सडकमा उपद्रो मच्चाउनेहरूलाई काँधमा बोकेर परराष्ट्र मामिला धान्छु भन्नु राष्ट्रघात नै हो
केशवप्रसाद भट्टराई ।
१. अमेरिका, चीन र भारत जस्ता मुलुकहरू जमिनमा, जलमा र आकाशमा मात्र होइन गरीव र विकासोन्मुख मुलुकका संसद, सरकार, राजनीतिक दलहरू, सडक,स्थानीय निकाय र नागरिक समाजहरूमा समेत रणनीतिक प्रतिष्पर्धा गरिरहेका हुन्छन् र छन् । त्यसै कारण नेपालमा एमसीसीको विरोध पछाडि चीन छ, लागिरहेकै छ । विरोध गर्नेले चीनको लागि नै एमसिसीको विरोध गरेको खुलारूपमै बताइरहेका छन् । त्यसैगरी भारत र अमेरिका नेपाल बिआरआई परियोजनाको अङ्ग नबनोस् भन्ने चाहन्छन् ।
२. बिआरआई पनि चीनको रणनीतिक लक्ष सहितको वृहत अन्तर्राष्ट्रिय यातायात र सञ्चार सञ्जाल निर्माण परियोजना हो । उसको ग्लोबल सेक्युरिटी इनिसिएटिभसँग त्यसलाई –घोषित–अघोषित रूपमा आवद्ध गरिएकै हुन्छ । त्यसैगरी कतै लेखे पनि नलेखे पनि, मुखले हो भने पनि र होइन भने पनि इण्डो प्यासिफिक क्षेत्रका सवै मुलुकसँगको अमेरिकाको सम्बन्धलाई उसको इण्डो प्यासिफिक रणनीतिले मार्गदर्शन गर्दछ । गरिरहन्छ । हामीले हेर्दा हेर्दै अन्य देशको सहयोगमा निर्भर अत्यन्त विपन्न र अभाव पीडित भारत र चीन आज आज कसैको अनुदान लिन्नन् तर राजस्वले सरकारको सामान्य दैनिक खर्च धान्न, कर्मचारीलाई तलव , भत्ता, पेन्सन र जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता समयमा उपलव्ध गराउन नसकिरहेको हामी विदेशबाट आउने रेमिटेन्स बन्द भए मुलुक थचक्क हुने स्थिति विद्यमान हुँदा, सडकमा अमेरिका, भारत र चीन विरुद्ध चिच्याएर होइन, सन्तुलित विदेश नीति अवलम्वन गरेर समृद्धिको बाटो रोज्न सकिन्न ।
३. त्यो भनेको म्याद नाघेको र असान्दर्भिक भैसकेको असंलग्न परराष्ट्र नीति होइन, यथार्थ भूराजनीतिक धरातलमा खडा भएको व्यवहारिक नीति अवलम्वन हो । त्यसको अर्थ भूराजनीतिको सीमा र अन्तर्राष्ट्रिय व्यवस्थाको वर्तमान स्थिति र आफ्ना आर्थिक र विकास आवश्यकता लागि पनि अन्तर्राष्ट्रिय दातृ राष्ट्र र समुदायको सद्भाव र सहयोग एवं रेमिटेन्स आयका स्रोत मुलुकहरू केन्द्रित परराष्ट्र नीति हो । विरामीलाई निको पार्न योग्य र दक्ष डाक्टरको सेवा आवश्यक भए जस्तै भवन र पुल बनाउन दक्ष इन्जिनियर चाहिए जस्तै—परराष्ट्र नीति निर्माण र कार्यन्वयन योग्य र दक्ष कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मामिलाका विज्ञबाट हुनुपर्दछ । उग्र वामपन्थी र उग्र दक्षिणपन्थी तुस र कुण्ठा पालेर चरम अनुत्तरदायी दृष्टिकोण पोख्दै आएका र उनीहरूका सत्ता र चुनावी राजनीतिको पूँजी निर्माण र संचय गर्नका लागि समाज र सडकमा हिंसा उपद्रो मच्चाउनेहरूलाई काँधमा बोकेर परराष्ट्र मामिला धान्छु भन्नु पनि राष्ट्रघात नै हो ।
४. अन्त्यमा, सीमा सवाल मुलुकहरूवीचको महत्वपूर्ण सवाल हो तर यसको समाधानले अत्यन्त लामो विधि, प्रक्रिया र राष्ट्रिय संयम माग गर्दछ । र नेपालको भारत वा चीन सँगको सीमा समस्याको समाधान तेस्रो राष्ट्रबाट खोज्ने अभ्यास गलत हो र यसले समस्यालाई झन् जटील बनाउँछ । समाधानलाई झन् झन् पर हुत्याउँछ ।