नेपाली जनतालाई अझ गरीब बनाएर विदेश पलायन गराउने रणनीति
डा. युवराज संग्रौला ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने खेल सोचे जति सामान्य छैन । नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न चौतर्फी रणनीतिहरु लागू गरिएका छन् । यस काममा कोही भुत र कोही देवता बनेर प्रस्तुत भएका छन् ।
१. पहिलो रणनीतिः नेपालको औद्योगिक पूँजी निर्माणलाई ध्वस्त पार्न, पैसाले पैसा कमाउने र उत्पादनलाई बिसर्जन गर्ने आर्थिक निति लागू गर्नु आधारभुत रणनीति हो । यसबाट ‘लम्पट वित्त पूँजींवाद’ लाई राष्ट्रिय अर्थतन्त्रको रुपमा प्रस्तुत गरिएको छ।
२. दोस्रो रणनीतिः सबै वित्तिय संस्थाहरु (बैंक र बीमा तथा सहकारी) केही व्यापारी घरानाको हातमा पुर्याउने नियोजि खेल खेलियो । आज ११ वटा बैंक, दर्जनौ वित्तिय संस्था र सहकारी यीनकै हातमा छ । यस्ता बैंकबाट ऋण लिने ८०० उद्यमी छन् । त्यसमध्येका १०० जनाले ८० प्रतीशत वित्त आफ्नो नियन्त्रणमा राखेका छन् । यो ८० प्रतिशत को ९०% अंश ११ जना घरानाको हातमा छ र त्यसमध्येका ९ जनाले ११ वटा बैंक, एकाध बाहेक सबै बीमा, पुनर्बिमा र आयात निर्यात, ढुवानी कम्पनी आफ्नो हातमा राखेका छन् ।
३. तेस्रो रणनीतिः प्रज्ञापनपत्रको म्यानिपुलेसन गर्न सहयोग गर्ने वकिल र चार्टर एकाउन्टेन्टको गिरोह छ । यसले सामान नल्याइ प्रज्ञापनपत्र स्वीकृत गराउँदै नेपालको विदेशी मुद्रा विदेश लगिरहेको छ र राष्ट्रको स्वीकृति बिना विदेशमा लगानी गरिएको छ । अक्सफामको प्रतिवेदनले ‘एकजना व्यक्तिले २०२२ मा २०० मिलियन डलर कमाएको तर त्यसको स्रोत नखुलेको देखाएको छ।’सरकार यस्तो आम्दानीको श्रोत खोज्ने पक्षमा देखिंदैन ।
४. चौथो रणनीतिः राष्ट्र बैंकले ल्याएको बैंक मर्जरको नीतिले सामान्य मानिसलाई ऋण दिने साना बैंकको अस्तित्व समाप्त गरि यिनै ११ जनाको हालिमुहाली कायम गरिदियो । लघुवित्त मार्फत स्थानीय जनताको सबै आम्दानी सोर्यो ।
५. पाँचौ रणनीतिः जग्गामा कब्जा यी बैंकर्सहरुको एउटा योजना हो । किसानलाई उत्पादनबाट विस्थापित गरि नेपालीलाई विदेशी खानाका उपभोक्ता बनाउनु यिनको उद्देश्य हो । यी ११ जनाले बैंकबाट कर्जा लिँदा दिने जग्गाको व्यवस्था गरेका छन् । काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोटका किसानका हजारौं रोपनी जग्गा यिनीहरुले किनेका छन् र कोलेटरमा प्रयोग गरेका छन्, अधिक मूल्यांकन गराएर ।
६. छैटौं रणनीतिः काठमाडौमा सानो व्यवसाय गर्ने ७० हजार मानिस विस्थापित भएका छन् र, काठमाडौका घरहरूमा भाडा बस्ने मानिस छैनन् । यिनका आम्दानीले चलेका साना सहकारी बन्द भएका छन् ।
७. आठौ रणनीतिः अधिकांश लगानी जग्गा प्लटिङ्ग र अपार्टमेन्ट तथा लागू पदार्थ र सुन तस्करीमा प्रयोग भएको छ। देशका पुराना उद्यम र उद्योग चलाउने देशभक्त घरानाहरु विस्थापित भएका छन् । व्यापार र साना उद्यम विदेशीका हातमा पुगेको छ । देशबासी रैथाने ब्यवसायी र लगानीकर्ता हुर्किरहेका स्कुल, होटेल, ट्रेकिङ जस्ता क्षेत्र यिनै ९ जनाको अधीन स्थापित भएको छ ।
प्लाष्टिक, सिमेन्ट र रड उत्पादनमा संलग्न भएका देशभक्त लगानीकर्ताहरु विस्थापित भएका छन् । नेपालको अर्थतन्त्र ध्वस्त पारेर नेपालको राज्य व्यवस्थालाई ‘राजनीति, अर्थतन्त्र, प्रसाशन र न्याय व्यवस्था’ का क्षेत्रमा ‘आत्मनिर्णयको अधिकार प्रयोग गर्न नसक्ने बनाउनु र नेपाली जनतालाई अझ गरीब बनाएर विदेश पलायन गराउनु’ यी रणनीतिको मुख्य धेय हो । यो धेय वर्तमान बदलिंदो भूराजनीतिसँग जोडिएको छ। तर युवाहरूको ठूलो संख्या ‘भ्रम’को राजनीति गरिरहेको छ। यसले भूतलाई देवता देखिरहेको छ। बुद्धिजिवीको हैसियत त विश्वविद्यालयको अवस्थाले देखाएकै छ । राज्य मस्त छ । संकिर्ण कर्मचारीतन्त्र जनतालाई दुःख दिन नै व्यस्त छ। घोकेर योग्यता प्रमाणित गर्ने बहुसंख्यक कर्मचारीले राष्ट्रिय स्वार्थको रक्षा गर्दो रहेनछ । विचारहिन दलले राज्य चलाउन सक्दो रहेनछ ।