गुरुपूर्णिमाको गौरव
डा. गोविन्दशरण उपाध्याय ।
प्रेरकः सूचकश्चैव वाचको दर्शकस्तथा ।
शिक्षको बोधकश्चैव षडेते गुरवः स्मृताःमैले जो–जो व्यक्तिबाट जीवनमा प्रेरणा प्राप्त गरें ती सवैमा सादर नमन ।
१. जो–जसले जीवनला लागि आध्यात्मिक, आधिदैविक तथा भौतिक साधना, कर्तव्य र क्रिया वारे जानकारी दियो उहाँहरूलाई नमन ।
२. जोजसले मलाई “यस्तो गर्न हुन्छ, त्यस्तो गर्न हुँदैन भन्दै सुनायो र बुझायो ती सबैमा नमन ।
३. जसले मेरा कुराहरू धैर्यपूर्वक सुनेर मलाई “बोल्न, लेख्न र सोच्न सक्ने“ बनायो उहाँप्रति सादर नमन ।
४. जसले मेरो जीवनको ५० औं वर्षसम्म जीवन बाँच्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्यो तथा गरिरहेको छ ती प्रति मेरो आभार ।
५. जोजसले मलाई शिक्षा दिएर त्रिभुवन विश्वविद्यालयमा पढाउन सक्ने बनायो ती सबैमा सादर नमन ।
६. मेरा पूज्यपिता तथा दीक्षागुरू जसले मलाई आध्यात्मिक तथा आफ्नो मौलिक शिक्षा दीक्षा प्रदान गरेर भौतिकमात्र होइन धर्म, अर्थ. काम तथा मोक्षको बाटो देखायो उहाँलाई सादर नमन ।
हरेक व्यक्तिले कमसेकम पनि माथिका ६ प्रकारका गुरूहरूप्रति मनको गहिराईदेखिनै आभार व्यक्त गर्नुपर्छ । उहाँहरूका सहयोगले हरेक व्यक्ति ‘पशुबाट मान्छे’ बनेका हौँ । दत्तात्रेयले आफ्ना २४ प्रकारका प्राकृतिक गुरूहरूबाट शिक्षादीक्षा लिएर उहाँप्रति आभार व्यक्त गर्नुभएको थियो तर मैले भने गुरूऋण पनि तिर्न सकेको छैन । यो देशको धर्म, संस्कृति तथा असलपरम्पराहरूको उत्थान गरेर वैश्विकतहमा गौरवको एउटा झिल्कोमात्र पनि स्थापित गर्न सके गुरूहरूप्रति वास्तविक प्रणमन हुने थियो ।
आज अर्थात् असार पूर्णिमाका दिन १८ पुराण र महाभारतका लेखक, वेदलाई चारभागमा विभाजित गरेका र ब्रह्मसूत्रजस्तो दार्शनिक ग्रन्थका रचयिता महामति श्रीव्यासदेवको जन्मजयन्ती मानिन्छ । श्रीव्यासदेवलाई सबैका गुरू मानिन्छ किनभने वेदको विभाजन र इतिहासका रूपमा महाभारत नामक ग्रन्थले सम्पूर्ण वैदिक संस्कृतिको सरल जानकारी दिन्छ । उहाँकै प्रतिनिधि मानेर वैदिक सनातनीहरूले विश्वभरी आ–आफ्ना गुरुहरूको आराधना गर्छन् र भगवान् सरहनै सम्मान दिन्छन् ।
केही अज्ञानी (गुरू)हरूले शिष्यले भगवानको रूपमा सम्मान दिंदा आफुलाई साच्चिकै भगवान् नै भएको दम्भ हुन्छ । यही दम्भका आधारमा आफुलाई अनेकौं उपाधिहरूबाट सम्बोधन गर्न लगाउँछन् । सनकादि ऋषिहरू, नारद, वशिष्ठ, विश्वमित्र, जमदग्नीआदि महान् ऋषिहरूले आफ्नो नामको अगाडि कुनै उपाधिको प्रयोग गरेनन् र महान् वेदव्यासले पनि आफुलाई ‘जगद्गुरू’ भनेनन् । उपाधिसंग प्रेम गर्नेगुरुहरूका लागि शास्त्रले सोझै नर्कको व्यबस्था गरेको छ तर विनम्र र शास्त्रीय मर्यादाका लागि शिष्यको सेवा स्वीकार गर्ने तर आफुलाई उपधिराहित उपासकको रूपमा नै स्वीकार गर्नेगुरूले शिष्यको मात्र होइन विश्वको कल्याण गर्छन् र आफै पनि मोक्ष प्राप्त गर्छन् । म उपर गुरूकृपा छ र रहिनै रहने छ । मेरा शिष्यहरूप्रति मेरो आशिर्वाद छ भने मलाई गुरू ठान्ने र देख्नेहरूप्रति योग्यतम आदरसम्मान छ । सबैमा आ–आफ्ना गुरुको कृपा प्राप्त होस् ।
स्वस्त्यस्तु