मानवतावादका प्रणेताको सम्झनामा
डा. गोविन्दशरण उपाध्याय ।
जयपृथ्वी बहादुर सिंहको सवालमा नेपाली बौद्धिक समाज विभाजित छ । दुर्भाग्यवस नेपालका साम्यवादीहरूले इनलाई पुँजीवादको मतियार, समाजवादीहरूले साम्यवादी र भने परम्परावादीहरूका दृष्टिकोणमा ई नास्तिक ठहरिएका छन् । लामो कालखण्डसम्म ई उपेक्षित रहे । आजभोली केही विद्वानहरूले अलिकति आँट गरेर यिनका पक्षमा केही बोल्न, लेख्न र अनुसन्धान गर्नेतिर जमर्को गर्दै छन् । नेपालको राजनीति र राजनैतिक छात्रछाँयामा स्वनामधन्य तथा अत्यन्त प्रतिभाशाली विद्वानहरू उपेक्षामा पर्ने गरेको नौलो तथ्य होइन। राजनैतिक निष्ठाको सिन्डिकेटमा धेरै प्रतिभाशाली विद्वानहरू चरम उपेक्षामा परेका/पारिएका छन् । कुरा बुझ्नका लागि इशारा पर्याप्त छ । सत्य लुकेको हुँदैन ।
राजा जयपृथ्वी बहादुर सिंह (सन् १८७७–१९४०) परम्परागत हिन्दू क्षेत्री राजपरिवारको सदस्य भए पनि मानवतावादी बाटो रोजेका थिए । सिंहको समयमा मानवतावाद दृष्टिकोणका आधुनिक विचारहरू नेपाल र नेपालीका लागि मात्र होइन, भारतीयहरूका लागि पनि नितान्त नयाँ थिए । कार्लमार्क्सले अगाडी सारेको साम्यवादले मानवतावादी दृष्टिकोणलाई हतियार बनाएर राजनैतिक शक्तिमा रूपान्तरण गर्न खोजिरहेको थियो भने युरोपेली राष्ट्रका विद्वान्हरू पोपको सर्बसत्तावादी दृष्टिकोणप्रति असहमत हुँदै मानवतावादी अर्थात् गडको सत्तालाई चुनौति दिंदै थिए । अमेरिकीहरू पनि साम्यवादी मानवतावाद भन्दा बाइबलको सर्वसत्तावादी एकल गडको निरंकुसताबाट आजित भएर धर्मनिरपेक्षतालाई नै मानवतावादका रूपमा स्थापित गर्न व्यस्त थिए ।
अंग्रेजी पढेका सिंहले आफ्नो ‘मानवतावाद’ पुस्तकमा मानव मनोविज्ञानको परिचर्चा गर्दै धर्म र धार्मिकताका सवालमा पनि व्याबहारिक दृष्टिकोण अवलम्बन गरेका थिए । उनले धर्म र धार्मिकतालाई पूर्ण अस्वीकार गर्ने मार्क्सवादी दृष्टिकोण र बाइबलको सर्बसत्तावादी ईश्वरवादका विरुद्ध आविष्कार गरिएको धर्मनिरपेक्षताको आवरण पनि अस्वीकार गरेका छन् भन्न मिल्छ । यसका दुईबटा कारण छन्, पहिलो धर्मको पश्चिमा बुझाई र व्यबहार तथा वैदिक, बौद्ध, जैनीहरूको धर्म र धार्मिकताका सम्बन्धमा बुझाई व्यबहार नितान्त फरक छ भन्ने उनले आत्मसात गरेका थिए । दोश्रो, उनले मानवसमाजले आस्था, विश्वास तथा श्रद्धा गर्ने प्रतिमानहरूको (संस्कृति, संस्कार, रितिरिवाज तथा आदर्शहरू) सम्मान गर्नु पनि मानवतावादको लक्षण हो भन्ने तत्थ्य आत्मसात गरेको बुझ्नुपर्छ । यहीनै उनको व्याबहारिक मानवतावादी दृष्टिकोण हो ।
राजा सिंहको विशिष्टता के हो भने उनले जुन व्याबहारिक मानवतावादी सिद्धान्तको अभिनिर्माण गरे, त्यो सिद्धान्तलाई आफ्नो जीवनकाल मै स–सानोस्तरमा भए पनि कार्यान्वयन गरेर देखाए । बालबालिकाका लागि विद्यालयहरू र पाठ्यक्रमको निर्माण गरेर सबैको लागि शिक्षाको आदर्श स्थापित गर्ने प्रयत्न गरे । गोरखापत्रको स्थापना गरेर बैचारिक तथा लेखकीय स्वतन्त्रताको पक्षमा उभिए । आफ्नी कुलदेवीको पूजाआजामा सामेल भएर मानवको सांस्कृतिक तथा धार्मिक चेतनाको सम्मान गरे भने विश्वभरी भ्रमण गर्दै मानव–विश्वका लागि अधिकार तथा कर्तव्यका सवालमा सर्वभौम दृष्टिकोण निर्माण गर्ने प्रयत्न गरे ।
नेपालमा जहानीया शासनको कठोरता र भारतमा अंग्रेजहरुको कठोरताका विचमा “मानवतावाद“को पक्षमा सशक्त काम गरे । मानवतावादी दृष्टिकोणका कारण उनी नेपालमा टिक्न सकेनन् भने भारतमा पनि अनेकौं पटक अंग्रेजहरूको दुर्व्यबहारको सिकार भए । तर उनी हारेन्, देश–विदेशमा अनेकौं सभा, संस्था तथा व्यक्तिहरूका विचमा आफ्नो पक्ष राखे । दोश्रो विश्वयुद्धको भिषण मानवविनाशले निराश भएको अवस्थामा उनको विचार त सुनियो तर कोलोनीकालको निरंकुशतामा उनका विचारहरू बैचारिक रुपमा ‘राम्रो र उचित’को तहमा बुझियो । उनको कालजयी मानवतावादी दृष्टिकोणलाई साथ दिन नेपाली राष्ट्र वा विश्वको कुनै पनि राष्ट्र तयार थिएनन्। यसको मूल कारण चाहिं उनी नेपाली हुनु र अंग्रेजहरूले भारतीय परिवेशमा मानवतावादी दृष्टिकोणको पक्षमा उभिदा भारतमा अझैं विद्रोह बढ्ने“ देखेर महत्व नदिएको भन्ने बुझ्नुपर्छ ।
मानवमनोविज्ञानका आधारमा स्वतन्त्रता, समानता, अधिकार प्राप्ति र कर्तव्यपालनको दृष्टिकोणलाई अवलम्बन गरेको हुँदा सिंहको मानवतावादी दृष्टिकोणलाई ‘ब्यबहारिक मानवतावाद’ भन्न उचित हुन्छ । तर वहसका लागि प्रसस्त ठाउँ छन् । यो भन्दा पनि महत्वपूर्ण तत्थ्य नेपालले विश्वकै प्रथम आधुनिक मानवतावादी दार्शनिकका रुपमा सिंहलाई प्राप्त गरेको छ । आजको परिवेशमा सिंहको व्याबहारिक मानवतावाद अझै सान्दर्भिक बनेको छ । अव, सिंहको महत्वलाई बुझ्न/बुझाउन ढीलो गर्न हुँदैन ।
क्रमशः
सन्दर्भः अंग्रेजी मितिअनुसार २३ अगस्ट र नेपाली गतेअनुसार भदौं ७ गते श्रीसिंहको जन्म मिति परेको छ ।