धैर्यको अभ्यासले रोक्न सकिन्छ आत्महत्या
डा. गोविन्दशरण उपाध्याय ।
प्रसंग २०१९ अप्रेल महिनाको हो । नेदरल्याण्डका एउटा सानो नगरका मेयरसँग उहाँको आफिसमा भलाकुसारी चल्दै थियो । त्यत्तिकैमा लोकल पत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो । मेयरले सोधिन् ‘तपाईंको देशमा पनि आत्महत्या गर्छन् ?’
धेरैले गर्छन् ।
किन गर्छन् ?
सरकारले विकास र सम्पन्नताको झूटो आश्वासन दिन्छ । नेताहरू सधैं जनतालाई सुख र सुविधाको सपनामात्र देखाउने गर्छन् । एक्सपेक्टेशन धेरै हुन्छ तर रियललाईफमा त्यो हुँदैन । मेरो विचारमा सम्पन्न देशका नागरिक जीवनको नक्कल गर्न खोज्नु र त्यसका लागि स्रोतसाधन उपलब्ध नहुनु आत्महत्या रोज्ने कारण मध्ये एउटा हो । मैले “गरिवी र अशिक्षालाई मात्र दोष दिन्न । यी तपाईं धेरै धनी हुनुहुन्छ तर यहाँ पनि आत्महत्या गरेका छन् !
तपाईंको देशका नागरिकले किन आत्महत्या गर्छन् ?
मलाई ठ्याक्कै थाहा छैन तर मलाई लाग्छ, हाम्रो देशमा पारिवारिक (पतिपत्नी बिचको स्वाभाविक प्रेम र त्यसले निर्माण गर्ने गृहस्थी जीवनको) जीवनको ज्यादै अभाव छ । सबैलाई स्वतन्त्रता चाहिएको छ । बजारमा आउने नयाँ प्रविधिहरू चाहिएको छ । सबै आफैंमा माग्न छ । एकअर्कालाई माया गर्ने कोइ पनि छैन । माया ‘सेक्स’ सँग जोडिएको छ । धेरैले प्राकृतिक माया साटासाट गर्ने, इम्पेथी व्यक्त गर्न सक्ने मान्छे नपाएर आत्महत्या गर्छन् होला ! हाम्रो सबै भन्दा ठूलो पीडा ‘परिवारिक जीवन पनि एउटा कर्मकाण्ड’झैं बन्नु हो ।
तर हाम्रा समाजवादी नेता र युवापुस्तालाई तपाईंहरूको जीवनशैलीको नक्कल गर्न निकै अभिरुचि देखिन्छ नि ?
ए, त्यसो हो भने आत्महत्या बढ्ने निश्चित छ । म तपाईंको कुराबाट धेरैजसो सहमत छु कि आत्महत्याको कारण गरिवीमात्र होइन जीवनप्रतिको निराशा वा समाजप्रतिको विद्रोह पनि हुन्छ । ‘नेपालीमा एउटा उखान छ ‘घाँटी विचार गरेर हड्डी निल्नुपर्छ’ । अत्याधिक महत्वकांक्षी जीवन र चरम गरिवीले निराशा र निराशाले आत्महत्या निम्त्याउँछ । सधैं देशको सामाजिक, धार्मिक तथा सांस्कृतिक मान्यताको बोर्डरलाइन तोडेर स्वतन्त्रताको (स्वच्छन्दता“को उपभोग गर्छु भन्दा पनि दुर्घटना हुन्छ ।
आत्महत्या अत्यन्त अप्रिय निर्णय हो । मैले टर्कीबाट यहाँ आएर धेरै सङ्घर्ष गर्नुपर्यो तर मैले आत्महत्याको विचार आउनबाट रोकें । म धेरै पटक यो धनी देशमा भोकै सुतेकी छु । मेरा पति र सडकमा बास बसेका छौँ । म अहिले मेयर छु । सुन्दर जीवन बाँच्नु पर्छ – मेयरले भनिन् ।
“हो, वेदमा पनि आत्महत्या गर्नुलाई ‘अन्धकारको बाटो’ भन्दै आलोचना गरिएको छ । वेदले आत्महत्या गर्नबाट रोक्ने सबैभन्दा बलियो बाटो ‘धैर्य’ हो भनिएको छ । मान्छेको जीवनमा सजिलो र असजिलो आउने र जाने गरिरहेका हुन्छन् । असजिलो पनि जान्छ भनेर धैर्य गर्नेहरूले आत्मविनाश गर्दैनन् । मलाई लाग्छ, ‘यो आत्महत्या गर्ने मान्छेले वेदको यो सुझावमा अमल गरेको भए आत्महत्या रोज्ने थिएन होला !’
हो, म वेदको सूझाव स्वीकार गर्छु । तर तपाईंहरू वेद मान्नुहुन्छ तर पनि आत्महत्या हुन्छन् नि ?
पहिलो कुरा त वेदको यो उपदेशका विषयमा थोरै मान्छेहरूलाई थाहा छ । दोश्रो कुरा ‘चरम निराशा’मा कसैले वेद पढ्दैन् । सम्बन्धित व्यक्तिले सबै थोक थाति राखेर आत्महत्याको योजना बनाउँछ र अनन्तः आत्महत्या गर्छ । मलाई लाग्छ, वेदको उपरोक्त सुझाव र अन्य दार्शनिक, धार्मिक र मनोबैज्ञानिक सुझावहरूलाई सर्वसाधारणले बुझ्ने गरी संचारमा लैजाने काम सरकारी निकायले गर्नुपर्छ । तर १००% आत्महत्या त रोकिन्न ।
‘मलाई लाग्छ, नेदरल्याण्डमा पारिवारिक (पतिपत्नीका परम्परागत स्वस्थ्य मूल्यहरू) मूल्यहरूलाई पुनस्थापित गरेर आत्महत्यामा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । यस मामिलामा तपाईंहरू (नेपाली) र भारतीयहरू निकै सजीव हुनुहुन्छ. – मेयरले भनिन् ।
‘हो, हाम्रो पारिवारिक मूल्यहरू बलिया छन् । मलाई लाग्छ, हाम्रो परिवारको संरचनामा रहेर हरेक व्यक्तिले माया साटासाट गर्न पाउँछ । एकल परिवार पनि राम्रै होला तर एकल परिवारका सदस्यले आफ्नो दायित्व आफै बोक्नु पर्ने हुँदा सिकायत गर्ने, आफ्नो सुखदुख पोख्ने ठाउँको अभाव भोग्नुपर्छ । तर आत्महत्या रोक्ने सबैभन्दा बलियो साधन भनेकै आफुलाई निराशाबाट जोगाउनु र धैर्यको अभ्यास गर्नु हो ।
“समाज उन्नत होस् वा कमउन्नत । समस्यारहित कोही छैन । तपाईंहरूका आफ्ना समस्या छन्, हाम्रा आफ्ना । तर तपाईले वेदको जुन सुझावको कुरा गर्नुभयो मलाई मन पर्यो । उप्रान्त मैले यो सुझावलाई बोल्ने छु ।’
‘म आभार व्यक्त गर्छु । तपाईंले यो सुझाव राम्ररी पुर्याउन सक्नुहुन्छ किनभने यसमा यहाँ राजनीति हुने छैन । हाम्रोमा सजिलो छैन । ‘वेद’को नाम लिंदासाथ हिन्दू र गैरहिन्दू भनेर राजनैतिक र जातीयताको रङ्ग दिने संभावना छ । जेहोस्, असल कुरा र असल काम गर्नुपर्छ ।’
स्वस्तिअस्तु