समृद्धिको सपना देखाएर भविष्य ‘लुट्ने’हरु
नारायण गाउँले ।
न ठूलो उद्योग, न खानी, न खनिज तेल प्रशोधन, न भयङ्कर ठूलो जनसङ्ख्या, न ठूला–ठूला जङ्गल र त्यसमा लाग्ने डढेलो… र पनि राजधानी शहर विश्वकै उच्च प्रदूषित शहर छ । नागरिकले हरेक मिनेट फेर्ने सास विष बराबर छ, सास फेर्दा अक्सिजन होइन, धुलोको मुस्लो फोक्सोभित्र जान्छ । स्कुल जाने कलिला नानीहरूले दिनहुँ त्यो कालो मुस्लो पिइरहेका छन्, तरकारीहरूमा कति विष छ, दैनिक खाद्यवस्तुमा कति अखाद्य तत्त्व छ भन्ने जाँच्ने र रोक्ने कुनै निकाय या संयन्त्र छैन, यद्यपि यस्तै कामका लागि राज्यबाट मोटो तलब बुझ्ने र गाड़ी चढेर हिँड्नेहरू धेरै छन्, मन्त्री बन्न मन लागे, कृषिलाई पनि टुक्रा पारेर पशुमन्त्री सम्म बनाइन्छ, तर खाने तेलदेखि दालचामलसम्मका दैनिक उपभोग्य वस्तु युरोप–अमेरिकाभन्दा महँगा छन् । त्यसमाथि गुणस्तरको कुनै भरोसा छैन ।
एउटा अलि गम्भीर रोग लागे कति पैसा सकिन्छ या घरखेत बेचेर पनि उपचार हुन्छ हुँदैन भन्ने थाहा छैन, सस्ता सरकारी अस्पताल त छन् तर एउटा सामान्य परीक्षण गर्न प्राइभेट क्लिनिकमा रिफर हुन्छ, या त सरकारी मेसिन बिग्रेको हुन्छ, या छैन भनिन्छ । बाउ मन्त्रिमण्डल या संसदमा बसेर योजना बनाउँछ, लागत तोक्छ र उसैको छोराले ठेक्का पाउँछ । दुई वर्षमा बन्नुपर्ने योजना दश वर्षसम्म अलपत्र हुन्छन्, खर्च दोब्बर–तेब्बर पुग्छ । आज कालोपत्रे भएका सड़क छ महिना नहुँदै भत्किन्छन्, फेरि उही छोराले अर्को ठेक्का पाउँछ । हप्तामा घण्टा गनेर धारामा पानी आउँछ, जुन सोझै पिउनयोग्य समेत हुँदैन लोडसेडिङ छैन भनिन्छ, फल्नो देशलाई यति र उति बिजुली बेच्ने भनिन्छ । तर दिनको पाँच पल्ट बिजुली जान्छ, इन्भर्टर या जेनेरेटरबिना व्यवसाय गर्न सकिन्न । देशका लामा दूरीका सड़कहरूको महादुर्दशा छ । चार घण्टामा पुगिनुपर्ने ठाउँ पुग्न पूरै दिन लाग्छ, त्यो पनि अनुहार नचिनिने भएर पुगिन्छ । यातायातदेखि अस्पतालसम्म कुनै एउटा यस्तो क्षेत्र छैन, जहाँ कसैलाई भनसुन नगरी, हात नजोरी, अलिकति मिलाउनु न नभनी, आत्मसम्मान नगिराई मुस्कानका साथ सेवा लिन सकियोस् । पैसा तिरेर अपमान किन्न पर्ने अवस्था छ । देशका सानादेखि ठूला व्यवसायीसम्म कसैमा उत्साह र आत्मविश्वास छैन ।
सबै भित्रभित्रै क्षीण छन् या धिकिर–धिकिर चल्दै छन्, कतिबेला विष्फोट हुन्छ, भन्न सकिन्न । पहाड़मा घर रित्ता छन्, भएकालाई पनि बाँदर र बँदेलले लखेटेको छ । दलहनदेखि मकै र कोदोसम्मको उत्पादन शून्य बन्दै छ । धान र गहुँ उब्जनी हुने ठाउँमा प्लटिंग छन् । एउटा उद्योग खोल्न चाहे सिङ्गो जग्गा बाँकी छैन । भूमिसुधार भन्ने त मन्त्री बन्ने र सुविधा भोग्ने विषय मात्रै हो । देशका दुई–तीन ठूला शहरबाहेक देशैभरि हार्ट–अट्याक त छोड़म्, अपेन्डिक्स जस्तो सामान्य रोग लाग्यो भने मान्छे बचाउन नसकिने अवस्था छ । देशका सयौं सहकारीहरूले लाखौं नागरिकलाई उठीबास लगाएका छन् । बोल्न सक्ने त बोल्दै होलान्, कति धेरै त खूनको आँशु पिएर बाँचेका छन् । विदेशतिर एउटा पसलले केही मिनेटमा सजिलै छापेर दिने खालको एउटा लाइसेन्स छापेर दिन तीन वर्ष लाग्छ ।
विश्वमा हाम्रो पासपोर्ट या नागरिकको इज्जत र भ्यालु कति छ भन्ने पढ्नुभएकै होला । नगरपालिका, महानगरपालिका भन्छन्, चार वटा मकै पोलेर बेच्नेसँग पनि कर लिन्छन्, तर न समयमा फोहोर उठ्छ न बाटोमा नाली या फुटपाथ छ । स्कुल जाने बच्चादेखि लट्ठी टेकेर हिँड्ने वृद्धसम्म र ट्रिपरदेखि साइकलसम्म हिँड्ने बाटो एउटै हुन्छ । देशको आम्दानी चार आना, खर्च आठआनाको छ । हुँदा हुँदा विकास खर्च छोडम्, लिएको ऋणको साँवा ब्याज तिर्न पनि फेरि ऋण लिन पर्ने अवस्था छ र पनि विश्वकै भ्रष्ट देशमध्ये हाम्रो नाम आउँछ । प्रदूषण, धुलो–धुवाँ, खाद्य पदार्थको मिसावट र तरकारीका विषादिहरूको अवस्था यति भयानक छ कि, हरेक घरको एउटा न एउटा मान्छे हरेक दिन बिरामी छ र हस्पिटल पुगेको छ । हस्पिटल त्यस्तो बिजनेश छ, जहाँ न बार्गेनिङ चल्छ, न एकपल्ट त्यो ’सिस्टम’मा पुगेपछि तपाईं सजिलै बाहिर आउन सक्नुहुन्छ ।
तर एकछिन संसद र राजनीतिको मूल बहसमा ध्यान दिनुहोस् । देशी विदेशी षड्यन्त्र चिर्दै हाम्रो गठबन्धन अगाडि बढ्नेछ ! देशलाई दुर्घटनाबाट बचाउन नयाँ गठबन्धन आवश्यक थियो । देश अब समृद्धिको यात्रामा गयो । माओवादीले धोका दियो । होइन, धोका कांग्रेसले दियो । कांग्रेस र एमालेबीच गम्भीर छलफल चल्दै छ, अब नयाँ सरकार बन्छ । अमेरिका मित्र हो, अमेरिका शत्रु हो । पहिले चीन भ्रमण गर्नुपर्छ, होइन, भारत भ्रमण गर्नुपर्छ । मिशन चौरासीमा सबै साफ हुन्छन् । चौरासीमा हाम्रो बहुमत आउँछ । फल्नोले टिकट पाउनुपर्छ । तपाईंले यति यति काण्डमा यति यति पच पारेको बिर्सिनुभो र मलाई औंठा उठाउनुहुन्छ ?
आश्चर्यलाग्दो त के छ भने, जुन बाटोको धुलोले आफ्नो पाँच वर्ष आयु लुटेको छ, दश पल्ट श्वासप्रश्वासको समस्याले हस्पिटल पुर्याएको छ, पैदल हिँड्न बाध्य आफ्ना बालबच्चालाई दीर्घरोगी बनाएको छ, त्यही बाटो भएर एसी जडेको गाड़ीमा एउटा नेता आयो भने बाटोमा पानी छर्किन र धुलो नदेखियोस् भन्न उही मान्छे जाने रहेछ । अझ एक हातमा पार्टीको झण्डा र अर्कोमा फूलमाला बोकेर ! जसले हाम्रो पुस्ताको वर्तमान र बालबच्चाको भविष्य जति धेरै लुटेको छ, त्यसैलाई त्यति नै ठूलो भगवान् मान्ने हामी वास्तवमैं अनौठो प्राणी हौँ ! तपाईंलाई पनि कहिलेकाहीँ त च्वास्स बिझ्छ कि ?