के नेपाली हुनुमा गौरव छ ?
डा. गोविन्दशरण उपाध्याय ।
स्थान : पशुपति परिसर, समय: ११ः३०
के तपाईंलाई नेपाली हुनुमा गौरव छ ? यो प्रश्न एउटा २१–२२ वर्षे ठिटोलाई एउटा युवा पत्रकारद्वारा सोधिएको थियो । स्वाभाविक रूपमा प्रश्नको शैली र प्रश्नले मेरो पनि ध्यान तेतातिर तान्यो । म एकै छिन अडिएर युवकको प्रतिक्रिया सुने । प्रतिक्रिया जस्ताको तस्तैः
‘हो, नेपाली हुनुमा गौरव हुनु पर्ने हो तर छैन ! यो देशका हरेक सार्वजनिक संस्थाहरूमा पार्टीका झोलेहरूको कब्जा छ । केन्द्र, प्रदेश र स्थानीयतहहरू नेता अर्थात् झोलेहरूको आम्दानी सुनिश्चित गर्ने संबैधानिक निकाय बनेका छन् । नेताहरूले युवाहरू देशबाट बाहिरिए हुन्थ्यो भनेर सधैं भगवानसँग प्रार्थना गर्छन् । नेताहरू देशमा केवल ‘झोले युवाहरू’ बसुन् भन्ने चाहन्छन् । युवाहरूलाई विदेश पलायन गर्न बाध्य बनायो अनि, रेमिटेन्समा मोज गर्यो ।
‘युवाहरूलाई विदेश पलायन गर्न बाध्य पार्न शिक्षाक्षेत्रलाई ‘झोलेकरण’ गरिएको छ । उद्योगहरू खुल्न नपाउँदै “झोले“हरू परिचालित गरेर चन्दा आतंक मचाउंछन् । उद्योग बन्द गराउँछन् । युवाहरूलाई ‘राजनैतिक झोले बन्ने“ बाहेक कुनै पनि उद्योग–व्यवसायमा प्रवेश दिन्नन् । मालपोत देखि लिएर चालक प्रमाणपत्रसम्म घूस नभई हुँदैन । मन्त्रालयहरू दलालीका केन्द्र बनेका छन् । दलाली नदिने कुनै पनि विकासका आयोजनाहरू पुरा भएको सुन्नू भएको छ ? यो देशमा बेइमानी गर्ने र दलाली गर्नेको चल्छ ।
नेपाली नेताले घरघरमा घूस खाने, दलाली गर्ने, आफ्नो धर्म, संस्कृति तथा गौरव बेच्ने जनशक्तिहरू तयार पारेका छन् । जताततै राजनैतिक हस्तक्षेप छ । म जस्तो युवा जोसँग केही गर्छु भन्ने जोस जाँगर छ, सरकारले कानून बनाएर नै विदेश पठाउने बातावरण तयार गरेको छ । राजनैतिक बेइमानीले अत्यन्त रोगी बनेको नेपालको नागरिक बन्नु कसरी गौरव हुन सक्छ ? मलाई नेपालप्रति माया लाग्छ, सैद्धान्तिकरुपमा नेपाली हुनुमा गौरव गर्छु तर व्याबहारिक रूपमा नेपाली हुनु सबैभन्दा बढी हीनताबोधको कारण बन्ने गर्छ । आजको मितिमा नेपाली नागरिक हुनुमा गौरव गर्नु पर्ने कुनै कारण छैन ।
के मैले विश्वको सवै भन्दा गरीव देश नेपालको नागरिक भएकोमा गौरव गरौँ, के मैले नेपाल विश्वको भ्रष्ट्रतम देश भएकोमा गौरव गरौँ, के मैले विश्वकै सबैभन्दा बढी मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिहरू भएको देश नेपाल भएकोमा गौरव गरौँ, के मैले आफ्नो धर्म, संस्कृति तथा इतिहासलाई मास्ने मनोविज्ञान रोप्ने, धर्मपरिवर्तन गर्न सघाउने बेइमान नेता र आफ्नै भाषा, संस्कृति तथा परम्पराको दोहोलो काड्ने शिक्षा तर्जुमा गर्ने तथाकथित ‘झोले’ नागरिक समाज र बौद्धिकवर्ग भएको देश नेपालको नागरिक हौँ भनेर गौरव गर्ने कि युवाहरूलाई विदेश पठाएर रेमिटेन्समा बाँच्न बाध्य पार्ने संस्कृतिलाई प्रोत्साहित गर्ने, विदेशी भाषा र संस्कृतिमा रमाउने नेपाली भएकोमा गौरव गरौँ कि २१ वर्षे ठिटो हुँदाहुँदै पनि मजस्तालाई पशुपतिनाथमा भड्किन बाध्य पार्ने राजनैतिक नेत्रित्व भएको नेपालप्रति गौरव गरौँ ?
‘मैले बोलेको कुराबाट झोलेहरूको छाती चिरिने छ । बेइमान नेताहरूसम्म मेरो कुरा पुग्ने नै छैन । पूगे पनि ती निर्लज्जहरूले मजस्ता युवाको कुरालाई कुनै महत्व दिने छैनन् । सके झोले बनाउने प्रयत्न गर्ने छन् नसके विदेशको बाटो देखाएकै छन् । अनि, मैले ‘म नेपाली भएकोमा गौरव गर्छु’ भन्ने छु भन्ने तपाईंले कसरी अपेक्षा राख्नु हुन्छ ? मसँग नेपाली भएकोमा गौरव गर्नु पर्ने कुनै एउटा विषय पनि छैन भने म कसरी गौरवको कुरा गरौँ ?
‘नेपालको भूगोल, धर्म, संस्कृति तथा जीवन्त परम्पराहरू गौरवका विषय हुन् । तर धमिराले ढिकी खाएजस्तै राजनीतिले यी सबैलाई धूलो बनाउंँदैछ । हामीजस्ता युवालाई ‘निकम्मा’ बनाएर घर न घाटको बनाउंदै छ । सबैलाई थाहा छ, यहाँ घूस, कमिसन तथा झोलेहरूको मात्र शक्ति चल्छ । म यी सबैमा गौरव गर्न सक्दिन । यी सबै कुराले नेपाली भएकोमा गौरव गर्ने ठाउँ नै दिंदैनन् । झोले र झोलावादीहरूले गौरव गरूँन् । मसँग गौरव गर्नका लागि केही छैन । मेरो सबै कुरा देखाईदिनुस् ।
मसँग भन्न धेरै कुरा छ तर मैले केही पनि भन्न सक्दिन । तपाईं के भन्नु हुन्छ ?