पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ
डा. युवराज संग्रौला ।
फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर उनको ‘डिक्सनेरी अफ फिलोसोफी’ घनिभुत छ । सबै भोल्यूम हेर्यो भने पढ्ने आँट नआउन सक्छ । तर थालेपछि रोक्न पनि गाह्रो छ। ‘दक्षिण एसियालीहरुमा असीमित सद्भाव छ तर यही सद्भावले उनीहरुलाई दुईसय वर्ष बृटिस उपनिवेशको दमन भोग्नु पर्यो।’ यो उनको भनाइलाई उनले राम्रोसँग पुष्टि गरेका छन् । उनले दक्षिण एसियाको सभ्यताको प्रशंसा गरेका छन्, जसले ‘जेम्स मिललाई ‘भारतको इतिहास’ लेख्न बाध्य बनायो , र ‘उनले भने ‘भारत आफैंलाई शासन गर्न योग्य देश होइन, भारतीयहरु असभ्य बर्बर मानिस हुन् । अतः उपनिवेश निरन्तर रहनुपर्छ।’ युरोपले पूर्व भनेको परम्परा र परिवर्तन विरोधी जगत हो भन्दै ‘ओरियन्टालिजम’को रङ्गभेदवादी चिन्तन निर्माण गर्यो । तर धेरै भारतीय तथा नेपाली विद्वानहरु आफुलाई ओरियन्टल भन्दै गदगद हुन्छ र ‘हामी ओरियन्टल जस्तो मानवीय युरोपेली होइनन भन्छन् ।’ यो त ‘हामी अनैतिक दुराचारी असल मान्छे भनेको जस्तो भएन र?’
१. म जर्जटाउनमा हुँदा एक जना साथी क्लिन्टन ब्यामबर्जर, कानुनका प्राध्यापक, स्टानफोर्ड ल स्कुलका पूर्व डिन थिए । उनी चोम्स्की र हार्भीका समर्थक पनि थिए, अर्थात् मार्स्कवादी थिए । उनले ब्राउन विरुद्ध बोर्ड अफ एजुकेसनको मुद्दामा अश्वेत निवेदककातर्फबाट बहस पनि गरेका थिए । म उनका घरमा हरेक शुक्रबार जस्तो जान्थें । म उनीहरुसँग राति बेरसम्म गफ गर्थें । नेपाली खाना बनाउँथे । उनकी श्रीमती क्याथरिनको पाखुरा दुख्थे। म मालिस गरिदिन्थें । उनी भुसुक्कै निदउँथिन् । मलाई छोरा भन्न थालिन् । उनी छोडपत्रको विरोध गर्थिन्, गर्भपतनको विरोध गर्थिन्, र पश्चिमी समाज अमानवीय भएको भन्दै दुःख व्यक्त गर्थिन् । एक छोरी र एक छोरा थिए, तर अलग्गै बस्थे । छोरी घोडा दौड खेलाडी थिइन् । उनलाई घोडाको रेखदेखमा सबै समय लाग्थ्यो । कहिले काहीँ आउँथिन् । छोरा श्रीमतीसँग अलग्गै बस्थे तर मैले देख्ने मौका पाईन ।
२. मेरो बिदाइ थियो सह–डिन ओले मलेनिकले आयोजना गरेको । ब्यामबरजरका उनी पनि साथी थिए । कारटरका संविधान विज्ञ फिलिप स्र्याग पनि उनका साथी थिए, र जर्जटाउनमा पढाउँथें । ब्यामबरजर पनि जर्जटाउन आए र बेलुका हामी दुबै बाल्टिमोर फर्क्यौं, कारमा ।
३. मेरिल्याण्ड सिमाना पसेर एकघन्टा जति कुदेपछि, हामीलाई एउटा कारले पछ्याउन थाल्यो। अघि पछि, बेलाबेला छेउमा आएर हाँसेजस्तो आदि । करिब १५ मिनेट उसले यसो गर्यो। ब्याम्बरजर रिसाउन थाले, ‘दिस कन्ट्री इज गोन । क्राइम, करप्सन, स्क्यान्डल एन गुन्स।’ उनले गाडीको स्पीड कम गरेर उसलाई जान दिने विचार गरे र पुलिस कतै छ कि भनेर हेर्न थाले। त्यो मानिसले पनि कारको गति कम गर्यो र छेउमै आएर मुस्कुरायो । मेरो ब्यामबरजरको धैर्यता सकियो। ‘यु बास्टर्ड, यु लभ टो बुली अ ओल्डमेन !’ त्यो मानिस त्यति सुनेपछि गयो। उनी फतताइरहे ।
४. हामी केही छिनमा घर पुग्यौं । हामी पुग्नासाथ क्याथरीनले सोधिन् । ‘के भयो, छोरालाई किन गाली गर्या ? चित्त दुखाएर फोन गर्यो ।’ ब्यामबरजर चकित परे । ‘ओ माइ गड। ही वाज न्याड ! आइ कुड नट इभन सेन्स हि वाज न्याड।“ उनले थाप्लो ठोके । ‘यु आर ओल्ड नाओ । व्हाट इज दिस, यु डोन्ट नो युअर सन टु ?’ क्याथरिन रिसाइन् ।
५. ‘मेरो के गल्ती? मैले मेरो छोरा छ भन्ने नै बिर्सिसकेको रहेछु । मेरो बाबुले मेरा कान समातेर खेतमा लगेको मलाई याद छ । हामी घोडाले खेत जोत्दिन्थिऔं । हामी सँगै ठट्टा गथ्र्यौं । खोइ त्यो समय?’ उनले भावुक हुँदै भने, ‘मैले कलेज पढ्दा दिएको घडी अहिले पनि तिम्रो नाडीमा छ, तिमीले त्यो हराउन दिइनौ । तर छोरा छोरी हराए । हामी अभागी हौं । यो वर्तमान अमरिका अभागी हो।’ उनले हत्केलाले निदार रगेड्दै भनें ।
६. त्यो दिन बेलुका हामी तिनै जना बाल्टीमोर ल स्कुलकी प्राध्यापक जेन सुकस्कुको घरमा बेलुकाको खाना खान गयौं । उनी अविवाहित अर्धबैंसे थिइन् । ‘जेन तिमी किन विवाह गर्दिनौ, गर अब त ढिला भयो।’ ब्यामबरजरले ठट्टा गरे । ‘म भत्किएको विवाहको पीडा खपेर दुखी हुन चाहन्न।’ उनले भनिन् ।
७. म उनीहरुसँग सात दिन बसें । हरेक दिन साथ साथ गफ गर्यौं । खाना पकाएर खायौं । बिहानै उठेर मैले कालो चिया उमालेर उनीहरुलाइ उठाएँ । उनीहरु खुसी भए । जब मेरो हिंड्ने दिन आयो, उनीहरुले पीडा महसुस गर्न थाले । मलाई बिदा गर्न उनीहरु सानफ्रान्सिस्कोसम्म गए । त्यहाँ हामी दुईदिन प्रोफेसर बेट्रीस मोल्टनसँग बस्यौं । अनि म त्यहाँबाट नेपाल लागें । अहिले दुबैजना बितिसके । क्याथरिन मरिन्, अनि केही समय पछि उनी । उनीहरु छोराछोरी बिनै मरे ।
संसारको जहाँसुकै होस्, मानिसमा माया हुन्छ । बाबुआमा छोराछोरीसँग बस्न चाहन्छन् । उनीहरु सबै छोराछोरीलाई दिन चाहन्छन् । नाति नातिनी बोक्न चाहन्छन् । तर पुँजीवादले मानिसलाई ‘मानिस होइन उपभोक्तामा परिणत गर्दोरहेछ। मानिसको स्वाभाव त जहाँ पनि परस्पर सहयोगी र सामाजिक नै हुँदो रहेछ । तर मानिसका लोभ र लालचले उनीहरुलाई व्यक्तिवादी बनाउँदो रहेछ । मेरा आमा र बुबा दुबै म सँग थिए, बेलुका थाकेर गएपछि आमामा काखमा टाउको राखेर एकैछिन संसार बिर्सदाको खुसीको मूल्य कति हो ? पाए त दास बनेर पनि फिर्ता लिन चाहन्थें । म विदेश जान्थे, मेरी आमा रातो टीका लगाइ दिनुहुन्थ्यो। ‘राम्रोसँग जानू है?’ म यत्रो भको छोरालाई के भन्नू पर्छ हौ आमा । कति चढियो कति त्यो मुला हवाई जहाज। ‘तँ जत्रो भएपनि आफुलाई केटकेटीनै लाग्छनी।’ आमाबुबा नै हुन मानिसका देउता ।
हामी धनी देश बन्न सक्छौं । हामी आधुनिक बन्न पनि सक्छौं । तर के धनी हुँदैमा आधुनिक हुँदैमा ‘बाबुआमा त्याग्नुपर्छ र ?’ उनीहरुसँग देशमा बस्दा ‘काँठे भैइन्छ र? भैइन्छ हो। तर काँठे हुन हजार पटक तयार हुन मन लाग्छ, बाबुआमासँग बस्न पाएँ । चिनियाँहरुसँग अथाह पैसा छ र आधुनिक छन् ‘तर आफ्नै खाना खान्छन्, चपिस्टिकले नै खान्छन् । आफनै भाषा बोल्छन् । संस्कृतिलाई माया गर्छन् । बाबुआमाका चिहानमा गएर धुप बाल्छन् । तर नेपालमा ‘एउटा किसान चार लिटर दूध लिएर बजार जान्छ र एक बोतल कोक खान्छ । के हामी नेपालीको भाग्य शोषको सेवा गर्नुनै हो । हामी आधुनिकताका नाममा भ्रान्तिको जीवन बोकेर ‘कठपुतली बनेका छौं। सकिन्छ भने दुई कुरा गरौं (१) धनी बनौं र (२) आफ्नै संस्कृतिलाई अँगालो हालौं । मलाई ब्यामबरजर र क्यारिनले दिएको शिक्षा सबैभन्दा महान् लाग्छ ।