लोग्नेस्वास्नी र आत्महत्या
डा. गोविन्दशरण उपाध्याय ।
भारतमा सन् २०२३ मा १६४००३३ पुरुषहरूले आत्महत्या गरेका थिए ती सबैजसो पुरुषहरूको उमेर ३५–४५ रहेको थियो । सबैभन्दा महत्वपूर्ण तत्थ्य यी आत्महत्याहरू लोग्नेस्वास्नीका विचमा हुने झगडाका कारणले घटेका थिए । साथै, अनुसन्धानले आत्महत्या गर्ने पुरुषहरू आफ्नै श्रीमतीबाट प्रताडित थिए भन्ने पनि उजागर गरेको छ ।
उपर्युक्त घटनाले नेपाली लोग्नेस्वास्नीको सम्बन्ध विग्रंदो सम्बन्धलाई समेत प्रतिनिधित्व गर्न सक्छ । लोग्नेस्वास्नीले समय रहँदै आफ्ना आन्तरिक मतभेद, मनभेद तथा द्वन्दलाई बुझौं र समाधानका उपायहरू अबलम्बन गरौँ । लोग्नेस्वास्नीको ‘झगडा परालको आगो हो’ भन्दै वेवास्ता गर्ने जमाना छैन । दोषी को हो भन्नुभन्दा पनि ‘झैँझगडा’ चाहिं मुख्य कुरा हो । जब झगडाले अपमान, तिरस्कार, धाकधम्की, शारीरिक तथा मानसिक यातनाको रूप लिन्छ, मान्छेले जीवनलाई अध्यारो देख्छ । अनि, आत्महत्याको अप्रिय निर्णय गर्छ ।
नेपालमा भने धेरैजसो पुरुषले गर्ने आत्महत्याका घटनाहरूमा वैदेशिक रोजगारीका कारणले निम्तिने लोग्नेस्वास्नी विचको शंकालु विश्वास, आर्थिक स्वास्नीबाट आर्थिक हिनामिना वा पोइलाआदि प्रमुख रहेको अनौपचारिक रूपमा एकजना प्रहरी अधिकृतले बताएका छन् ।
शङ्का आफैमा आत्मघाती हुन्छ, त्यसमा पनि लोग्ने वा स्वास्नीले शंकालु व्यबहार छोड्न सकेनन् वा धाकछोप गर्ने प्रयत्न गरे भने यसले ठूलो विपत्ति निम्त्याउँछ । एकपटक निराशा तथा हीनताबोधमा परेपछि बाहिर निस्कन ज्यादै कठीन हुन्छ । त्यसैले लोग्नेले स्वास्नीको स्वास्नीले लोग्नेको मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्छ र एकआपसमा “शंकालु“ व्यबहार त्याग्नु पर्छ ।
यहाँ पुरुषको आत्महत्याका लागि महिलाहरूलाई दोषारोपण गर्न पटक्कै खोजेको होइन तर लोग्नेस्वास्नी दूवैले एकआपसमा पारदर्शी तथा विश्वासिलो सम्बन्ध स्थापित गर्न एकआपसी विश्वास बढाउनु पर्छ । निराशामा एकअर्काका सहयोगी बन्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘सम्बन्ध’का सवालमा इगो सबैभन्दा ठूलो शत्रु हो । जीवन र सम्बन्ध भन्दा शङ्कालु स्वभाव र इगो ठूलो होइन ।