चीन जतिकै पुरानो इतिहास बोकेको नेपाल कहिले पुग्ने त्यहाँ ?



डा. युवराज संग्रौला ।
२०६३ साल । देश जातियता र त्यससँग जोडिएका उन्मादले भरिएको थियो । मैले एउटा अभिव्यक्ति दिएँ टेलिभिजनमा र त्यो मेरो विश्वास पनि थियो । त्यो अभिव्यक्ति थियो ‘म बाहुन जातमा जन्मिएँ र किराँत सभ्यतामा हुर्किएँ । त्यसैले म जातले बाहुन तर सभ्यताले किराँत हुँ।’ म गोपेटार पुंगेको थिएँ । शान्ति प्रक्रिया र माओवादी खुल्ला राजनीतिमा आएपछि भड्किएको अराजकताको अन्वेषण मुख्य उद्देश्य थियो । त्यसदिन म लगायतका केही साथी गोपेटार (पाँचथर) आउने कुरा त्यहाँका थुप्रै साथीहरुलाई थाहा थियो । मेरो जन्मघर त्यहाँबाट अलि तल सुभाङ्ग हो । लिम्बुहरुसँग पुस्तैनी सम्बन्ध थियो, सुहांङ्ग, आङ्दम्बे र नेम्वाङहरुसँग मितेरी साइनो । पाँचथरमा मेरा बाबू सभापति पनि भए र स्कुल बनाउन र कुलो खन्न निकै योगदान पनि गरे । त्यसैले मेरो बुबालाई नचिन्ने मानिस थिएनन् ।

१. गोपेटारमा मेरा शुभचिन्तक र लिम्बुवानका नाममा म जस्ता त्यहाँ पुस्तौंदेखि बसेका बाहुन, क्षत्री र नेवारहरुलाइ खेद्नुपर्छ भन्ने अनाडी माओवादीहरु पनि रहेछन् । एकजना चिनजानका शिक्षकका घर अगाडि गाडी रोकेर उत्रियौं । आँगनमा सिन्की सुकाएको रहेछ, भकाभक खाइयो।

२. बिस्तारै जमात भेला भयो । एकजना पाका लिम्बु बुढा मान्छे आए र सोधे । ‘होइन हौ, कुन भाइ पो हो, मैले नदेखेको पो हो कि कसो । कृष्णप्रसाद दाजुका छोरा त सबैलाइ देखेको हो, तिमीलाई त नदेखेको हो कि कसो हो।’ उनले सासै नफेरी दनादन सोधे। ‘म कान्छो हो काका । देखेकै हो, अहिलेले धेरै भयो बिर्सनु भयो।’

३. ‘होइन के पो आयो हौ जमाना । हामी त मिलेर बसेका थियौं । अहिले त झगडै झगडा पो छ । हाम्रो ठाउँ त अर्कै देश पो भयो कि कसो । लिम्बू मात्रै बस्नुपर्छ भन्छन् त माओवादी भन्नेहरु । तिम्रो बाउ र म त कहिल्यै छुटिएनौं नि । तिम्रो बाबू मरेको थाहा पाएपछि त तीन दिन जुठो पो बार्यौं नि हाउ । के पो हुने हौ, अब ?’

४. बजारका बाहुन, क्षत्री र नेवार आतंकित देखिन्थे । विस्तारै मानिसको हुल लाग्यो । आफूलई क्रान्तिकारी भन्नेहरु पनि भेलामा मिसिए । मैले बोल्नै पर्ने भयो । ‘हेर्नुहोस्, धेरैलाई भ्रम छ। किराँत जात होइन, सभ्यता हो । यसको आफ्नै समृद्ध दर्शन छ, मुन्धुम । मुन्धुम समाजको बन्दोबस्त गर्ने नियमको संगालो पनि हो र जीवन र जगतका बारेको दर्शन पनि । यस किराँत भूमिमा बस्ने बाहुन क्षत्री नेवार लिम्बू सबैको सभ्यता किराँत हो । अनि कसले कसलाई खेद्ने ? क्रान्तिकारीहरुले निकै प्रश्न गरे र हप्काउने प्रयास पनि गरे । तर मैले बोलेपछि एक जना होइन दुई चारजना लिम्बु काकाहरुले बोले र भने यो ठाउँ सबैको हो । आफ्नै मान्छेलाई शत्रु देख्नु त मुन्धुमको पनि अवहेलना हो, हैन ? मुन्धुम बिरोधी मान्छे कसरी किराँती हुन्छ हौ ? क्रान्तिकारीहरु विस्तारै पन्छिए ।

५. नेपाल एउटा त्यस्तो गौरव बोकेको देश हो, जसले सिंजा, मगरात, नेवा, मिथिला, किराँत र थारु जस्ता छ वटा सभ्यतालाई जन्म दियो । किराँत वंशको शासनताका नेपालीहरुले पशुपालक समुदायबाट कृषि उत्पादनको संगठित खेती शुरु गरे । किराँत वंशले नेपालमा रास्ट्रको इतिहास निर्माण गर्यो र नेपाल अब उप्रान्त एउटा संगठित देशमा उन्नयनको बाटोमा लाग्यो। राजा एल्बमर बुद्धिमानी राजा थिए । उनी जनताका सेवक थिए र समतावादी मानववादी थिए। उनी जातीवादी थिएनन्, जसरी पृथ्वीनारायण क्षत्रीका मात्र राजा थिएनन् ।

६. सिंजा सभ्यताले नेपालीलाई सम्पर्क भाषा, बैदिक सनातन दर्शन र पहिरनको संस्कार दियो। मगरात सभ्यताले राष्ट्र सुरक्षा र समाजवादी सामाजिक संरचना र जीवन पद्धति दियो। नेवा सभ्यताले शिल्प, वास्तुकला, चित्रकला र अनेक प्रबिधि दियो। मिथिला सभ्यताले साहित्य र कला दियो। किराँत सभ्यताले संगठित खेती र गणतन्त्रको अवधारणा दियो। थारु सभ्यताले मातृसत्तामा आधारित संस्कृति र सामुहिक जीवन पद्धतिको संस्कार दियो।

७. चिनियाँ साथी छन् सिआओछन्ले भने, ‘जति पुरानो इतिहास चीनको छ, त्यतिनै पुरानो इतिहास नेपालको छ । नेपालले चीनलाई बुद्ध धर्म दिएर शान्ति र अहिंसाको संस्कृति विकासमा मद्दत गर्यो । चीनमा आज अनेक जाती छन् । अनेक सभ्यता छन् । तर ती अनेक सभ्यताले चिनियाँ सभ्यता निर्माण गरेका छन् । तर नेपाल किन जातीय लडाइँतर्फ अगाडि बढ्दै छ ? किनभने नेपालीलाई “गफ गर्ने बानी लागेको छ। उनीहरु सिर्जना होइन, प्रेमका गीत, महिलालाई अपमान गर्ने गीत त महिलाप्रति अस्लिल जोकमा रमाइलो मान्छन् । चीनमा भुखमारीले मानिसले मानिसको मासु खाने दिन पनि आए। तर नेपालीहरु भोकले मरेका छैनन् । नेपालमा जता बिउ फ्याँक्यो त्यति उम्रिएर फल्छ । तर चीनमा धेरै मेहनत गरेर खेती गर्नु पर्छ । चिनियाँ मित्र छन् नेपालमा बस्दा दौरा सुरुवाल र टोपी लगाउँछन् । उनी नेपाली हुन मन गर्छन् ।’

८. तपाईंहरुका गीत कस्ता हुन्छन् ? ‘हाम्रा गीतमा प्रकृति र प्रेमको तुलना हुन्छ। तर तिमीलाई तानेर लान्छु जस्ता गीत हुँदैनन् ।’ नेपाल धनी छ, तर हामी नेपाल गरीब छ भनेर कथा भन्छौं । नेपाल सानो छ भन्छौं । २०१३ मा दिल्लीको डिफेन्स स्टडिज सेन्टरले एउटा लेक्चर दिन भन्यो । म गएँ । मोडरेटरले भने ‘वि ह्याभ टुडे डाक्टर युवराज।’ ओ हमारे छोटे पडोसी नेपालके ल प्रोफेसर है । नेपाल हमारा छोटे भाइ जैसा है।’ उनले मायाले भनेका थिए, तर त्यो सत्य थिएन। म बोल्न थालें । मेरा अगाडि सर्दारजी थिए। मैले सोधें, ‘सदारजी एउटा प्रश्न सोधौं?’

‘ हां जि।’
‘दिल्लीबाट हिंडेर जाँदा कन्याकुमारी पुग्न कति दिन लाग्ला?’
‘दो मशिना तो जरुर लगेगा?’
‘तब त, मेरो देशमा ताप्लेजुङबाट हिंडेर दार्चुला पुग्न एकवर्ष लाग्छ। एक अर्थमा त नेपाल ठूलो भएन र?’
राष्ट्र ठूलो र सानो हुन्न । देशको भूगोल हुन सक्छ । नेपाल र भारत असल छिमेकी र मित्र हुन दाजुभाइ होइनन् । त्यसपछि, मैले नेपाल भारत सम्बन्धका बारेमा बोलें । हामीले कुटनीति सिक्नुपर्छ । हामी सधैं भारतलाई गाली गर्छौं । यो हाम्रो कुन्ठा हो । हामीले विद्वताका बलमा भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसका लागि छ वटा सभ्यताको सद्भावमा आधारित नेपाली एकता निर्माण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी

दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन