‘बिहे पश्चात कि कुमारी’
अन्जु शर्मा
‘प्रकृतिले सबैलाई समान नजरले हेर्छिन् भन्थे ! खै त्यो पनि मिथ्या नै लाग्न थाल्यो। उबेला हाम्रा बाले भन्नुहुन्थ्यो –’कसैले हेलाँहोचो गरेर केही फरक पर्दैन नानी ! प्रकृतिले समान माया गर्छिन् ।’ तर मलाई यी सब कुरा बेकार लाग्छ । उबेलाकै कुरा हो ।जब मेरा लागि बरियात लिएर मेरा दुलाहा घोडामा सवार भएर, जन्तीको लर्को सँगै मेरो जन्म घरतर्फ आउँदै गर्दा, तलामाथि भएको खोपीको खाट नजिकै रहेको आँखी झ्यालबाट घरिघरि चियाएर हेर्दा कम्ता मजा आउँदैन थियो बाबै!! हनतः राम्रा पनि अलिअलिका हुन् र..!! त्यस्तै सत्र /अठारका हुँदा हुन्, गोरो अनुहारमा जुँगाका रेखी, सुडुलो शरीरमा लवेदासुरूवाल,शिरमा ढाका टोपी, कम्मरमा पटुकीमाथी सिरूपाते खुकुरी आहा ! हुनतः मेरो उमेर पनि सोह्र/सत्र कै थियो रे ! आमाले भन्नुभा ।
म एकटकले दुलाहालाई हेर्न ब्यस्त भएछु, तब न कान्छी फूपुले हैट मोरी ! दुलही भएको बेला त लजाएर पो बस्न पर्छ यसरी आँखा नझिम्कियाइकन दुलाहालाई हेर्ने हो र ? भन्दा त झसङ्गै भाथिएँ । उबेलाको चलन पनि कस्तो अचम्मको हो कुन्नि ? केटाकेटी बोल्ने हाँस्ने त परको कुरा आँखा समेत जुधाउन नहुने । बात लगाइदिपो हाल्थे । समाजिक अपहेलनाको डर एकातिर थियोे भने बाआमाको इज्जत अर्कोतिर । त्यसैले हुनेवाला दुलाहाको बारेमा अनविज्ञ हुनपर्ने । यस्ता राम्रा दुलाहासँग के बोल्ने ? कसरी बोल्ने ? मनमा खसखस हुँदै थियो उता जग्गे शुरू भैसकेछ । जग्गेमा के के भयो त्यसको राम्रो जानकारी भने छैन । तर पण्डितले दुलहीलाई ठाउँ सार्ने बेला भयो भन्दा विचरा मेरा दुलाहाले सकिनसकी बोक्याथे । जन्ती लगायतका रमितेले ल क्या जुरुक्क उचालेको भन्दै हाँस्नमा ब्यस्त भए । मलाई भने उनको स्पर्शले कताकता जीउनै सिरिङ्ग बनायो ।
कति छिटो उज्यालो भैसकेछ । बेउली अन्माउन हतारो गरे । आमा पटुकाको सप्कोले आँसु पुछ्दै रून थालिन् । मलाई पटक्कै आँसु आएन । पातिएकी बेहुली भन्लान् भन्ने डरले घ्वाप्प घुम्टोले मुख छोपेर निगुरी मुन्टी न जस्तै गरि बसें । दुलाहाको घर पुग्दा ठूलो साँझ परिसकेको थियो । केही क्षणमै भित्राउने काम पूरा भयो । हाम्रा लागि भण्डार नजिकैको कोठा हस्तान्तरण गर्दै सासुआमाले ‘ आगे साल यिनदिन सम्म नाति खेलाउन पाइयोस् ‘भनेर ड्याम्म ढोका लगाइदिनुभयो । अब म दुलाहासँग एकदमै नजिक र एक्लै थिएँ । म माथि लाग्ने सामाजिक बन्धन पुरै हटिसकेको थियो । त्यसैले दुलाहाको अँगालोमा बेरिएर सुत्न मन लाग्यो । अफसोच साह्रै गलेको बाहाना बनाएर दुलाहा अर्कोतर्फ फर्केर निदाए । त्यो रात कम्ती औडाहाले बितेको हैन । ओल्टेकोल्टे फर्कदा ननिदाइ पो उज्यालो भएछ।
दिनहरू बित्दै गए । कयौं संभोगका प्रयासहरू असफल हुँदै गए । दुलाहामा कुनै परिवर्तन आएन । बिहे गरेको ठ्याक्कै दुई पुगेर तीन बर्ष लागेछ । मेरो मासिक धर्म नरोकिए पछि घर र माइती तर्फकाले चिन्ता गर्नु स्वभाविक नै थियो । एकदिन सासूआमाले “ नातिको मुख नहेरी मर्ने भएँं“ भनेर गुनासो गर्नुभयो । तपाईंको छोरा स्वयं नाति जस्तो हुनुहुन्छ भन्न मन लागेको थियो । के गर्नु ! फेरि कस्ता कि छोरी रैछ चोथाले भन्लान् भन्ने डरले चुप नै लागेर बसें ।
दिनानुदिन मन भारी हुँदै थियो । एकदिन माइती जाँदा आमाले ‘नानी यतिका बर्ष भयो ,सन्तान भएका छैनन् । सन्तान नहुन्जेल छोरीको घर पक्का हुँदैन भन्छन् । अब त ज्वाईंको उमेर पनि छिपिदै गयो’भन्नुभयो । मलाई कम्ता रिस उठेको हैन ‘तपाईंका ज्वाईंको मुख छिपिएर क्यार्नु ? छिपिने कुरा छिपिएको छैन भन्दिहालें । आमा लजाउँदै ‘ ए ! नानी के भन्छे ? अलिक विस्तारै बोल, बाले थाहा पाउलान् “भन्नुभयो । म पनि के कम ‘पहिले नै थाहा पाउनुपर्ने कुरा थियो ‘। झर्किएर बारीतिर लागें ।
धन सम्पति, रूप, आनिबनी सबैथोकले भरिपूर्ण केटा भन्थे । भगवानले सबै कुरा दिएछन् तर त्यहीँ एउटा कुरा रोकिदिएछन् र त्यसैको पीडा छ मलाई । अहिलेसम्म कुमारी नै छु बच्चा कहाँबाट हुन्छन् ? भन्नेहरू भन्ने गर्थे ‘संसारको साह्रो ढुङ्गा हो, त्यो भन्दा साह्रो गरिबी हो । तर मेरो विचारमा नपुंसकता सबैभन्दा साह्रो चीज रहेछ । प्राकृत कुरा हो भोक भोग दुबै बराबर चाहिन्छ रे । तर के गर्नु र ठूली ? ‘जोसमा नपाएको पोइ र होसमा नपाएको मोही भनेको त लगन पछिको पोते जस्तै हो ।’ फूलमाया दिदीले लामो श्वास तान्दै आफ्नो जीवन कहानी सुनाउनुभयो । उहाँको कुराले मेरो गला अवरुद्ध भयो । कुनै सहानुभूतिका शब्द निक्लेनन् । केवल आँसु मात्रै झरिरहे ।