सिक्नै र जान्नै पर्नेः संस्कृत भाषा



डा. गोविन्दशरण उपाध्याय ।

विश्वभरिको भाषाको विवरण राख्ने र अन्य भाषाहरूसँग तुलना गर्ने वेबसाइट languagecomparison.com काअनुसार विश्वभरी १४.१० अर्थात् लगभग एक करोड एकचालीस लाख मानिसले संस्कृत बोल्छन् । अन्य प्राचीन भाषाहरूका तुलनामा यो निकै ठूलो संख्या हो । यस भन्दा पनि महत्वपूर्ण तत्थ्य के छ भने विश्वभरी नै विगतका तुलनामा संस्कृत बोल्ने, लेख्ने र संस्कृतभाषामा साहित्य सृजना गर्ने जनसंख्या बढ्दो छ ।

तर प्राचीनतम संस्कृतभाषाप्रति सर्वसाधारण र विद्वानहरूको अभिरुचि किन बढ्दो छ ? विश्वभरीका भाषाविदहरुले सोच्ने पर्ने भएको छ । अक्सफोर्ड विविमा संस्कृतका प्राध्यापक सेलडोन पोलोकले आफ्नो संस्कृत सम्बन्धि कार्यपत्रमा १९९०को दशकमा संस्कृतलाई “मृतभाषा“ भनेपछि भारतसहित नेपापाली संस्कृत प्रेमीहरूमा निकै हलचल मचिएको थियो । आज ठीक ३० वर्षपछि संस्कृतभाषीहरूको बढ्दो जमातले तिनको उपर्युक्त कथनलाई चुनौती दिएको छ । भारतसहित अनेक देशमा संस्कृत विश्वविद्यालय समेत खुलेका छन् ।

प्राचीन भारतवर्षमा कुनै बखत संस्कृत मातृभाषाका रूपमा प्रचलित थियो कि थिएन, बलियो प्रमाण छैन तर हिन्दू, जैन तथा बौद्धहरुले संस्कृतभाषाको प्रयोग आफ्नो दार्शनिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक बर्चश्व स्थापित गर्न र विभिन्न ठाउँमा बसोवास गर्ने, विभिन्न रुपरंग, जातजाति तथा स्थानीय भाषा बोल्नेहरू आफ्ना अनुयायिहरूलाई आफ्ना सूचनाहरू प्रवाहित गर्न संचारभाषाको रूपमा संस्कृतिको व्यापक प्रयोग गरेका थिए । हिन्दू, जैन तथा बौद्धहरूले रचना गरेका तत्कालीन बाग्मयहरूले यो तत्थ्य प्रमाणित गरिरहेका छन् ।

पुनः फर्केर त्यही प्रश्नको उत्तर दिने प्रयत्न गरौँ । संस्कृत अन्य भाषासरह महाज एउटा भाषा होइन । यसले सम्पूर्ण वैदिक सभ्यता तथा संस्कृतिको निर्माण गरेको छ । जैन तथा बौद्धहरू पनि यसै अन्तर्गत पर्छन् । भारतवर्षका ४२ बटा विभिन्न आधुनिक भाषाहरू संस्कृतमा आधारित छन् । नेपाली, हिन्दी, बंगाली, पंजावी, मराठीआदि भाषाहरू संस्कृतको शब्दकोश विना जीवित रहन सक्दैनन् । संस्कृतभाषाको सङ्गत;ए होला नेवारीजस्ता स्थानीयभाषाहरूमा पनि संस्कृतले महत्वपूर्ण ठाउँ ओगटेको छ । यसरी संस्कृत पढ्नै पर्ने भाषा हो किनभने सनातन हिन्दू धर्म संस्कृति, बौद्ध धर्म संस्कृति, जैन धर्म संस्कृतिलाई ठीकठीक बुझ्न र कमसेकम ४२ बटा भाषाहरूको मर्म बुझ्न यसको विकल्प छैन ।

संस्कृतको जानकारी नभएको मान्छेले ४२ बटा भाषाहरू मध्ये कुनै पनि भाषाको भाषाविद् भनिनेयोग्य हुँदैन । भाषाको जरोमा नपुग्नेलाई भाषाविद् भन्न मिल्दैन । संस्कृतभाषामा दक्ष नभएको व्यक्तिले नेपाली भाषा र त्यसबाट निर्मित भएको धार्मिक, सांस्कृतिक, सामाजिक तथा मनोबैज्ञानिक मूल्यलाई बुझ्न सक्दैन । त्यसैले संस्कृत पढ्नैपर्ने भाषा हो ।

संस्कृत अन्य विदेशी भाषाहरूका तुलनामा पढ्न र सिक्न सजिलो छ । भारतवर्षमा बोलिने नेपाली, हिन्दी, मैथिली, मराठी, भोजपुरीआदि भाषाहरूको निर्माणमा संस्कृत शब्दकोशका न्यूनतम ५०% र अधिकतम ८० प्रतिशत शब्दहरूको उपयोग भएको छ । यसको अर्थ हो यदि तपाईंले बोल्ने मातृभाषामा ४०% संस्कृत शब्दको उपयोग भएको छ भने तपाईले संस्कृत सिक्न ४०% कम शक्ति लगाउनुपर्छ । नेपाली वा मैथिली मातृभाषा बोल्नेले अन्य विदेशीभाषाका तुलनामा केवल ३०% परिश्रम गर्दा संस्कृत लेख्न, बोल्न र बुझ्न सकिन्छ । मनोविज्ञ जेम्सले भनेका छन् “तिम्रो संस्कृतिसंग जोडिएको भाषा तिम्रो लागि सिक्न सबैभन्दा भन्दा सजिलो हुन्छ किनभने तिम्रो स्मरणमा तेसका शब्दहरू पहिले नै विद्यमान हुन्छन् ।

संस्कृतका विषयमा एउटा भ्रामक विश्वास प्रचलित छ : संस्कृत साह्रै गाह्रो भाषा छ ! तर यो केवल अन्धविश्वास हो । जुन भाषाका ७०% शब्दहरू प्रयोग गरिरहेका छौँ, त्यो भाषा कसरी असजिलो हुन्छ ? यो प्रश्न आफैसंग र यस्तो भ्रम फैलाउने व्यक्ति वा विद्वानहरूसंग प्रश्न गरिनुपर्छ । नेपालमा प्रचलित कुनै पनि रैथाने भाषाहरूसंग “गोरु बेचेको समेत साइनो“ नभएका अंग्रेजी, फ्रेन्स, चाइनिज भाषाहरू सिक्न सकिन्छ भने संस्कृत सिक्ने नसकिने हुँदैन । सत्य हो कि संस्कृत भाषा अंग्रेजी वा चाइनिजझैं प्रचलित भाषा होइन तर भारतवर्षको बास्तविकता बुझ्न, आफैलाई बुझ्न संस्कृतभाषा सिक्नुपर्छ, पढ्नु पर्छ र बोल्न सक्ने हुँदा राम्रो नै हुन्छ । संस्कृतभाषा सिक्न “संस्कृत भाषा गाह्रो छ“ भन्ने अन्धविश्वाससंग मुक्त हुनुपर्छ ।

संस्कृत संसारको पहिलो भाषा हो जुन व्याकरणको नियमअनुसार (वैज्ञानिक विधि) सिकिन्छ, लेखिन्छ र बोलिन्छ । हो, वैदिक र लौकिक संस्कृतभाषाका बिच थोरै फरक छ तर नियमपुर्वक पाणिनी व्याकरण पढ्ने हो भने ७०% वैदिक भाषाको पनि ज्ञान हुन्छ । आधुनिक समयमा बोलिने नेपाली, हिन्दी, अवधि, भोजपुरी, मैथिलीआदि भाषाहरूको निर्माण र तिनको व्याकरण बुझ्न पनि संस्कृत जान्नेपर्छ । यस बाहेक पाणिनी व्याकरण र भाषाका नियमहरूलाई विश्वका सबैजसो भाषाशास्त्रीहरूले ज्यादै महत्व दिएर बुझ्ने प्रयत्न गरिरहेका र आ–आफ्ना भाषाहरूको लागि यसैका आधारमा व्याकरण निर्माणको प्रयत्न गरिरहेका हुँदा, संस्कृतभाषाको गौरव बुझ्न सकिन्छ ।

विश्वका कमसेकम चारबटा ठुला धर्म र तिनको धार्मिक, सांस्कृतिक, सामाजिक. धार्मिक आत्मा र विकास बुझ्न संस्कृतको ज्ञान हुनेपर्छ । हिन्दू, जैन, बौद्ध तथा शिख धर्मका साहित्यहरू धेरैजसो संस्कृतमा लेखिएका छन् । हो, केही पालि भाषामा पनि छन् तर पालिभाषा बुझ्न पनि संस्कृतको ज्ञानले मदत गर्छ । अम्बेडकरका अनुयायी र केही थेरवादीहरूले संस्कृतको आवश्यकता ठानेका छैनन् तर महायानका सबै सम्प्रदाय र जैनहरूमा संस्कृत भाषाको व्यापक प्रचलन छ । पछिल्लो समयमा संस्कृत केवल हिन्दूहरूको सांस्कृतिक भाषाहरू भन्ने ब्रहम निकै बढेको छ – यो सत्य होइन । वेद, उपांग, उपवेद र छ अंग (ज्योतिषआदि, पुराणआदि, गन्धर्व, आयुर्वेदआदि) असंख्य प्राचीन ज्ञानका विषयहरू संस्कृत भाषामा लेखिएका छन् ।

आजभोलि आफ्नो ज्ञान विश्वका सबै ठाउँमा पुगोस् भन्ने उद्देश्यले अंग्रेजी भाषामा लेख्ने चलन भएझैं प्राचीनकालका विद्वानहरूले संस्कृतभाषालाई प्रयोग गरेर आफ्नो ज्ञान कितावमा उतार्थे । संस्कृत प्राचीन विश्वको सम्पर्कको भाषा थियो । संस्कृतका मध्यमबाट इन्डोनेसिया र नेपालीबिच ज्ञानको आदानप्रदान हुन्थ्यो । त्यसैले यदि कसैले हिन्दू, बौद्ध जैन संस्कृतिको धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक विकासका विषयमा ठीकठीक जान्न चाहन्छ भने संस्कृत पढ्नेपर्छ । अन्य भाषा जान्नु राम्रो हो तर संस्कृतको ज्ञान हुनु त्यो भन्दा राम्रो हो ।

संस्कृत शब्दको अर्थ नै परिस्कृत हो । जस्तो बोलिन्छ त्यस्तै लेखिने र लेखिएको जस्ताको तस्तै पढिने हुँदा, संस्कृतको भाषिक महत्व अन्य भाषाहरू भन्दा बढी नै छ । विश्वका कुनै पनि भाषामा यस्तो विशेषता छैन । एक पटक यस भाषामा बोलिएको र लेखिएको विषयवस्तु अशुद्ध हुने, प्रष्ट नहुने समस्या हुँदैन । हुने त मुस्लिमहरूका लागि प्राचीन अरवी (कुरान लेखिएको) भाषा हिन्दूहरूका लागि संस्कृत भाषा भएझैं महत्वपूर्ण होला तर संस्कृतका दुई धार अर्थात् वैदिक र लौकिक भाषामा यसको उत्पत्तिकालदेखि कुनै पनि परिवर्तन भएको छैन । आजभन्दा ३००० हजार वर्ष पहिले लेखिने तथा बोलिने संस्कृतभाषा र आजभोली प्रचलनमा रहेको संस्कृतभाषामा एकरत्ति फरक छैन । आजका अरवीहरूले कुरानको भाषा बुझ्दैनन् संस्कृत जान्नेहरूले प्राचीन र आधुनिक संस्कृतको समस्यामा पर्नु पर्दैन । त्यसैले संस्कृत जान्नै पर्छ ।

सबैभन्दा महत्वपूर्ण तत्थ्य, आज जे–जति संस्कृतभाषामा लेखिएका ग्रन्थहरू छन्, विश्वका कुनै पनि सभ्यतामा यतिधेरै विधामा यतिधेरै पुस्तकहरू सुरक्षित पाइन्नन् । पहिला मुस्लिमहरूले अनि पछि अंग्रेजहरूले वैदिक संस्कृतिको इतिहास समाप्त पार्न ठूलाठूला विश्वविद्यालयहरूमा आगो लगाइदिए र हजारौं गोरूगाडामा बोकाएर हस्तलिखित पुस्तकहरू लण्डन पुर्याए तर पनि जीवनभरी पढेर नसकिने असंख्य संस्कृत पुस्तकहरू उपलब्ध छन् । आज पनि असंख्य संस्कृतका पुस्तकहरू अप्रकाशित छन् । साथै, आजको मितिमा पनि दैनिक ६ वटा संस्कृत भाषामा लेखिएका पुस्तकहरू (नयाँ कृतिहरू) प्रकाशित भइरहेका छन्, भने योग, आयुर्वेदको अभ्यासका माध्यमबाट संस्कृत विश्वव्यापी हुँदैछ । यस अर्थमा, संस्कृतभाषा विश्वको एकमात्र प्राचीन जीवन्त भाषा हो । संस्कृत भाषा सिक्नेले एकै पटक प्राचीनभन्दा प्राचीन र नयाँभन्दा नयाँ सभ्यता, संस्कृति तथा परिवेशको प्रत्यक्ष अनुभूति गर्न सक्छ । त्यसैले संस्कृत भाषा सिक्नुपर्छ ।

संस्कृत भाषाको यस्तो गौरव बुझेर नेपालमा सर्वप्रथम जरोकिलो प्रतिष्ठानको नेतृत्वमा विश्व–संस्कृत दिवसको आयोजना आरम्भ भयो । हरेक वर्ष विश्व संस्कृत दिवस ऋषितर्पणीका दिन मनाउने गरिन्छ । जरोकिलो प्रतिष्ठानले आरम्भ गरेको यो उत्सवलाई विश्वभरीका अनेकौं संघसंस्था, व्यक्ति तथा समुदायले स्वामित्वमा लिएर मनाउन आरम्भ गरेका छन् । विश्व संस्कृत दिवसको आरम्भ गर्ने पहिलो देश नेपाल हो भने भविष्यमा अन्तर्राष्ट्रिय रूपमा “विश्व संस्कृत दिवस“ आरम्भ गर्न/गराउन युएनलाई समेत प्रस्ताव गरिने छ ।

विश्व सबैको घर हो, विश्वका सम्पूर्ण प्राणीहरू आफ्नै बन्धुसरह हुन्, कसैले पनि आफ्नो र अरूको भनेर विभेद गर्नु हुँदैन, विश्वका सबै मान्छेहरू सभ्य (आर्य) हुनुपर्छ । यसका लागि सबै मिलेर बस्नुपर्छ, भोजन गर्नुपर्छ, हरेक व्यक्तिके मनुष्यजातिको मात्र होइन विश्वकै कल्याणको कामना गर्नुपर्छ जस्ता उदार चिन्तन राख्ने भाषा “संस्कृत“ सधैं जीवन्त रहनु पर्छ, यसका लागि कमसेकम हामी नेपालीले स्वामित्व ग्रहण गरेर सिक्ने, सिकाउने वातावारण तयार गर्नुपर्छ । संस्कृत हाम्रो परिचय, सभ्यता र आदर्श भएकोले यसको गौरव वृद्धि हुँदा नेपाली तथा भारतीयहरूको गौरव हुन्छ । त्यसैले आसन्न विश्व संस्कृत दिवस मनाउन स्वस्फुर्त रूपमा जुटौँ ।
जयतु संस्कृतम् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक