हाम्रोमा यस्तो कहिले हुने ?
नारायण गाउँले ।
दशैँ–तिहार जस्ता चाडबाड़ आउने बित्तिकै चिनी नपाइने, तेल, मसला र खाद्यान्नको भाउ आकाशिने गरेको देख्नुभएकै छ । तर, बेलायतमा ठ्याक्क उल्टो हुन्छ । क्रिसमस यहाँको सबैभन्दा ठूलो र रङ्गीन चाड हो । हाम्रो दशैँतिहार जस्तै वर्षकै सबैभन्दा बढी किनमेल हुने सिजन पनि हो । तर माग बढ्दै गर्दा मूल्य बढ्नै पर्ने बजारशास्त्रको नियम या नाफाखोरीको सूत्र यहाँ लागू हुँदैन । चाडबाडको मुखमा खाद्यान्नदेखि तरकारी र लत्ताकपड़ा सबैमा ‘सेल’ र छूट त सामान्य नै भयो, अति न्यून आय भएकाले समेत क्रिसमस रमाइलो गरी मनाउन सकून् भनेर यहाँका सबैजसो सुपरमार्केटले कम्तिमा पाँच थरी तरकारीलाई हप्तादिनभरि लागतभन्दा धेरै कम मूल्यमा बेच्ने व्यवस्था गर्दै आएका छन् ।
आलु यहाँको मुख्य खाद्य उत्पादन हो र तुलनात्मक रूपमा सस्तै हुन्छ तर यो हप्ता तपाईंले १५ पेन्स अर्थात् नेपाली २५ रुपियाँमा एक धार्नी आलु किन्न सक्नुहुन्छ । यो १० रुपियाँ किलो हो । स्मरण रहोस्, बेलायतमा आलु उत्पादन हुने सिजन होइन यो । र, सिजनमै पनि एक धार्नी आलुको मूल्य १६० रुपियाँभन्दा माथि हुन्छ । धोइपखाली गरेर, प्लास्टिकमा प्याक गरिएको दागरहित आलु १० रुपियाँ किलोमा बेचेर नेपालमैं पनि लागत उठ्दैन । एउटा प्लास्टिक झोलालाई ३० पेन्स तिर्नुपर्ने सुपरमार्केटमा १५ पेन्समा तपाईंले एक किलो गाजर किन्न सक्नुहुन्छ । यो यहाँका लागि निःशुल्क जस्तै हो ।
हरेक वर्ष क्रिसमस चाडसँग जोडि़एका आलु, गाजर, शलगम, काउली र प्याज जस्ता पाँच–छ थरी ताजा सागसब्जीहरूलाई सुपरमार्केटले अति–न्यून मूल्यमा उपलब्ध गराउने गरेका छन् । यसका लागि उनीहरूले वर्षभरिको नाफाबाट केही रकम सामाजिक उत्तरदायित्व जस्ता शीर्षकमा छुट्याउँछन् र अत्यावश्यक खाद्यान्नमा अनुदानका रूपमा प्रयोग गर्छन् । यसमा हुन आउने घाटा ’नन–फुड’ वस्तुको बिक्रीमा हुने फाइदाले पनि कभर गर्छ । गतवर्ष यस्ता पाँच थरी वस्तुको मूल्य २९ पेन्स तोकिएको थियो । अहिले मूल्यवृद्धि भएको र जनजीवन कष्टकर बनेको हुनाले त्यसको पनि आधा मूल्य अर्थात् १५ पेन्समैं उपलब्ध गराइएको छ ।
आफ्नै झोला बोकेर जानुभयो भने एक पाउण्ड अर्थात् १६८ रुपियाँमा तपाईंले एक किलो धोएर राखेको गाजर, एक धार्नी सफा र प्याक गरिएको आलु, एक किलो शलगम, एक–एक प्याकेट प्याज, ब्रसेल्स स्प्राउट र पार्सनिपजस्ता ४–५ किलो तरकारी बेकेर फर्किन सक्नुहुन्छ । अझै १५–१६ रुपियाँ त बाँकी नै रहन्छ । हामी पनि कागजमा त समाजवाद उन्मुख लोकतन्त्र भएको देश हौं । कृषिप्रधान देश पनि हौं । झन्डै ६२ प्रतिशत रोजगारी कृषि क्षेत्रले दिने रहेछ, र लेबर कस्ट पनि सस्तै छ । तर दूधदेखि तेल र प्याजदेखि आलुसम्म युरोपभन्दा महँगोमा किन्न बाध्य छौं । गुणस्तर त टाढाको कुरो भयो, चाडवाड आएपछि त्यही मूल्यमा किन्छु भन्दा पनि नपाइने अवस्था छ । एक पल्टको समस्या पनि होइन । हरेक वर्ष धान रोप्ने बेला मल नपाइने र तिहारको रोटी पकाउने बेला चिनी नपाइने त क्रोनिक समस्या नै हो !
नीतिनियम बनाउने सरकार कस्तो छ भन्न परेन । संसद बन्द छ । सांसदहरू कानुन बनाउने र सरकारलाई सजग बनाउने काम छोडेर अहिलेदेखि देशविदेश चुनाव प्रचारमा जुटेका छन् । चल्दा पनि हाजिर गर्यो, भाषण गर्न गयो जस्तै छ । तलबभत्ता पाकेकै छ । कर्मचारीको कुरो के गर्नु ? हामी व्यापारी र जनता पनि सकेको चुस्ने भन्ने सोचमा छौं जस्तो लाग्छ ।
काम पो कसले किन गर्नु ? आखिर तेल–चिनी, तरकारी, पिठो र चामल जस्ता आम जनजीवनका मुद्दाले चुनाव जितिन्न । एक दिन राष्ट्रियताको चर्को भाषण गरेर राष्ट्रिय झण्डाको बर्को ओढ्यो भने पुग्यो । कसले पाँच वर्ष मिहिनेत गरोस् ?