ठालूहरुको निरंकुश अधिनायकवादी शैली र चरित्र सपार्नु अहिलेको मूख्य चुनौती हो
सुवोधराज प्याकुरेल ।
नेपालमा गणतन्त्र पश्चात आर्थिक सामाजिक साँस्कृतिक सबै क्षेत्रमा धेरै प्रगति भएको छ । तर भ्रम त्यसको दोब्बर परिणाममा बढेको छ । कारण के होला ?
१. आधारभूत तहमा छलफल गरेर योजना र कार्यक्रम छनौट गर्ने र त्यसलाई जिल्ला विकास समितिले अनुमोदन गर्ने प्रणालीलाई बहुदल पछिको गणतान्त्रिक हुल्लडहरुले खारेज गरे । नेताका हुकुमी छनौट प्रणाली स्थापित भयो । जनता पनि देखासिकीमा अराजक भए । विकासका काममा अवरोध गरेर बढीभन्दा बढी हर्जाना असुल्ने मनोरोग झ्याङ्गियो ।
२. भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीलाई अधिकार दिने, विवेकशील कर्मलाई स्वायत्तता दिने, नतिजालाई मूख्य आधार मानेर मूल्यांकन गर्ने र कार्यको मूल्यांकनमा सेवाग्राहीको सङ्लग्नता हुने प्रवन्ध गर्नुको सट्टा कानुनमाथि कानुन, नियममाथि नियम र विनियमको उपरीमाथि थपिदिएर सार्वजनिक प्रशासनलाई क्लिष्ट लम्पट बनाइयो ।
३. राज्यको अर्जुनदृष्टि नागरिकलाई आत्मनिर्भर, सचेत, संगठित, नेतृत्वदायी र मर्यादित बनाउनेमा हुनुपर्ने । तर दलहरु लोभ्याएर ललचाएर वा जसरी भएपनि भीडलाई आकर्षित गर्नमा लागे । अनि सारा ठालू सबै संरचना अल्पकालीन लक्ष्यमा अंधकूप यात्रातर्फ दगुर्न थाल्यो । समर्थकहरु जसले ठूलो भाग देखाउँछ त्यतै कुद्दो भए ।
४. चर्को स्वरले अथवा अनन्य भक्तिभावले नेता/हाकिमलाई थर्काएर वा मन पगालेर स्वार्थपूर्ति गर्ने मानसिकता आजको नेपालको विद्रुप प्रवृत्ति बन्यो । खतरा यो छ कि यस्तो प्रवृतिले संस्कारको स्वरुप ग्रहण गर्नुअघि त्यसको समूल उपचार अत्यावश्यक छ ।
५. पढ्न बुझ्न नपर्ने, आलोचना सुन्न नहुने, हुकुम र निर्देशन जारी गरेरमात्र ठूलो बनिने, विनयशीलता चाहिँदै नचाहिने, तर्कले विचारलाई र विचारले व्यवहारलाई स्थापित गर्नै नपर्ने, कि तँ छैन कि म छैन को मनोदशा सहित व्यक्ति व्यक्तिलाई ताछ्दै हिँड्ने ठालूहरुको निरंकुश अधिनायकवादी शैली र चरित्र सपार्नु अहिलेको मूख्य चुनौती हो ।
उल्लिखित ५ बुँदा गलत थिए भने अहिले जस्तो कुनै तिलस्मी कथाका भरमा र हुँदाहुँदा राजतन्त्र जस्तो दुर्दान्त निरंकुशताको आशामा भरमार मानिस सडकमा कुर्लिने थिएनन् ।