कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !
रविन्द्र मिश्र ।
नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध) धर्मको केन्द्र हो। यो देवभूमी नै हो। त्यसैले म भएको भएः
१) अन्य माग र संझौताका अलावा कतारका राजालाई नेपालमा ‘दक्षिण एसियाकै’ सबैभन्दा उत्कृष्ट/विशाल/कलात्मक मस्जिद (इस्लामावादको फैजल मस्जिदभन्दा पनि भव्य) बनाइदिन आग्रह गर्ने थिएँ। त्यस्तो मस्जिद जुन नेपाल आउने पर्यटकले एक पटक नहेरे उसको यात्रा नै अपुरो होस् । आस्था र अथाहा धन भएको देश/राजाले त्यो नमान्ने कुरै छैन भन्नेमा विश्वस्त छु। इस्लामावादको मस्जिद साउदी अरेबियाका राजाको सहयोगमा बनेको थियो।
२) जङ्गबहादुर राणाले १५० वर्षअघि निर्माण गरेको कालमोचन मन्दिर पश्चात नेपालमा विशिष्ट ऐतिहासिक र विश्व महत्वको कुनै हिन्दू धार्मिक केन्द्र बनेको छ जस्तो लाग्दैन।
दिल्लीस्थित स्वामिनारायण अक्षरधाम जस्तो असोचनीय वास्तुकला, संस्कृति र विशालताले पूर्ण मन्दिर बनाउन पहल गर्ने थिएँ। त्यसका विभिन्न उपाय छन्।
३) कुनै सम्पन्न र धार्मिक युरोपेली राष्ट्रलाई नेपालमा दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट÷विशाल÷कलात्मक गिर्जाघर बनाउन आग्रह गर्नेथिएँ। त्यस्तो गिर्जाघर जुन नेपाल आउने पर्यटकले एक पटक नहेरे उसको यात्रा नै अपुरो होस्।
४) लुम्बिनी, बौद्ध, स्वयम्भूजस्ता संसारकै असाधारण बौद्ध केन्द्रहरूलाई विश्वविख्यात सम्पदा संरक्षकहरूको सहयोग लिएर तिनलाई, तिनको परिसरलाई र तिनको व्यवस्थापनलाई विश्वस्तरको बनाउने थिएँ।
त्यति गर्नसके नेपाल सनातन धर्मावलम्बीहरूको मात्र होइन, विश्वकै देवभूमी हुनेथियो। धार्मिक सद्भाव र सहिष्णुताको उदाहरण हुनेथियो। त्यसले पर्यटन र समग्र अर्थतन्त्रमा पुर्याउने योगदान उच्च नहुने कुरै भएन।