यी हुन् युक्रेनी प्रत्याक्रमणका योजनाकार



पछिल्लो १८ महिनादेखि रुसको नियन्त्रणमा रहेको देशको पूर्वी र दक्षिणी भूभाग फिर्ता लिन युक्रेनले लामो समयदेखि गरिरहेको प्रयास हाल तीव्र गतिमा अघि बढेको छ। उक्त कारबाहीको योजना र कार्यान्वयन गर्ने महत्वपूर्ण व्यक्ति ४९ वर्षे युक्रेनी  सेनाका प्रमुख जेनरल भ्यालरी जालुज्नी हुन् । केही समय अघिसम्म खासै धेरै मानिसले नचिन्ने जालुज्नीको ख्याति हाल राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग दाँज्न सकिने स्तरको भएको छ। उनका पुराना साथीहरूले ‘हाम्रै भ्यालरा’ भनेर बोलाउने जेनेरल जालुज्नी सन् २०२१को जुलाईमा युक्रेनी सेना प्रमुख नियुक्त भएका थिए।

उनलाई राम्रोसँग चिन्नेहरूका अनुसार राष्ट्रपति जेलेन्स्कीले व्यक्तिगत रूपमै उनलाई नेतृत्वमा अघि सार्दा जालुज्नीसहित अन्य कैयौँ आश्चर्यमा परेका थिए। जालुज्नीलाई नियुक्ति दिइँदा उनले कैयौँ खुड्किलो पार गरेका थिए। जालुज्नी पहिलेदेखि नै महत्त्वाकाङ्क्षी आधुनिक कमान्डरका रूपमा परिचित थिए। उनी घमन्डी र देखावटी थिएनन्, अनि आफूभन्दा तल्लो तहका कर्मचारीहरूसँग मजाक गर्ने गर्थे। सात महिनाभित्रै युक्रेनमाथिको पूर्ण स्तरको रुसी आक्रमणविरुद्ध खडा गरिएको रक्षा बलको उनले नेतृत्व गरिरहेका थिए। सन् २०२२को फेब्रुअरी २६ तारिखमा ‘‘किएभलाई तीन दिनमा नियन्त्रणमा लिन’’ रुसी बल असफल हुँदै गएको स्पषट भइसकेको थियो। सुरुवाती चरणमा त्यस्तो परिणाम सम्भावित नै देखिन्थ्यो।

तर वास्तविक अवस्था भने गम्भीर नै थियो र युक्रेनी निकायहरूले सर्वसाधारणहरूलाई नआत्तिन आग्रह गरिरहेका थिए। रुसी फौजहरू युक्रेनको उत्तर, पूर्व र दक्षिणतिर अगाडि बढिरहेका थिए र राजधानीमा उल्लेख्य खतरा उत्पन्न भएको थियो।त्यस्तो अवस्थामा युक्रेनका उच्च अधिकारीहरूबीच किएभनजिकैका पुलहरू ध्वस्त पारिदिने योजनाबारे पनि छलफल गरिएको थियो। ड्निप्रो नदीमा रहेको पुल भत्काएर नदीको पूर्वी किनारबाट अन्य रणनीतिक वस्तुहरूसहित सरकारी आवासहरू रहेको पश्चिमी तटतर्फ रुसीहरूलाई पुग्न नदिने योजना थियो।

उनीहरूले जेनेरल जालुज्नीको धारणा जान्न फोन गरे। ‘कुनै परिस्थितिमा पनि हामीले त्यसो गर्नुहुँदैन,’ अन्य उच्च सैन्य अधिकारीहरूसँगै रहेका उनले धुवाँले भरिएको बङ्करबाटै उनले जवाफ दिएको बताइएको छ। ‘यो पूर्वी तटमा रहेका नागरिक र सेना दुवैका लागि धोका हुनेछ।’ बीबीसीले दुई भिन्न स्रोतबाट उक्त संवादबारे मिल्दोजुल्दो विवरण सुनेको छ। त्यसपछिका दिनहरूमा कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरिए र सन् २०२२मा एप्रिल महिनाको सुरुवाततिर युक्रेनी सेना रुसी सेनालाई उत्तर अनि किएभको पूर्वतर्फ धकेल्न सफल भयो।

पारिवारिक पृष्ठभूमि सोभियत सेनासँग जोडिएका भ्यालरी जालुज्नीले एक पटक सोभियत सेनामा रहेको आफूभन्दा उच्च ओहोदामा रहेका अधिकारीलाई अत्यन्त सम्मान गर्नुपर्ने संस्कृतिबाट आफू सधैँ टाढिन चाहेको बताएका थिए। सन् १९९०को मध्यतिर उनी सेनाले सञ्चालन गरेको विद्यालयमा जाँदै गर्दा युक्रेन स्वतन्त्र राज्य बनिसकेको थियो। सैन्य कलेजमा उनले पढेका किताबहरू सोभियत कालका हुन सक्छन्, तर युद्धको वास्तविकताबारे भने उनले प्रत्यक्ष रूपमै ज्ञान प्राप्त गरे। रुसी सेनाको समर्थन रहेको पृथकतावादी समूहहरूसँग द्वन्द्व चलिरहेका बेला सन् २०१४मा उनलाई पूर्वी युक्रेनमा सहायक कमान्डरका रूपमा खटाइएको थियो।  हामीले कुराकानी गरेको उनका साथीहरू जालुज्नी व्यावसायिक जीवनको सुरुवातबाटै आफूभन्दा तल्लो तहमा रहेका कर्मचारीहरूसँग विश्वासको सम्बन्ध बनाउन अनि निर्णयहरू प्रत्यायोजन गर्न उत्सुक रहने बताउँछन्।

रुसी आक्रमण सुरु भएको प्रारम्भिक दिनहरूमा जालुज्नीसँग रहेका एक जना सहयोगी ल्युदमिला दोल्खोनोभ्स्काका अनुसार त्यस बेला उनी विरलै सुत्थे, अनि अग्रपङ्क्तिमा खटिएका सैन्य अधिकारीहरूसँग सम्पर्कमा रहन्थे। ‘उनी आफ्ना जेनरलहरूसँग फोनमा बोलिरहन्थे। ती कुराकारीहरू सधैँ विषयवस्तुमा केन्द्रित र शान्त हुन्थे।’ विश्लेषकहरूका अनुसार युक्रेनी सेनाले युद्धमा होमिएका कनिष्ठ अधिकारीहरूले आफैँ निर्णय लिन सक्ने तत्परता देखाएका थिए। रुसी सेनामा शीर्ष अधिकारीहरूबाट निर्णय हुने संरचना रहेकाले यस्तो व्यवस्थाले युक्रेनलाई पर्याप्त फाइदा पुगेको उनीहरू बताउँछन्। युक्रेनी सेनाका केही स्रोतहरू युक्रेनको सफलताका लागि युद्धमा खटिएका निर्णायक कमान्डरहरू नै सामूहिक रूपमा जिम्मेवार रहेको बताउँछन्। उनीहरूलाई स्वतन्त्र रूपमा कारबाही अघि बढाउन दिएको कुरामा मात्रै जालुज्नीलाई श्रेय दिइनुपर्ने उनीहरूको मत छ।

युद्ध भइरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रातको समयमा सर्वसाधारणहरूलाई सम्बोधन गर्दै उनीहरूको मनोबल उच्च बनाउन मद्दत गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आर्थिक तथा सैन्य सहयोगका लागि विदेशी साझेदारलाई दबाव दिँदै उनले सबल शासनको बिम्बलाई अगाडि बढाए। जेनेरल जालुज्नीको ध्यान भने सही सैन्य रणनीति बनाउनमा केन्द्रित थियो। ग्रीष्मको अन्त्य अनि शरद् ऋतुको सुरुवाततिर युक्रेनी सेनाले देशको पूर्व अनि दक्षिणतर्फ रहेका ठूलो भूभागलाई रुसी नियन्त्रणबाट मुक्त गर्यो। सार्वजनिक रूपमा विरलै देखा पर्ने वा अन्तर्वार्ता दिने युक्रेनी प्रमुख कमान्डर त्यसपछि राष्ट्रिय नायक बने।

उनको नाम बहादुरी र दृढताको पर्यायवाची बन्यो। उनको ख्यातिले विभिन्न तुक्का र कथा जन्माए। उनीबारे तयार एक वाक्यांशले भन्छ, ‘’अँध्यारो कोठामा जब जालुज्नी प्रवेश गर्छन्, उनले बत्ती बाल्दैनन्, अन्धकार निभाउँछन्।’ उनको ख्याति जेलेन्स्कीजत्तिकै चुलियो र ‘कन्स्पिरेसी थिअरी’मा विश्वास गर्ने कतिपयले उनीहरूबीच असमझदारी हुन सक्ने सम्भाव्यताबारे अनुमान गर्न थाले। जालुज्नीलाई राष्ट्रपतिले सेना प्रमुखबाट हटाउन सक्ने चर्चा पनि चलेको थियो। उता जेलेन्स्कीको नेतृत्वमाथि पनि जालुज्नीले चुनौती दिएको बताइन्थ्यो।

हालसम्म त्यस्तो केही भएको छैन। ‘राष्ट्रपति जेलेन्स्कीलाई ईर्ष्या गर्ने फुर्सद नै छैन किनकि उनी सहयोगी राष्ट्रहरूबाट युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउनका लागि १०२ प्रतिशत व्यस्त छन्,’ राष्ट्रपति कार्यालयको एक स्रोतले बीबीसीसँग भन्यो। राष्ट्रपति र सेना प्रमुख एकअर्कालाई काम गर्न दिन खुसी देखिन्छन्।

गत वर्षको जुन महिनामा टाइम म्यागेजीनसँगको कुराकानीमा सैन्य रणनीतिबारे सबै कुरा जेलेन्स्कीलाई आफूले व्याख्या गर्ने नगरेको जालुज्नीले बताएका थिए। ‘औषधि वा पुल निर्माणबारे उनले जान्नुपर्नेभन्दा बढी उनले सैन्य मामिलाहरू पनि बुझ्न आवश्यक छैन,“ उनले भनेका थिए।  राजनीतिक विश्लेषक अनि समाजशास्त्रीहरू युक्रेनीहरूको मनोबल उच्च राख्न जरुरी रहेको अवस्थामा जालुज्नीको ख्याति स्वाभाविक रहेको बताउँछन्। उनीहरूले जालुज्नीको सरल मानवीय व्यवहारबारे पनि चर्चा गरेका छन्।

बाख्मुतमा अग्रपङ्क्तिमा खटिनुपरेका कारण एक जना सिपाहीले आफ्नो बिहे पछि सारे। त्यस समारोहमा उनी पुगेका थिए। ती सिपाहीलाई विवाह गर्नका लागि छोटो समयका लागि छुट्टी पनि दिइएको थियो। युक्रेनको प्रत्याक्रमणबारे चर्चा चुलिँदै गएका बेला मे महिनाको मध्यतिर रुसी ब्लगरहरूले जेनरल जालुज्नी गम्भीर रूपमा घाइते भएको वा उनको मृत्यु नै भएको पनि हुन सक्ने जस्ता हल्ला फैलाउन थालेका थिए।

त्यो कुरा रुसी गुप्तचरी निकायका प्रमुख सर्गेई नरिस्कनले पनि दोहोर्याएका थिए। ‘स्वाभाविक रूपमा हामीसँग युक्रेनी सेना प्रमुखको स्वास्थ्य अवस्थाबारे सबै सूचना छ। तर हामी त्यसबारे खुलासा गर्ने छैनौँ,’ उनले भनेका थिए। जेनेरल जालुज्नी निकट मानिने कर्नेल आनाटोली स्टफानका अनुसार उक्त हल्लालाई ‘प्रोपागान्डा गर्ने रुसी पागलपनको उच्च विन्दु’को संज्ञा दिएका युक्रेनका शीर्ष सैन्य अधिकारीले मजाक गरे। तर पनि युक्रेनीहरू चिन्तित हुन सुरु भएको स्पष्ट रूपमा देखिन्थ्यो।

जुन महिनाको सुरुमा जालुज्नी किएभमा भएको एक सैन्य कार्यक्रममा उपस्थित भएको कैयौँ तस्बिरहरू युक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो। अहिलेको अवस्थामा युक्रेनीहरूमाझ भ्यालरी जालुज्नीले पाएको नायकको संज्ञा सुरक्षित देखिन्छ। तर उनी माथि कैयौँले आशा गरेकाले भविष्य भने जटिल हुने सम्भावना देखिन्छ। अन्ततोगत्वा प्रतिरक्षा सफल भइहाल्यो भने पनि युक्रेनले कठोर वास्तविकताको सामना गर्नुपर्ने हुँदा जालुज्नी राजनीतिबाट टाढै बस्न सक्ने समाजशास्त्री ओलेक्सी एन्टाइपोभिच बताउँछन्। ‘युद्धपश्चात् पूर्ण रूपमा ध्वस्त नभए पनि युक्रेनले ठूलो आर्थिक सङ्कटको सामना गर्न सक्ने सम्भावना निकै प्रबल छ। त्यस बेला परिस्थिति पूर्ण रूपमा भिन्न हुनेछ।’ राजनीतिक विश्लेषक मिकला देभिद्युक युक्रेनी सेना प्रमुख राजनीतिमा लागे सफल हुनसक्ने ठान्छन्। ‘जेलेन्स्की युक्रेनीहरूको साथ छोडेर नभाग्ने नेता हुन् भने जालुज्नी उनीहरूलाई रक्षा गर्ने व्यक्ति। यो उनीबारे स्वाभाविक धारणा हो र हाम्रो समाजमा यसको माग छ।’

ओक्साना टोरोप, स्वाएतोस्लाभ खोमेन्को र कातेरिना काइनकोलोभा
बीबीसी विश्व सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा

सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, कसको कहाँ ?(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा