सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन्



नारायण गाउँले ।
बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुसीसाथ बनाएका होइनन् । सरकारी प्रयोजनका गाड़ी पिकनिकदेखि बिहे र पारिवारिक भ्रमणदेखि नाइटक्लबसम्मका व्यक्तिगत प्रयोजनमा अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक जनविरोध र गाडी नै तोडफोड भएपछि बाध्य भएर यस्तो नियम ल्याइएको हो । अत्यावश्यक कामका लागि चलाउनु परे पास लिनुपर्ने व्यवस्था गरिएको छ । र, पनि दुरुपयोग रोकिएको छैन । फेरि गाडी चढ्नेहरू प्रायः उपल्लो ओहदाको हुने र धेरै केरकार गर्दा आफ्नो जागिर चट हुनसक्ने डरले पनि सामान्य सोधपुछको औपचारिकतापछि ट्राफिक प्रहरीले त्यस्तो गाड़ी छोडिदिने गरेका छन् । तर पनि पास लिनुपर्ने र चेकजाँचमा परिने डरले दुरुपयोग अलिकति कम भएको छ र वास्तवमैं चलाउनुपर्नेहरूलाई अलिकति अप्ठेरो समेत भएको छ । दुरुपयोग यतिसम्म छ कि साइरन बजाउँदै कुदेका एम्बुलेन्समा समेत बिरामी नभएर यात्री भएका घटना भेटिन्छन् । सरकारी विभाग र योजनाका गाडी आसेपासे र आफन्तका कब्जामा छन् ।

काठमाडौं महानगरको सरकारी गाडी पनि शनिबारका दिन रोकिएको रहेछ । गाडी नरोकिकन त्यसको यात्री र गन्तव्यबारे थाहा हुने कुरो भएन । अहिले ठूला दलका नेता र कार्यकर्तालाई मन नपरे पनि बालेनको क्रेज र सम्मान सर्वसाधारणमा उच्च छ । उनीसम्बद्ध गाडी भन्ने थाहा भएपछि छोडि़एको भन्ने बुझियो । उनको परिवारलाई अलिकति असहजता त पक्कै पनि भयो तर बिदाको दिन कुनै अर्को उपसचिवको गाडी व्यक्तिगत प्रयोगमा भेटिएको भए त्यो गाडी बालेनजत्तिको सजिलै छुट्ने थिएन भन्ने पनि नबिर्सौं । नियम त्यस्तै बनाइएको छ ।
सिंहदरबार चोरजस्तै छ, हाम्रा शासक चोरजस्तै छन् भन्नेमा प्रश्न गर्नपर्ने ठाउँ छैन तर बालेनको गाडी रोकिनु र सिहंदरबारबीच कुनै सम्बन्ध भने छैन । बालेनको धम्की र माग पूरा हुने हो भने के हुन्छ त ? सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन् । सिंहदरबार आफूमाथि, आफ्ना गाडी र त्यसमा चढ्नेप्रति कसैले प्रश्न नउठाओस्, नरोकोस् भन्ने चाहन्छ । शासकहरू यही चाहन्छन् । रोकेको सिंहदरबारले होइन, नियमले हो । जुन नियम सिंहदरबारवालाहरूलाई पनि मन परेको छैन ।

अब रोकेर जाँच गर्नेले अनेक आरोप र मानसिक यातना सहन पर्ने हो भने कसले रोक्ला ? हेर्दा सिंहदरबारप्रतिको आक्रोशजस्तो देखिएपनि यो त तिनकै इच्छालाई सहयोग गर्ने कदम हो । अब महानगरका गाडी रोकियो भने आगो लाग्ने भएपछि अरू गाडी पनि रोक्ने कुरो भएन । नरोकी र सोधपुछ नगरी त कुन गाड़ी कसको हो भन्ने चिनिन्न । बालेनले चाहेको के होला ? यो बिदाको दिन गाड़ी चलाउन नपाइने नियम हटाउन चाहेको हो भने त्यही बेहोराको आबाज उठाउनुपर्ने हो । यो नियमले अलिकति दुरुपयोग र भ्रष्टाचार रोकेको होला, तर कतिपय अवस्थामा अव्यावहारिक जस्तो पनि देखिन्छ । यदि यो हटाउने इच्छा हो भने आगो लगाउनै पर्दैन, बालेनको साथ हुने हो भने तिनको हड्डी हाँसेर त्यो नियम बदलिन्छ । होइन, नियम जे भए पनि आफ्नो र आफ्नो निकायको मात्रै नरोकियोस् भन्ने चाहना पक्कै नहोला । के हो त उनको चाहना भन्ने स्पष्ट धारणासहित धम्की आएको भए पनि हुने । मानवीय संवेदनाका कुरा अलग होलान्, तर बिदाका दिन सरकारी गाडी निजी प्रयोजनका लागि प्रयोग भएको र त्यो अहिलेको नियममुताबिक गलत भएको त सत्य हो नि ।

उपप्रधानमन्त्री पद गुमाउँदा रवि लामिछानेजीले मिडियाप्रति व्यक्त गरेको अमर्यादित आक्रोश, बालेनको अदालतलाई नमान्ने सार्वजनिक अभिव्यक्ति र आगो लगाउने धम्कीलाई जसले समर्थन गरेर, उकासेर जयगान गर्नुभएको छ, उहाँहरूले गुन लगाएको जस्तो लागे पनि यसले दीर्घकालमा हानि नै पुग्ने हो । माया गर्नुहुन्छ र सम्भावना देख्नुहुन्छ भने बाटो बिराउँदा सतर्क गराउने पहिलो जिम्मा तपाईंकै हुनुपर्ने हो । निजी सचिवालयमा हुनेहरूले समेत यसप्रति ध्यान नपुर्याएको देख्दा खिन्न लाग्ने रहेछ । सपनाहरूमा ठेस लाग्दा दुख्छ । मन खिन्न हुन्छ । तर गल्तीहरू दोहोरिरहे भने मात्रै हो समस्या हुने । यो खिन्नता अस्थायी होस्, गल्तीहरू सिकाइ बनून् र हाम्रा सपनाहरू नओइलाऊन्, अहिलेलाई यत्ति । वर्तमान नेताहरू झन् बढी गल्ती गर्छन्, भ्रष्ट छन्, खराब छन्, बालेन तीभन्दा असल छन् भन्ने तर्क गर्दै गाली गर्न नआउनुहोला । त्यो मलाई पहिल्यै थाहा छ र त यति लेखेको !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक