दोष व्यवस्थामा छ, व्यक्तिमा होइन
केशवप्रसाद भट्टराई ।
१. मुलुकको शान्ति, स्थिरता र समृद्धिको बाटो राजनीतिक, सामाजिक र आर्थिक सवालमा नरम दक्षिण पन्थ वा संवर्धनवाद र परराष्ट्र नीतिमा Realism अर्थात् यथार्थवाद मात्रै हो भन्ने मलाई लाग्दछ । ‘तँलाई लागेर के हुन्छ?’ भन्नुहुन्छ भने स्वीकार गर्छु , हो मलाई लागेर केही हुन्न । कसले सुन्छ ? भन्नुहुन्छ भने पनि स्वीकार गर्छु –मेरा कुरा सुन्नुपर्ने कसैले सुन्दैनन् । नसुनुन् , तर आफ्नो ब्रह्मले देखेको कुरा भन्नु मेरो नागरिक धर्म हो ।
२. देशका सर्वशक्तिमान मालिक त्रिपुरासुरहरू हुन् र उनीहरूले नचाहेसम्म मुलुकमा पात पनि हल्लिन्न । तर मुलुकमा एकता, स्थिरता ,विकास र समृद्धिको मार्गको पनि सिन्को नभाचिएला । गएको डेढ दशकमा दुइ चार हजारलाई रोजगारी दिने कति वटा उद्योग खोल्यौँ हामीले ?
३. सरकारी मेडिकल कलेजको भन्दा पनि गतिलो पूर्वाधार निर्माण गर्दा पनि मनमोहन मेडिकल कलेज र दुर्गा प्रसाईको कलेजले किन स्वीकृति पाएनन् ? कसैले नयाँ इन्जिनियरिङ कलेज खोल्न किन पाउन्न ? त्रिभुवन विश्व विद्यालयका एक उपकुलपतिले झन्डै आफ्नो पूर्ण कार्यकाल कार्यालयमा बसेर काम गर्न पाएनन् । कसैले राजनीतिको नाउँमा कुनै उद्योग , व्यापार र व्यवशायिक प्रतिष्ठानमा वम पड्काउन पाउँछ र उसलाई राज्यले दण्ड दिन सक्दैन । यही होइन हाम्रो व्यवस्था र कानुनको शासन ?
४. कानुनले तोकेको शर्त पुरा गरेपछि जो कसैले कुनै मन्त्री, दलका नाइके वा कुनै दलाललाई दुई पैसा पनि नतिरिकन, कसैको ढोका ढोका नचाहरिकन, सम्बन्धित निकायमा विवरण भरेर पठाएको २४ घन्टा भित्र जुनसुकै उद्योग र व्यवशाय संचालनको अनुमति देउ त अनि पो देश र विदेशबाट उद्यमी र व्यवशायीहरू लगानी गर्न आउँछन् । तिम्रो उद्योग र व्यवसायमा कुनै संगठन वा समूहले राजनीतिक गुण्डागर्दी गर्न आउन दिन्न, कथं त्यस्तो केही भयो भने एक साता भित्र क्षतिपूर्ति दिन्छु भनेर राज्यले कानुनी रूपमानै प्रतिवद्धता दिन सक्छ ?
५. यो संविधान अनुसारको राज्य व्यवस्थाले त्यो सक्दैन । दोष व्यवस्थामा छ, व्यक्तिमा होइन । व्यक्तिलाई बलियो राज्य र कानुनी व्यवस्थाले अनुशासित , मर्यादित र कानुनको पालक बनाउने हो, उसको स्वेच्छामा छोडिदिने हो, कानुनले नबाँध्ने हो भने हरेक व्यक्ति छाडा हुन्छ । अराजक हुन्छ ।