्रावधान खारेज गर्नुको सट्टा ‘शिशु लोकतन्त्र’को रोइलो गरेर लोकतन्त्रको ‘मज्जा’ लुट्दै छन् र लुटिरहने छन् ।