असल स्वास्नी



डा. गोविन्दशरण उपाध्याय ।
अर्पणा र अर्पणको विवाह भएको दुई वर्ष भयो । दूवै जना सहपाठी हुन् । पढ्ने क्रममा आपसी चिनजान भयो, प्रेम बस्यो र परिवारकै सहमतिमा विवाह भयो । विवाह भएको एकवर्षपछि दूवै घरको नजिकै फ्याट भाडामा लिएर सरे । परिवारसँग विवाद भएर फ्ल्याट लिएको होइन, आत्मनिर्भर बन्ने अभ्यास गर्न सजिलो हुन्छ, लोग्नेस्वास्नीलाई एक्लै बस्नु पर्दा ‘कामकाज’ गर्दागर्दै पनि एकआपसमा सामन्जस्य कायम गर्न सकिन्छ ? सामाजिक, सांस्कृतिक, पारिवारिक तथा धार्मिक दायित्वहरू कसरी पूरा गर्न सकिन्छ ? भनेर अभ्यास गर्न बेग्लै फ्ल्याट लिएको हो ।

सुरुसुरुमा एक्लै फ्ल्याटमा जीवन आरम्भ गर्दा निकै गाह्रो भयो । घरको समान जुटाउन र मिलाउन निकै परिश्रम गर्नु पर्यो । बल्ल–बल्ल भोजन बनायो, त्यो पनि ढंगको नहुने ! धेरै पटक पकाएको भोजन फालेर अनलाइन मंगायेर पेट भरियो । एकातिर हामी लोग्नेस्वास्नीका लागि एकान्त प्राप्त भयो । संयुक्त परिवारमा केही डर, केही लाज हुन्थ्यो । यहाँ हामी स्वतन्त्र भयौं । स्वतन्त्रताको वेफाइदा पनि रहेछ – सन्चो नहुँदा, थाकेर गाह्रो हुँदा, मन दुख्दा, सहयोगको आवश्यकता हुँदा तत्काल पाइने रहेनछ । अनि, लोग्नेस्वास्नीबीच ठ्याक्कठुक्क पर्छ । कहिकेकाहीं घण्टा त कहिलेकाहीं दिनभरी हामीबीच बोलचाल समेत हुँदैन । तर त्यो धेरै चल्दैन । धेरै जसो अर्पणले ‘सरी’ भन्नुहुन्छ । कुरा मिल्छ । तर कहिलेकाहीं मैले पनि “सरी“ भन्नु ।कुरा मिल्छ ।
………………
आधुनिक दम्पतिले न्युक्लियर बसाई रोज्ने चलन बढेको छ । यसो गर्नुमा आ–आफ्ना आवश्यकता र तर्क छन् । अर्पणा र अर्पण दूवै कामकाजी छन् । अर्पणा एउटा परम्परागत परिवारमा हुर्केकी हुन् । उनले आफ्नो धर्म, संस्कृति, परम्परा तथा सामाजिक दायित्व बुझेकी छन् । उनको विचारमा एउटी नेपाली महिला असल ‘स्वास्नी’ बन्नका लागि सामान्य नेपाली मन र भावनाअनुसार आफूलाई ढाल्न पर्छ तर थिचोमिचो र अनावश्यक आदेशहरु विनम्रता र कठोरताका साथ अस्वीकार गर्नुपर्छ । यसो गर्दा आफन्त वा लोग्नेलाई अलि नमिठो लाग्न सक्छ तर पछि उहाँहरूले सम्मान गर्नुहुन्छ । आधुनिकता तथा पढालिखा हुनुको अर्थ सबै ‘बन्धनबाट मुक्ति’ होइन । आ–आफ्नो दायित्व सबैले पालन गर्नुपर्छ ।

अर्पणाका अनुसार आधुनिक नेपाली स्वास्नीमा निम्न गुणहरू हुँदा लोग्नेस्वास्नीको पारिवारिक जीवन राम्रो हुन्छ । नेपाली समाजमा केवल लोग्नेस्वास्नीका बीच राम्रो भएर मात्रै काम चल्दैन, परिवारसंग पनि सन्तुलन मिलाउनु पर्छ । अर्पणाका विचारमा आधुनिक ‘स्वास्नी’मा निम्न गुण तथा स्पस्टता हुनुपर्छः

१. सम्प्रेषण (Communication) एउटी असल स्वास्नीका लागि सबैभन्दा महत्वपूर्ण गुण भनेको उसले एकआपसी सूचनाहरू प्रष्टरूपमा साटासाट गर्नुपर्छ । एकआपसी विचारहरू, शारीरिक अवस्थाहरू, मानसिक अवस्थाहरू. सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यक्तिगत रूचि, इच्छा तथा अनिच्छाका विषयमा लोग्नेसंग प्रष्ट कुरा राख्न सक्नुपर्छ । यसरी कुरा राख्दा कुनै पनि प्रकारको बनाबटीपन, स्वार्थ तथा लाभहानीबाट प्रेरित हुनुहुँदैन । लोग्नेसंग दूईखालका अर्थ लाग्ने र शङ्कालु बोलीबचन प्रयोग गर्नु हुँदैन । लोग्नेका मन नपर्ने बानीहरू प्रष्टरूपमा भन्नु पर्छ तथा विनम्रता र भाषा छनौटमा ध्यान दिनु पर्छ । आफ्नो शारीरिक अवस्था वारे प्रष्ट भन्नु पर्छ । बोलीमा मिठोपना तर दृढता हुनुपर्छ, मनमा प्रेम तथा सहृदयता हुनुपर्छ । त्यसैले हरेक स्वास्नीले ‘सूचना आदानप्रदान’ मा विशेष महत्व दिनुपर्छ ।

२. सहयोगीः (Support) हरेक लोग्नेहरूले आफ्नी स्वास्नीले हरेक अवस्थामा सहयोगी भूमिका गरोस् भन्ने चाहन्छन् । सजिलो र असजिलो परिस्थिति सबैको परिवारमा आउँछ तर एउटी असल स्वास्नीले “लोग्ने“लाई एक्लै छोड्दैनन् । कानुनले वर्जित नगरेका सबै क्रियाकलापमा स्वास्नीले लोग्नेलाई सघाउनु, सहयोग गर्नु असल गुण हो । मानसिक रूपमा दुखी भएको बेला समनानुभूति प्रदान गर्ने, रोगको अवस्थामा भौतिक सहयोग गर्ने र बौद्धिक कार्यमा समेत समस्या समाधान गर्न सहयोग गर्ने मानसिकता र कामले स्वास्नीलाई असल बनाउँछ ।

३. उत्सवः (Celebration on achievement) लोग्ने र स्वास्नी दुवै लोग्नेस्वास्नी हुनुका साथै सबैभन्दा नजिकका असल मित्र र सहयोगी पनि हुन् । स्वास्नी मान्छेले लोग्नेको स–सानो सफलतामा उत्सवको माहौल तयार गर्नुपर्छ । सफलताको खुसी मनाउन महङ्गा होटल वा रक्सी नै चाहिन्छ भन्ने होइन आफ्नो आर्थिकस्तर अनुसार लोग्नेलाई बधाई दिएर, अँगालो हालेर वा आमावुवाको अगाडी लोग्नेको प्रशंसा गरेर लोग्नेको सफलतालाई उत्सवमय बनाउने स्वास्नीहरूले बानीका रूपमा विकास गर्दा हुन्छ । मान्छेले ससानो उपलब्धिमा खुसी हुनुपर्छ ।

४. सुन्ने (Listener)  आजको समाजले ‘सुन्ने क्षमता’ गुमाउंदै छ । लोग्ने वा स्वास्नी एकअर्काको कुरा ध्यान दिएर र धैर्यपूर्वक सुन्न छोडेका छन् । सुख होस् वा दुख हरेक मान्छेले आफ्नो कुरा सुनाएर ‘हल्का’ हुन चाहन्छ । एउटी असल स्वास्नीले लोग्नेका कुराहरू ध्यान दिएर सुन्ने बानी बसाल्नु पर्छ । नेपाली लोग्नेहरू अली बढी नै ‘सुनाउने खालका’ हुन्छन् । गालीनै किन नहोस्, चूप लागेर सुन्ने र लोग्ने शान्त भएपछि त्यस विषयमा आफुलाई लागेको कुरा प्रष्टसंग राख्नु पर्छ । त्यसैले असल स्वास्नीहरूले सुन्ने सवालमा धैर्यको बाटो रोज्छन् । सुन्ने बानी भएका स्वास्नीहरूका लोग्नेहरू स्वास्नीसंग आफ्नो कुरा नलुकाई भन्ने गरेको अनुसन्धानहरूले पुष्टी गरेका छन् । त्यसैले २५% सुनाउने र ७८% सुन्ने बानी स्वास्नीका लागि सुखी पारिवारिक सम्बन्धको बलियो गाँठो हुन्छ ।

५. सम्मान (Respect) मान्छेको आचरण सम्बन्धित समाजको मान्यतामा आधारित हुन्छ । अमेरिकी समाजको नक्कल गरेर हुँदैन । हाम्रो समाजका आफ्ना नैतिक तथा सामाजिक सीमाहरू छन् । धेरैजसो नेपाली लोग्नेहरू स्वास्नीले ‘तँ वा तिमी भनेर सम्बोधन’ गरेको मन पराउँदैनन् । एकान्तमा तँ वा तिमी जे–भनेर सम्बोधन गरे पनि समूहहरुमा तपाईं नै भन्दा राम्रो हुन्छ । यो लोग्नेलाई आदर गर्ने एउटा उदाहरण हो । हरेक स्वास्नीले आफ्ना लोग्नेको आत्मसम्मानको ख्याल गर्नु पर्छ । यदि कुनै व्यबहार वा बोलीले लोग्नेको आत्मसम्मानमा नराम्रो असर पर्छ वा स्वास्नीले फलानो व्यबहार वा बोली नाबोलोस् भन्ने चाहन्छ भने ती शब्द र बोलीलाई सधैंको लागि छोड्नु उचित हुन्छ । आफ्नो लोग्नेलाई सम्मान र आदर गर्ने यो भन्दा राम्रो अरू कुनै कुरा हुनै सक्दैन ।

. यौन उत्सुकता (Sexual orientation)  एउटा पुरुषका लागि ‘सेक्स’ निकै महत्वपूर्ण हुन्छ । नेपाली लोग्नेहरू सेक्सका मामिलामा नेतृत्व लिन्छन् । साथै, नेपाली लोग्नेहरू आफ्नी स्वास्नीसंग सेक्सका विषयमा कुरा गर्न र सुन्न मन पराउँदैन् । यस्तो अवस्थामा नेपाली स्वास्नीको रूपमा हरेक स्वास्नीले बडो सावधानीपूर्वक ‘सेक्स–व्यबहार’ गर्नुपर्छ । यौन व्यबहारमा महिलाका तुलनामा पुरुषहरू बढी नै एकाधिकार खोज्ने हुन्छन् । स्वास्नीको सानो अव्यबहरिकताले लोग्नेले ‘अर्कासँग सल्केको’ भनेर शङ्का हुन सक्छ, त्यसैले प्रत्येक स्वास्नी मान्छेले आफ्ना बालसखाहरूसंग होस् अथवा अन्य पुरुषमित्रहरूसंग एउटा निश्चित तथा सम्मानित सम्बन्ध बनाउँदा राम्रो हुन्छ । पुरुषमित्रका विषयमा लोग्नेले सोधेको बेलामा ‘सहीसही’ जानकारी दिंदा राम्रो हुन्छ । अर्को कुरा, लोग्नेसँग विवाहपूर्वका यौन–सम्बन्धहरूका विषयमा जानकारी साझा गर्न हुँदैन । आधुनिकता र एकआपसमा जीवनका अन्य सबै पक्ष साटासाट गरे पनि विवाहपूर्वका ‘यौनजन्य’ क्रियाकलाप वारे मौन रहनु नै उचित हुन्छ । साथै, यदि वर्तमान लोग्नेसंग दोस्रो विवाह हो भने पूर्वलोग्नेसंग यौनजन्य क्रियाकलाप वा घटनाहरू भन्न हुँदैन ।

यौनजन्य क्रियाकलापमा शरीर र मन दूवैको प्रत्यक्ष संलग्नता हुने भएको र यो जीवनको अनिवार्य अंग भएको हुँदा शरीर र मन स्वास्थ्य रहनु अतिआवस्यक हुन्छ । आफूलाई सन्चो भएको नभएको विषयमा लोग्नेसँग प्रष्ट, विनम्रता तथा दृढतासंग कुरा गर्नुपर्छ । लोग्नेले आग्रह नै गरे पनि विनम्रतापूर्वक अप्राकृतिक यौनजन्य क्रियाकलाप तथा व्यबसायिक नीला चलचित्रबाट जोगिनु राम्रो हुन्छ । साथै, यदि लामो समयसम्म यौन चाहनाको अभाव हुन्छ भने लोग्नेस्वास्नी दूवै मिलेर चिकित्सकसंग परामर्श गर्नु उचित हुन्छ । पुरुषहरू सेक्सका सवालमा अलि अधैर्य हुने हुँदा धेरै लामो समयसम्म ‘नाइँ’ भन्दा दोस्रो विकल्प खोज्ने वा मानसिक तनावग्रस्त भएर हिंसक व्यबहार गर्ने सम्भावना हुन्छ । त्यसैले स्वास्नीले लोग्नेसँग विश्वासिलो र सम्मानजनक संचार स्थापित गर्नु असल गुण हो ।

७. विश्वासिलो (Faithful)  :नेपाली लोग्नेस्वस्निका विचमा अंग्रेजीको फैथफुल शब्द नितान्त नयाँ चिन्तन हो । नेपाली लोग्नेस्वास्नीहरूका लागि विवाह एउटा पवित्र तथा नैतिक बन्धन हो । विवाहसंग पश्चिमाजस्तो डिभोर्सको कल्पनासम्म गरिएको हुँदैन । आफ्नो लोग्ने हुँदाहुँदै कुनै पनि स्वास्नीले दोस्रो व्यक्तिसंग यौनजन्य क्रियाकलाप गर्छन् भन्ने कुरा समाजले परिकल्पना पनि गरेको हुँदैन । तर बदलिँदो परिवेशमा यदाकदा स्वास्नीहरूले लोग्नेलाई छलेर परपुरुषसंग सम्बन्ध स्थापित गरेको र त्यसका कारण दूवै परिवार विग्रेका घटना पनि बाहिरिएका छन् । यस्तो अवस्थामा, कुनै पनि स्वास्नीले आफ्नो लोग्ने वाहेक अरूसंग यौनजन्य क्रियाकलापमा सङ्लग्न हुनु अनुचित हो । लोग्ने होस् वा स्वास्नी यौनका सवालमा दुवैले एकअर्कालाई छल्नु हुँदैन । लोग्नेको विश्वासलाई नतोड्ने स्वास्नीहरूको भरपर्दो असल गुण हो । बायोलोजिकल निड भन्दै जथाभावीवादलाई प्रश्रय दिंदा यौन सुख मिल्ला तर पारिवारिक जीवन ध्वस्त हुन्छ ।

८. आर्थिक साझेदारीः नेपाली समाजमा स्वास्नी र केटाकेटी लोग्न्नेको जिम्मेवारी मानिन्छ । लोग्नेको मानसिकता त्यसरी नै बनेको हुन्छ । लोग्नेहरूले केटाकेटी र स्वास्नीलाई आफ्नो प्राथमिक दायित्व र कर्तव्य ठान्छन् । आज समय बदलिएको छ । जागिर भएका, व्यवसाय गर्ने “स्वास्नी“हरूको सङ्ख्या बढ्दो छ । कुनैकुनै परिवारमा त आर्थिक दायित्व नै लोग्नेले होइन स्वास्नीले वहन गरेको भेटिन्छ ्र यस्तो परिवारमा स्वास्नीको बर्चश्व हुनु स्वाभाविक हो । यदि लोग्नेस्वास्नी दूवै आर्थिक आर्जन गर्छन् भने स्वास्नीले आफ्नो कमाईलाई “पेवा“ र लोग्नेको कमाईलाई “साझा“ ठान्ने स्वास्नी मान्छे पनि छन् । अतः हरेक स्वास्नीले लोग्नेसंग आर्थिक सवालमा साझेदारी गर्नु र गर्ने प्रयत्न गर्नु स्वास्नीको असल गुण हो । नेपाली समाजमा कमाउने स्वास्नी र नकाउने लोग्ने हुँदा पारिवारिक सम्बन्ध विग्रेको देखिन्छ । यस्तो हुनुमा पुरुषमा “स्वास्नीको कमाइमा बाँच्नु पारेको“ भन्ने हीनताबोध र स्वास्नी मान्छेमा “निकम्मा लोग्ने“ भन्ने अहंले काम गरेको देखिन्छ । लोग्नेसंग सहकार्य, साझेदारी तथा सहयोग गर्ने स्वास्नीहरू असल मानिन्छन् ।

९. उपर्युक्त स्वास्नी मान्छेमा हुनु पर्ने असल गुणहरू बाहेक समानानुभूति, विश्वासिलो व्यबहार, लोग्नेका स–साना गल्तिहरूलाई क्षमा गर्दिने बानी, लोग्नेको पुरुषत्वको सम्मान गर्ने व्यबहार, मित्रतापूर्ण प्रस्तुति, प्रेमपूर्ण तर लजालु व्यबहार, परिपक्व भावनात्मक व्यबहार अर्थात् स–सानो कुरामा खुसी भए पनि गम्भीरतापूर्वक निर्णय गर्ने बानी, लोग्ने र लोग्नेको परिवारलाई सम्मान गर्ने, छोराछोरी वा परिवारका अन्य सदस्यहरूका विचा लोग्नेको ‘अमुक व्यबहार’को आलोचना नगर्ने तथा लोग्नेका काममा सहयोग गर्न तम्सिने गुणहरूले स्वास्नीलाई असल स्वास्नी बनाउँछ । स्वास्नी बन्न सजिलो छ तर असल स्वास्नी बन्न निकै मेहनत र त्याग गर्नुपर्छ ।

वैदिक संस्कृतिमा एउटी असल स्वास्नीलाई बात्सल्यामा आमाझैं, जिम्मेवारी वोधामा बाबुआमाझैं, रमाइलोमा साथीहरूझैं, सहयोगीमा दिदीवहिनीझै, आज्ञाकारीमा छोराछोरीझैं र सहयोगीमा भाग्यझैं स्वास्नी हुनुपर्छ भन्ने धारणा व्यक्त गरिएको छ । नेपाली समाजमा स्वास्नीलाई ‘घर–परिवार, बूढी, मायालु’जस्ता नामले लोग्नेहरूले सम्बोधन गर्छन् । यी सबै सम्बोधनमा स्वास्नीको गहन जिम्मेवारी तथा दायित्व लुकेको हुन्छ । समाजले पनि स्वास्नी नभएको अर्थात् अविवाहित पुरुष वा स्त्रीलाई अपूर्ण नै मान्छ र विवाह गरेपछि लोग्ने–स्वास्नी दूवै ‘परिवार’मा रुपान्तरित हुन्छन् ।

अन्त्यमा, केवल स्वास्नी मात्रै असल बन्ने प्रयत्न गरेर हुँदैन । लोग्नेमा पनि स्वास्नी तथा परिवारप्रतिको दायित्व उत्तिनै हुन्छ । असल स्वास्नी बन्ने महत्वकांक्षा राम्रो हो तर दुर्गुणले भरिएको, हिंसक, धूर्त तथा स्वास्नीको सम्मान गर्न नसक्ने लोग्नेसंग जीवन विताउने जिद्दी गर्नु पनि आत्मघाती हुन्छ । लोग्ने र स्वास्नी दूवैमा असल लोग्ने र स्वास्नी बन्ने चाहना हुनुपर्छ र त्यस्तो चाहना दूवैको व्यबहारमा देखिनु पर्छ । अनि बल्ल, परिवार सुखी हुन्छ । सुखी परिवारमा लोग्ने, स्वास्नी, केटाकेटी तथा परिवारका अन्य सदस्यहरू पनि खुसी हुन्छन् ।

तपाईंलाई अपर्णाको बुझाई कस्तो लाग्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, सहकारी बोर्ड खारेज

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले

गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ पक्राउ परेकी

आगामी माघ ४ गतेभित्र सहकारी समस्या समाधानका प्रगति विवरण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

  काठमाडौं । सर्वोच्च अदालतले सहकारीका समस्याहरू समाधान गर्न नेपाल सरकारका विभिन्न निकाय

कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउने तयारी

काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम