राजनीतिमा आएको एउटा फ्रेस युवाले अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ
नारायण गाउँले ।
स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल पुग्ने हाम्रो एभरेज नेतृत्व छ । ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ । एउटा योजना या नीति बन्न महिनौंको अध्ययन, कसरत, छलफल, तथ्याङ्क प्रशोधन र तैयारी चाहिन्छ । तर आज काकतालीले कुनै विज्ञता नभएको क्षेत्रमा मन्त्री बन्यो, भोलिपल्टबाट निर्णय र निर्देशनका वर्षा गर्न थाल्यो जस्तो हाम्रो राजनीति छ । काठमाडौंका मेयरको शैली भने अलि बेग्लै छ । हातमा कुचो बोकेर ब्रुमरमाथि चढेको उनको स्टन्ट वाला फोटो देख्नुभएको छैन होला । दर्जन मिडियालाई चिया खुवाउँदै राजधानीलाई विश्वकै नमुना शहर बनाएको भन्ने जस्तो भाषण पनि पक्कै देख्नुभएको छैन । चुनाव लड्दै गर्दा मोनोरेलदेखि मेट्रो रेलसम्मका गफ गरेको पनि देख्नुभएको थिएन ।
मिडिया हेर्दा हाम्रा अन्य नेताले काम नै काम गरेको र देशलाई अद्भुत समृद्धितिर डोर्याउँदै गरेको र त्यसमा बालेनको उपस्थिति शून्यजस्तो लाग्छ । न टाउको हल्लाई हल्लाई अन्तर्वार्ता, न साधनस्रोतभन्दा ठूला योजना र सपना, न सस्तो स्टन्टबाजी, न नयाँ युग शुरू भएको भन्ने होर्डिंङ बोर्डहरू, न पत्रपत्रिकाभरि ज्याकेट विज्ञापन, न कुनै काण्ड र घोटालाका खबरहरू ।
तर मिडिया नहेरी काठमाडौंलाई हेर्नुभयो भने चित्र अलि बेग्लै लाग्न सक्छ । पक्कै काठमाडौं स्विट्जरल्याण्डका शहरजस्तो सफा र व्यवस्थित छैन तर केही वर्षअघि जताततै डम्पिङ साइट जस्तो देखिने दुर्गन्धित शहर पनि छैन । बाटा र गल्लीहरू सफा छन् । फूल र बोटबिरुवाहरू हुर्काइँदै छन् । सार्वजनिक जग्गा र खुला क्षेत्रको संरक्षण र अधिकतम नागरिक उपयोगतिर ध्यान पुगेको छ, हिजो फोहोर फाल्ने ठाउँमा पुरिएका ढुङ्गगेधाराहरू उत्खनन् हुँदै छन् ।
आज पनि धुलोको तुवाँलो त देखिन्छ तर आफ्नो बलबुताले भ्याएसम्म धुलो नियन्त्रणका लागि महानगर इमान्दारीपूर्वक लागेको छ भन्ने पनि देखिन्छ । शिक्षादेखि सार्वजनिक शौचालय र स्थानीय सांस्कृतिक सम्पदादेखि राजश्वका स्रोतसम्म महानगरको कसरत स्पष्ट देख्न सकिन्छ । थोरै भएको होला, तर केही उल्लेख्य भएको छ , मुख्य कुरा हुँदै नभएको कुराको राज्यस्रोत दुरुपयोग गरेर प्रचार प्रसार भएको छैन ।
हो, अलिकति फुटपाथ व्यापारका समस्या होलान् । केही निर्णयहरूमा भावुकता या लहडको मात्रा धेरै भएको आरोपहरू होलान् । अलिकति राजनैतिक चरित्र र लचकताको इश्यु होला । आफ्नो मेयरलाई अलि सजिलोसँग भेट्न पाउनुपर्ने अपूर्ण चाहनाहरू होलान्, अलिकति ’एटिच्यूड’का प्रश्नहरू होलान् । केही सिक्न र केही सुधार गर्न बाँकी होला ।
तर, राजनीतिमा आएको एउटा फ्रेस युवाले काठमाडौं जस्तो अत्यन्त अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गरेको छ, गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ । कामको आधारमा टीकाटिप्पणी स्वाभाविक हो, तर व्यक्तिगत या आर्थिक चरित्रबारे आजसम्म औंला उठाउने अवसर कसैले पाएको छैन । कम्तिमा एउटा मेयरले चाहने हो भने केही हुन सक्ने रहेछ भन्ने नजीर स्थापना भएको छ । नगरसभाभित्र हिजो विरोध गर्नेलाई पनि उनले साथ लिएर हिँडेको दृश्य पनि हेर्नुभएकै होला ।
सबै कुरा गर्न त एक्लै मेयरले सक्ने कुरो पनि भएन, साधनस्रोतले भ्याउने कुरो पनि भएन । कति नीति र योजनाहरू पूरा नहुँदै एउटा मात्रै पाटो हेरेर हामीलाई गलत लागेको पनि हुन सक्छ । पब्लिकलाई स्पष्ट बुझाउन नसक्नु उनको कमजोरी पनि हुन सक्छ ।
अझै पनि काठमाडौं विश्वकै प्रदूषित शहर छ । गर्न धेरै बाँकी छ । तर यो एउटा मेयरको सीमाभित्र मात्रै नहोला । कम्तिमा आज काठमाडौं विश्वकै फोहोर शहर छैन । काठमाडौंले ऐतिहासिक र सांस्कृतिक इतिहास सम्झेको छ, पुनरुत्थान र संरक्षणतिर सोच्दै छ, त्यो वैभवलाई जोगाउन खोज्दै छ र साथसाथै एउटा आधुनिक शहरको रूपमा आफूलाई चिनाउन खोज्दै छ । कतै हाम्रा पुराना आशा र विश्वासझैँ यो पनि अस्थायी हो कि भन्ने डरचाहिँ लागिरहन्छ । तपाईंको अनुभव कस्तो छ ?