न्यायालयदेखि अख्तियारसम्म पूर्ण नियन्त्रण कायम गर्ने निरङ्कुशताको बीज ओलीले नै रोेपेका हुन्
नारायण गाउँले ।
अघिल्लो आमचुनावमा प्रस्तावित नेकपाले स्पष्ट जनादेश पाएको थियो । त्यसमा दुई फ्याक्टर मुख्य थिए; नाकाबन्दीको विरोध गरेर ओलीले कमाएको राष्ट्रावादी छवि अनि माओवादी र एमालेबीच पार्टी एकीकरणको निर्णय । जनताले वाम एकता र स्थायित्वको नारालाई स्पष्ट बहुमत दिएका थिए र प्रधानमन्त्रीका रूपमा ओलीसँग देशको रूपान्तरण सुरु गर्ने अभूतपूर्व अवसर थियो । नाकाबन्दीअघि एमाले ठूलो थियो र ओली त्यसका लिडर थिए भने नाकाबन्दीपछि ओली ठूला भए र एमाले ओलीको पार्टी थियो । यस्तोमा उनले पाएको चुनावी सफलतामा नाकाबन्दीताकाको छविको ठूलो महत्व थियो । र नाकाबन्दीका सूत्रधार र प्रमुख खेलाड़ी थिए उपेन्द्र यादव ! अर्का सूत्रधार राजेन्द्र महतोसँगै उनले स्पष्ट शब्दमा नाकाबन्दी भारतले नभई आफूले गरेको बताएका थिए र सीमापारि बसेर वारि ढुङ्गा हान्नेहरूको नेतृत्व उनैले गरेका थिए ।
ओलीले राजेन्द्र महतोलाई चुनावमा सघाएनन् मात्रै, प्रधानमन्त्री बन्नासाथ उनै नाकाबन्दीका नाइके उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाएर जनमतलाई गिज्याउन शुरू गरे । यत्तिमा उनी रोकिएनन् । जुन दलसँग एकीकरण गर्ने भनेर चुनावमा बहुमत जुटाएका थिए त्यो दलभन्दा माथिल्लो बरीयता दिएर उपेन्द्र यादव सरकारमा ल्याइए । जबकी नेकपासँग सरकार सञ्चालनका लागि आवश्यकभन्दा बढ़ी बहुमत थियो, राष्ट्रपतिदेखि सभामुखसम्म आफ्नै दलका थिए र उपेन्द्र यादवको सैद्धान्तिक र व्यावहारिक दुबै आवश्यकता थिएन ।
पार्टीको सल्लाह र सहमतिबिनै उपेन्द्रलाई च्यापेर भारतलाई खुसी बनाउने र दुई तिहाई बहुमत पुर्याएर न्यायालयदेखि अख्तियारसम्म पूर्ण नियन्त्रण कायम गर्ने निरङ्कुशताको बीज ओलीमा नउम्रिएको भए पाँच वर्ष देशमा राजनैतिक स्थायित्व हुने थियो र बलियो सरकार भएपछि कर्मचारी संयन्त्र समेत गतिशील बन्ने थियो । आवश्यकता असीमित तर हाम्रा स्रोत र साधन सीमित भएकाले पाँच वर्षमैं देशको कायापलट त के होला र तर एउटा पोजिटिभ प्रस्थान सम्भव थियो ।
अहिले त चुनाव जित्नेहरूको फुर्ती यति ठूलो हुन्छ भने त्यतिबेला देश नै नेकपामय देखिएको र अनपेक्षित बहुमत आएकाले ओली र नेकपामा अलिकति विजयोन्माद पनि पाच्य नै थियो । तर, प्रधानमन्त्रीको राष्ट्रिय जिम्मेवारी सम्हालेपछि ओलीको काम नै चौबीस घन्टा विपक्षलाई छुद्र शब्दमा गाली गर्ने, आफ्नै सहकर्मीहरूलाई पेलेर जाने र भ्रष्टाचारको मुद्दा उठ्नेबित्तिकै ओठे संरक्षणमा उत्रिने खालको रह्यो । प्रधानमन्त्री पनि मैं र पहिलो बरीयताको पाइलट पनि मैं भनेर बारम्बार सार्वजनिक रूपमा प्रचण्डको ईगोमा आक्रमण नगरेको भए र अलि लचिलो बनेर सबैलाई समेट्ने समन्वयकारी भूमिका निर्वाह गरेको भए समकालीन नेतामध्ये ओलीको हाइट माथि नै रहने त थियो नै, अहिले देखिएको राजनैतिक उकुसमुकुस समेत कम हुने थियो ।
भारतीय इच्छा र ओलीको सर्वसत्तावादी महत्वाकाङ्क्षाको आड़मा सत्ताको उपल्लो तला चढेका उपेन्द्र यादव पनि नेकपा विघटनका एउटा निर्णायक कारण हुन् । त्यसपछि पनि यादव पेण्डुलम जस्तै गठबन्धन, फेरि ओली र फेरि गठबन्धनको भित्ता नापिरहेका छन् । केही महिनाअघि एमालेसँगै मिलेर चुनाव लडेका यादव अहिले गठबन्धनको आड़मा सत्तामा फर्किने होड़मा छन् । जति पल्ट रङ्ग फेरेर या जुन हदसम्म गिरेर भए पनि सत्तावरिपरि टाँसिरहनुपर्ने उपेन्द्र यादवलाई अझैपाँच वर्ष नेपाली राजनीतिले झेल्नुपर्ने हो त ?