शिक्षकलाई मजाक बनाउनु भनेको हाम्रो सिङ्गो नयाँ पुस्ताको मजाक उडाउनु जस्तै हो
नारायण गाउँले ।
शिक्षकहरूले शहरको हरियाली, बोटबिरुवा र सौन्दर्य ध्वस्त पारे भन्ने प्रमाणका लागि यो फोटो पेस गरेको देखियो । तर, यहाँ त्यस्तो उपद्रव के भएको छ भन्ने बुझ्न सकिएन । बाटाको डिलमा–पेटीमा आन्दोलनका लागि जम्मा भएका हजारौं शिक्षक उभिएका छन्, बसेका छन् र त्यसको असरले घाँस लडेको छ । त्यत्ति न हो ! मान्छे बसेपछि हिँडेपछि पार्कमा पनि घाँस एक्छिन यसै गरी लड्छ ।
घाँस उखेलिएको छैन । कोही नबसेको भए पनि सामान्य हावापानीले लड्ने गरी घाँस हर्लक्क बढेको देखिन्छ । घाँस लगाएपछि समयसमयमा काट्ने गरेको भए शायद यत्ति फोटो पनि खिचिरहनुपर्दैनथ्यो । एक झर पानी परेपछि यो घाँस आफैं उठ्छ । रेलिंग भत्काए होलान्, टायर जलाएर हावा प्रदूषित बनाए होलान्, एम्बुलेन्स र निजी सवारी साधन रोकेर शिशा फुटाए होलान्, मोटरसाइकल या राँके जुलुश निकालेर सड़क धुवाँधुवाँ बनाए होलान्, फूलका गमला र बिरुवा उखेलेर बाग्मतीमा बगाए होलान् या सार्वजनिक सम्पत्तिमा आगो लगाए होलान् र विरोध भयो होला भनेको त घाँसमाथि एक्छिन थचक्क बसेछन् र घाँस खुम्चिएछ । यत्तिमैं तिनलाई हाम्रो सहरी सभ्यता र सौन्दर्य विनाश गरेको महापाप लाग्ने भएछ ।
विश्वमा अन्यत्र पनि यस्ता घाँस र घाँसे पार्क हुन्छन् । मान्छे बस्छन्, हिँड्छन् । खुम्चिन्छ । शहरमा दुई तलामाथि जन्मे हुर्केका एकदुई जनाबाहेक हामी सबै यसै गरी घाँसमा बस्दै, खेल्दै र मडारिँदै हुर्किएका हौं । एकदुई जना उपल्लो दर्जाका सहरियाबाहेक हामी सबै पापी हौं । आज पनि हरियो चौर या पार्क देख्यो कि टुसुक्क बस्न मन लाग्छ ।
सुन्दर शहरमा यस्तो हरियो घाँस भएका दर्जनौं पार्क र मैदान हुनुपर्ने हो । खाली ठाउँ र चौर हुनुपर्ने हो । ट्राफिक आइल्याण्डहरु हुनुपर्ने हो । १०–२० हजार मान्छे जम्मा भएर विरोध या आन्दोलन गर्ने हरियो ठाउँ पनि हामीले छोडेका छैनौं । खुला र स्वच्छ सास फेर्ने खुला ठाउँसम्म नभएको हाम्रो शहर छ । न पर्याप्त शौचालय, न पर्याप्त पिउने पानी, न फोहोर फाल्ने बिनहरू, न उभिएर गफ गर्ने ठाउँ, न घाम र पानीसँग ओतिन मिल्ने रूख र प्रतीक्षालय…कति नै सुन्दर थियो र हाम्रो शहर जसलाई आज शिक्षकहरूले कुरूप बनाए भन्नु ! केही हजार शिक्षक राजधानी आएर एक्छिन टुचुक्क बस्दा भत्किने सौन्दर्य पनि सौन्दर्य हुन्छ र !
शिक्षकका माग, आन्दोलन र औचित्यबारे बहस गर्न सकिएला । पक्ष विपक्षमा मत राख्न सकिएला । विश्वका सबै जसो प्रजातान्त्रिक मुलुकमा पेशागत हकहितका लागि आन्दोलन गर्न पाइन्छ र हुने गरेको छ । एकै पटक विद्यालय बन्द भन्ने निर्णय पक्कै भएन होला । तिनले माग, ज्ञापनपत्र, अल्टिमेटम, दबाब सबै चरण पार गरेर अन्तिममा यस्तो निर्णय लिएका पनि त हुन सक्छन् । शिक्षकका माग र आन्दोलन गलत छन् भने देशविदेश र संविधानका सन्दर्भ र उदाहरण दिएर विरोध गरौँ । सही छन् भने तिनलाई साथ र शासकलाई दबाब दिऔँ । शासनमैं बस्नेहरू त अझ जिम्मेबार बनौँ ! तर, कृपया यस्तो निम्नस्तरको खिसिट्यूरीमा नरमाऔँ ! शिक्षकलाई मजाक बनाउनु भनेको हाम्रो सिङ्गो नयाँ पुस्ताको मजाक उडाउनु जस्तै हो !