मौलिकताको अप्रेसन



डा. गोविन्दशरण उपाध्याय ।
मौलिकता, रैथाने, मूलआदि शब्दहरू आजभोलि नेपाली संकथनमा निकै प्रचलनमा आउन थालेका छन् । माओवादीले बिद्रोह गर्दा उपर्युक्त शब्दहरू नेपालको इतिहास निर्माण गर्ने संस्कृति सभ्यतासंग जोडिए हेर्ने र बुझ्ने गरिन्थ्यो । माओवादीले ‘सांस्कृतिक क्रान्ति’ गरेर मौलिकताको नामोनिसान मेटाउने प्रतिज्ञा गरेका थिए । हुन त चीनमा पनि माओत्सेतुङ, रूसमा लेनीनआदिको नेतृत्वमा इतिहास मेट्ने निकै प्रयत्न भएको थियो तर आजको मितिमा यी दूवै देशले कोर्स परिवर्तन गरेर पुनः इतिहासतिर नै फर्केका छन् ।

मार्क्सवादी सिद्धान्त विरुद्ध आज विश्वभरी नै ‘पहिचान’का आवरणमा सम्बन्धित समुदायले आफ्नो रैथाने मौलिक परिचय खोज्दैछ । नेपालमा ‘वर्ग’मा विश्वास गर्ने र वैश्विकतहमा समाजवादको एकल राष्ट्र निर्माणको सपना देख्ने कम्युनिस्टहरू विभिन्न मनोवादी सिद्धान्तहरूको परिकल्पना गरेर ‘परिचयवाद’लाई मलजल गर्दैछन् । नेपालको परिचयवाद माओवादीले घोषणा गरेको सांस्कृतिक क्रान्तिको अवशेष हो भन्न सकिन्छ । आफ्नो क्रान्तिताका माओवादीले सांस्कृतिक क्रान्तिको विगुल केवल हिन्दु–संस्कृति विरुद्ध फुकेको थियो, इसाई, मुस्लिमआदि विरुद्ध होइन ।

जे–होस्, कोशी प्रदेशमा माओवादी पहिचानको पक्षमा उभिएर चिनिया मोडेलको सांस्कृतिक क्रान्तितिर फर्कन चाहेको जस्तो देखिन्छ । एउटा समुदायले आफ्नो मौलिक पहिचानको मांग राख्नु स्वाभाविक हो तर परिचयको मांग आफ्नै घर जोडिएको छिमेकीलाई घृणा गरेर हुन्छ भन्ने भाष्यचाहिं कसले दिमागमा प्रविष्ट गराएर मलजल गर्यो ? अनुसन्धानको विषय हो । राजनैतिक दलहरूलाई असजिलो परेको बेला अमेरिकी वा भारतीयआदिलाई दोष दिएर उम्कने स्वभावबाट नेपाली जनताले भ्याउनै पाउन सकेका छैनन् । यो अवस्था कहिलेसम्म रहने हो ? भन्न सकिन्न ।

पुनः रैथाने वा मौलिकताको प्रसंगमा फर्कौं । रैथाने वा मौलिक शब्दप्रति मोह हुनु र जीवनमा मौलिकता स्वीकार गरेर जीवन यापनको साध्य बनाउनु ज्यादै फरक तत्थ्य हुन् । उदाहरणका लागि जतिसुकै मौलिकताको कुरा गरे पनि आजको मितिमा ३० वर्षअधिको काठमाडौँ असम्भव विषय हो भने पृथ्वीनारायण कालीन मौलिकताको त परिकल्पना पनि गर्न सकिन्न । आजको कुनै पनि व्यक्तिले टेलिभिजन, मोबाइल वा विज्ञानले उपलब्ध गराएका साधनहरू परित्याग गरेर वि.स. २००० तिरको जीवनशैली अपनाउन सक्दैन । आजको लागि मौलिकता एउटा शास्त्रीय विषयवस्तु बनेको छ । आजको मितिमा मौलिकताको यत्तिमात्र अर्थ हो कि समुदायले आफ्नो भाषा, संस्कृति, भूगोलसहित सकेसम्म सम्मानजनक इतिहास जान्न चाहन्छ ।

सही र व्याबहारिक अर्थमा मौलिकता र रैथाने अवस्था फर्किने नसकिने मांग हुन् , मान्यता हुन् । मौलिकताको पक्षमा उभिंदा गौरवको अनुभूति भए पनि सम्बन्धित समुदाय वा व्यक्तिले मौलिकताका धेरै विषयवस्तुहरू, व्यबहारहरू स्वीकार गर्न सक्दैनन् र आजको सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनैतिक परिवेशमा ती मौलिकताहरू अस्वीकार्य है हुन्छन्। उदाहरणका लागि बालविवाह एउटा यस्तो मौलिक सामाजिक क्रियाकलप थियो जुन केवल ४० वर्ष अगाडिको नेपालमा त्यो सबै नेपालीहरूमा स्वीकार्य थियो । आज मानसिक रूपले कुनै पनि नेपाली त्यसमा फर्कन चाहन्न न राज्यको कानुनले त्यसो गर्न अनुमति नै दिन्छ । यस्ता असंख्य उदाहरणहरू छन् । आजको परिवेशमा असम्भव छन् ।

नेपालीको मौलो शब्दबाट मौलिक बनेको हो । पोखरीहरूको प्रयोग हुँदा पोखरीको माँझमा सालको अग्राखबाट बनेको एउटा थाम गाडिन्थ्यो । त्यसको शास्त्रीय मान्यतातिर नजाऔं तर यो मौलोले पृथ्वीको मध्यभागको प्रतिनिधित्व गरिरहेको हुन्थ्यो । सम्पूर्ण संसारनै तेसैको आश्रम हुन्छ भने अर्थ लाग्थ्यो । यसरी मौलिकताको अर्थ केन्द्र हो । बुद्धिजीवी तथा ज्ञानीहरूका लागि मौलिकताको अर्थ हो आफ्नो देश, संस्कृति तथा चिन्तनलाई प्राथमिकता दिएर अन्य सबैको सम्मान गर्नु । नेपाली संस्कृतिले हजारौं वर्षदेखि उपर्युक्त प्रतिमानलाई शब्दसः पालन गर्दै आएको छ । यो प्रतिमानलाई जीवन दर्शन बनाएर हरेक नेपालीले आफ्नो अस्तित्व जोगाएको हो ।

यदि आजको जस्तो घृणावादमा आधारित समावेशीकरणको अभ्यास हुन्थ्यो भने नेपालमा १३१ जातजाति र १३३ भाषाको अस्तित्व इरान, इराक, साउदी, क्यानडा, युएसएझैं इतिहासका गर्तमा हराई सक्थे वा अफगानिस्तानमा झैं कहिले नसुल्झिने “कौमी जिर्गा“ परिणित हुन्थ्यो । दुर्भाग्यवस्, आजको नेपाली पहिचानवाद घृणावादको विदेशी घोडा चढेर अफगानिस्तानतिर अगाडी बढ्दैछ कि भन्ने डर लागेको छ । असलमा, मौलिकताको अर्थ हो – आफ्नो धर्म, संस्कृति, सभ्यता तथा चिन्तनलाई माँझमा राखेर विश्वभरिका श्लील प्रतिमानहरूको स्वागत गर्नु । नेपाली संस्कृतिको निर्माणनै अरूलाई स्वीकार गर्ने प्रतिमानबाट भएको हुँदा अन्यलाई स्वीकार्न कुनै गाह्रो हुँदैन । समस्या नेपालीहरूसंग होइन ती विदेशी धार्मिक तथा राजनैतिक अनुयायीहरूसँग छ जसको सिद्धान्तमा बहुलतावाद सधैं अस्वीकार्य रहेको छ तर नेपाली राजनैतिक शक्तिहरूले नेपालको मौलिक सांस्कृतिक समूहसरह तिनलाई मान्यता दिने प्रतिबन्धता जनाउँछन् ।

हरेक राष्ट्रको पहिचान त्यस राष्ट्रका जनताले परपूर्वकालदेखि मान्दै, गर्दै आएका मानवीय गतिविधि नै हुन् । यदि कुनै राष्ट्र वा समाज वा व्यक्तिले आफ्नो मौलिकता अस्वीकार वा तिरस्कार गर्छ भने उसले आफ्नो राष्ट्रियतालाई अस्वीकार गरिरहेको छ । नेपालका हकमा हिन्दू, जैन, बौधम बोन्पो, किरातहरू मौलिक तथा रैथाने धर्म हुन् भने ती समूहले परापूर्वकालदेखि निर्माण गरेका ग्रन्थहरू, व्यबहारहरू, शैलीहरू, भाषाहरू पहिचान हुन् । यदि कसैले आफूलाई नेपाली भन्छ तर नेपाली प्रतिमानहरूलाई स्वीकार गर्दैन भने नागरिकताको खोस्टोले अधिकारप्राप्त गरेको विदेशी–आक्रमणकारी नै हो । देशमा यस्ता थुप्रै आक्रमणकारी छन् । ती आक्रमणकारीहरूको पहिचान नै घृणावादमा आधारित अन्ग्रेजियत हो ।
पुनः दोहोर्याएर भन्नैपर्छ कि आजको समाजमा पूर्ण रैथानेपन सम्भव छैन र भयो भने पनि त्यो ज्यादै अमिल्दो हुन्छ । तर आफ्नो मौलिक संस्कृति र प्रतिमानलाई केन्द्रविन्दू (जरोकिलो)का रूपमा स्वीकार गरेर नवीनतम संस्कृतिको पनि स्वाद लिन सकिन्छ । स्वदेशी मस्तिष्कभित्र अन्यलाई सजिलै स्वागत गर्न सकिन्छ । आफ्नो कुरा भन्न र देखाउन सकिन्छ भने अर्काको कुरा पनि सुन्न र बुझ्न सकिन्छ । स्वत्वको परित्याग गरेर विदेशी प्रतिमानको पछाडी कुद्नु सांस्कृतिक आत्महत्या हुने छ । यसै विषयलाई भगवान् श्रीकृष्णले “विदेशी दासता भन्दा स्वधर्ममा मृत्यु धेरै ठीक हुन्छ“ भन्दै अर्जुनलाई आफ्नो गुणधर्मअनुसार युद्ध वा सन्यास मध्ये एउटा रोज्न स्वतन्त्रता प्रदान गरेका थिए । आज हामी नेपालीहरूका अगाडी सम्पूर्ण विश्व उभिएको छ । हाम्रो बेडरूममा समेत विदेशीप्रतिमानहरूले प्रवेश बनाएका छन् । त्यसको प्रतिकार गर्नुको सट्टा आफ्ना मौलिकप्रतिमानहरू तेसै गरी हरेकको बेडरुमसम्म प्रवेश सुनिश्चित गर्नु हाम्रो कर्तव्य हुन्छ ।
स्वस्त्यस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी

भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथि एमालेले गर्यो कारबाही

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य

भावविह्वल बनेकी रेजिना भन्छिन्-बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, म उसकै मुखबाट सुन्न चाहन्छु

भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद