शरणार्थीको छोरा
डा. गोविन्दशरण उपाध्याय ।
समयः २ः३९, काठमान्डौ
‘अंकल, अतिवाद भनेको के हो ? छिमेकीको १२ वर्षीय बच्चाले सोध्यो ।
‘नेपाली भाषामा अर्काको अस्तित्व देखि न सहने व्यक्ति वा समुदायलाई अतिवादी भन्ने गरिन्छ –मैले संक्षिप्त जवाफ दिएँ ।
‘अनि हामी हिन्दूहरू अतिवादी हौँ र अंकल ? उसले फेरी सोध्यो
‘कसले भन्यो र ?
‘धेरैजसो अनलाइन समाचारमा “अतिवादी हिन्दू“ लेखेका छन् । मेरा स्कूले साथी पनि यही भन्छन् ?
‘अति भनेको धेरै र वादी भनेको बोल्ने भनेको होइन र ?
‘शब्दको अर्थ त यही हो । साथीले त्यसो भन्नु गलत हो । नेपालमा अतिवादी कोई पनि छैनन् – मैले भनें । तर उसको चित्त बुझेको देखिएन ।
‘के हामी हिन्दुहरू साच्चिकै अतिवादी नै हौँ र ?
‘पटक्कै होइनौं ।
अनि, अनलाइनले ‘हिन्दू अतिवादी; किन लेखेका ?
‘सायद, लेख्नेहरूको चिन्तनमा अतिवाद तथा उग्रवादको विध्वंसकारी छाप परेको छ । उनीहरूको चिन्तनमा उग्र नकारात्मकता छ । सबैले त्यसरी लेख्दैनन् – मैले बुझाएँ ।
‘त्यसोभए अतिवादी को हुन् त ?
‘जसले जातीय, भाषिक तथा नाकका आधारमा अर्काको खेदो खन्छन्, एउटा किताव, एउटा गुरू, एउटा देवता, एउटा भाषा र विदेशी राजनीतिको नक्कललाई महत्व दिन्छन् र सधैं मौलिकताको रक्षाको आवाजलाई ‘अतिवाद’ देख्छन् ती सबै उग्रवादी हुन् – मैले भने ।
‘मेरा साथीहरूले मलाई ‘शरणार्थी बाहुन’ भनेर गालीगलौज गर्छन् । शरणार्थी भनेको के हो ? के म शरणार्थीको छोरा हुँ – उसले सोध्यो ।
‘उनीहरूले युट्युवबाट यस्तो कुरा सिके होलान् । हामी बाहुन अवश्य हौँ तर शरणार्थी होइनौं । तिमी पनि शरणार्थीका छोरा होइनौं । लडाई वा खडेरीका कारणले आफ्नो जन्मथलो छोडेर अर्को ठाउँमा बसाई सर्नेहरूलाई “शरणार्थी“ भनिन्छ ।
‘अनि, हामीले यो देश छोडेर जानुपर्छ त ? बच्चोले सोध्यो ।
‘यो हाम्रो देश हो । यो देश सबैको साझा हो कसैले छोड्नु पर्दैन । उनीहरूलाई सरले सम्झाउनु हुन्छ – मैले भने ।
‘के मेरो बाबा, ममी, आमा, वा दिदीलाई यो घरबाट निकालेर भारततिर पठाउने छन् त ? बालकले सशंकित हुँदै सोध्यो ।
‘अहँ, कसैले पनि निकाल्दैन ।तिम्रो र हाम्रो घर यही हो । यस्तो कुरा गर्नु हुँदैन । सबैलाई प्रेम गर्नुपर्छ, कसैलाई घृणा गर्नु हुँदैन – मैले भने । यत्तिकैमा उसको विद्यालयको बस आयो । हात हल्लाउँदै, ऊ आफ्नो विद्यालय गयो ।
……………..
बालबालिका झूट बोल्दैनन् मैले पनि बालबालिकासंग झूट बोल्न सकिन ।