दलको नाममा निर्वाचित व्यक्ति कसरी शिक्षकको मालिक हुन सक्छ ?
डा. युवराज संग्रौला ।
शिक्षाको प्राण शिक्षालयको स्वायत्ततामा हुन्छ । तर आज, राजनीति दलको झण्डा बोक्ने प्रतिनिधिका अगाडि एउटा शिक्षकले अफ्नो ‘काम, सुविधा र कर्तव्य’ प्रति याचना गर्नुपर्ने अवस्था छ ।
१. दलको नाममा निर्वाचित व्यक्ति कसरी शिक्षकको मालिक हुन सक्छ ? शिक्षकको प्राज्ञिक स्वतन्त्रता हुन्छ । शिक्षकलाई दास बनाएर शिक्षाको विकास हुँदैन।
२. राज्यलाई कस्तो शिक्षा चाहिएको हो भन्ने तय गर । चाहिएको शिक्षाको पाठ्यक्रम निर्धारण गर । पुस्तक तयार पार । अनि पठनपाठन गर । शिक्षकलाई तलब देउ । उसले पढाएको उसको प्रधानाध्यापकले अनुगमन गर्छ । प्रधानाध्यापकको अनुगमन गर्ने शिक्षाविदको व्यवस्था गर । शिक्षकको मालिक वडाध्यक्ष हुन सक्तैन ।
३. तिम्रो शिक्षा उपनिवेशी सोचले ग्रस्त छ। यसले युरोप र अमेरिकाको बारेमा सिकाउँछ, नेपालका बारेमा होइन । यसले हाम्रो अनुहार नेपाली राख्छ, तर हाम्रो मति युरोपेली बनाउँछ । यसले भन्छ, ‘कोलम्बसले अमेरिका पत्ता लगाए । अर्का घरमा गएर यो घर मैले पत्ता लगाएँ, यो घरको मालिक म हुँ भन्न पाइन्छ?’ हाम्रो शिक्षा ‘कोलो–टेमप्लेट’ हो– कोलोनाइजरहरुले बनाइदिएको एउटा ढाँचा छ । त्यही पढाइ हुन्छ ।
४. सरकारले शिक्षकलाइ सिर्जनशील विज्ञ बनाउन खोजेको हो वा सरकारको सिपाही ?
आज शिक्षक सिपाही बन्न इन्कार गर्दैछन् । उनीहरुले ठिक गरेका छन् । तर शिक्षकका नाममा पार्टीको झण्डा बोक्ने रिति बन्द हुनुपर्छ ।
क. शिक्षकलाई श्रष्टा बनाउ, सम्मान गर । उसलाई उत्कृष्ट बन्न सहयोग गर । अनुसन्धान गर्ने अवसर र वृत्ति देउ । नोकर नबनाउ ।
ख. हजुरबुबा जस्तो बूढो शिक्षकलाई एउटा कार्यकर्ताका अगाडि जम्लाहात गरेर सरुवाको याचना गर्ने निरीह नबनाउ ।
ग. भविष्यको नेता आजको शिक्षकको मेहनतबाट जन्मिन्छ। त्यो महान व्यक्तिलाई राजनीतिको गोठालो नबनाउ ।
घ. हरेक शिक्षक बदमास छ भन्ने मनोविज्ञानबाट कानुन नबनाउ । हरेक शिक्षक योग्य छ तर उसले अब्बल बन्ने अवसर पाएको छैन भनेर कानुन बनाउ ।
तत्काल कुरा गर, र समाधान खोज । ज्यादती नगर । यदि शिक्षकहरू माथी बल प्रयोग भयो, अपमान गरियो भने हामीजस्ताले पनि सडक रोज्नुपर्ने हुन्छ ।