ओलीको अयोध्या र बालेनको जनकपुर
जेपी गुप्ता ।
पुरै दक्षिण एशियाको हिमाली खण्ड अर्थात् हिमवतखण्ड अनि पूर्व–उत्तरको ब्रम्हपुत्रको बहाव तथा दक्षिणमा गंगाको मैदानी भाग हुदै उपल्लो कश्मिर–कन्दहारसम्म धार्मिक एवं साँस्कृतिक रूपमा साझा धरोहरका क्षेत्र हुन् । यसभन्दा पनि धेरै ठूलो भु–भाग। यसमा एउटै समान प्रकारका आस्थाका केन्द्रहरूलाई धेरैले आ–आफ्ना ठाउँहरूमा स्थापित गरेको अनेकन उदाहरणहरू छन्। यसका लागि सबैले आ–आफ्ना गाथाहरू रचे ।
दक्षिणको तिरुपति मन्दिर असमको गुवाहटीमा बनाए। काशीको मुल विश्वनाथ मन्दिर अपवित्र भयो भनी करपात्री महाराजले बिएचयू भित्र अर्को विश्वनाथ मन्दिर बनाए। भारत उत्तराखण्डको हिमालयको फेदमा रहेको केदारनाथको शिर हाम्रो डोलेश्वर महादेवलाई भन्यौं । थाहा छैन, व्यास मुनी कहिले आएका थिए तनहुँ । तर, दमौलीमा व्यास गुफा छ । भष्मासुर र महादेवको लखेटा लखेटी भयो कहाँ कहाँ यता हलेसीको गुफामा महादेव लुक्न आएको मान्यता छ। कुनै पनि वैज्ञानिक तथ्यहरूबाट महाभारत कालिन विराट राजाको भूमि वा दरबार विराटनगर छेउमा भएको पुष्टिदैन । तर, विराटनगरेहरूले विराट राजाको दरबारलाई पर्यटनस्थल बनाई छोडे । युधिष्ठिरका भाइ अर्जुन कहिले र किन झापा आए होलान् तर यहाँ अर्जुनधारा, किच्चकबध सबै छ । उपलब्ध तथ्यहरूले भन्छ बराहक्षेत्र मन्दिरको स्थापना कुचबिहारका कोच राजाहरूले गराए । तर, यो क्षेत्र कोचहरूद्वारा शासित रहेको भेटिन्न । किन कोच राजाहरू यहाँ आए होलान् । अहिले आठपहरिया राईहरू बराह मन्दिरलाई आफ्नो आराधनास्थल बनाएका छ–आफ्नै मान्यताहरूका आधारमा। पाथिभारा मन्दिर हिन्दूहरूले आफ्नो भन्छन् । भगवतीको मूर्ति नै छ त्यहाँ । तर, पूर्वका लिम्बुहरूले पाथिभारा देवीको आफ्नै नामाकरण गरेका छन्। यस्तै छ सर्वत्र । बिना विवाद, झैझगडा चलेकै थियो।
यता केपी ओलीले अयोध्या ढोरीमा पता लगाए । बालेन साहले सीताको जन्मभूमि सितामढीको साटो जनकपुरलाई दाबी गरेका छन् । ग्रेटर नेपाललाई पनि पछि पार्ने गरी । विकास, निर्माण तथा समृद्धिका लागि हिँडेको नेपाली राजनीति यता ‘मिथक’ को पुष्पक विमान चढी उड्दैछ ।
म राजनीतिमा लाग्दा राजनीति, साहित्य र धर्मका बीच फराकिलो फाटोहरू थियो। चिरा हैन,फाटोहरू थियो । यस्तो नेताबाट प्रभावित थियौं, जसको भनाई थियो–’साहित्यमा सम्राट पनि नांगो हुन्छ।’ बिपी कोइरालाले लेखेको ‘सुम्निमा’ का पात्रका बारेमा मतवाली र तागाधारीको दृष्टिबाट विवाद पनि उठाए । जब यसलाई हामी साहित्य मान्छौ अनि यो निर्विवाद हुन्छ।
सिनेमा वा साहित्य सामाजिक सोच भन्दा निरपेक्ष हुन्न । रामायण बुझ्ने शैली उत्तर भारतको भन्दा दक्षिणको धेरै फरक छ। दक्षिणका अत्यन्त प्रभावशाली विद्वान ‘पेरियार’ जस्ताले रामायणको कटु आलोचना गरेका छन् । त्यसबारे भारतमा गम्भीर बहस छ। दक्षिण त रावणलाई पुज्ने समाज हो । अहिले चर्चामा रहेका सिनेमाका कयौं बिषयमा स्वयं भारत भित्रै कटु विवाद शुरू भएको छ । पात्रहरूका भेष, संवाद अनेक सवालमा । ‘असहमतले न हेर्दा हुने’ त्यहाँका सर्वोच्च अदालतले निरन्तर उठ्ने यस्ता बवाललाई यसरी नै टुंग्याएको छ। हामी कसरी जाने नि ? यो हामीमा निर्भर गर्छ।
कमल थापाले धार्मिक हिन्दूत्वलाई उपयोग गर्न चाहे । उनी परराष्ट्रमन्त्री हुँदा नै यसका लागि भारतीय धर्मान्ध हिन्दू नेताहरूसँग सम्बन्ध बनाए । थोरै फाइदा लिए । तर, उनको त्यो राजनीति चलेन । अहिले बालेन आदिले यसमा राष्ट्रियताको जलप लगाएका छन् । यो राजनीतिको पपुलिष्ट एजेण्डाको नयाँ भर्सन हो, जसमा इतिहासको अज्ञानता, विद्यमान शासकीय असफलताले जम्मा पारिदिएको असन्तुष्टि, राजनीतिमा हाबी हुन सजिलो बाटोको खोजीज्ञान, जनमत निर्माणको इन्जिनीयरिङ, कमजोर तथा तन्नम् राष्ट्रमा घरजम गरिबसेको राष्ट्रियताको तडका आदिको मसला मिश्रण छ–लाग्दछ अबको दिन यस्तै होला ।