विखण्डनको बिउ जानीनजानी हामी आफैंले रोपेका हौं
मोहन लामा रुम्बा
त्यो दिन थियो झन्डै साठी सत्तरी वर्ष अगाडि हाम्रो नेपाली समाज यहाँको जनजीवन बारेमा सुक्ष्म रूपमा अध्यन अनुसन्धान गर्दै नेपालको गाउँ गाउँ कुना कन्दरा सम्म हजारौं माइल घुम्दै दसकौं लगाएर अध्यन गरिसकेपछि टोनी हगेनले भन्नुभएको थियो – नेपालको समाज धार्मिक आधारमा पश्चिमी मुलुक जस्तो बिभाजित समाज छैन र यसलाई बिभाजन गर्न हुन्न भन्ने मान्यता राखेर बोल्दै रहे‘‘ ! तर उनको कुरा कसैले सुनेनन्। राणा शासकलाई हटाएर मुलुकलाई आधुनिक ढाँचामा लैजाने भन्दै छात्रवृत्ति दिएर विद्यार्थीहरुलाई पश्चिमी मुलुकमा पठनपाठन गर्न पठाउन थालियो, त्यहाँ बाट पढेर आउनेहरुलाई राज्य संचालनको चावी दिन सुरु गरियो।
गाउँ गाउँमा बेलायत अमेरिकी गैरसरकारी संस्था युनाइटेड टु मिसन, पिसकोर जस्ता मिसनरीहरुलाई शिक्षा स्वास्थ क्षेत्रको जिम्मेवारी दिन थालियो, बिस्तारै बिस्तार नेपालको राज्यप्रणाली पश्चिमी वेस्ट मिनिस्टर प्रणाली लागु गर्दै गइयो।
राज्यको शिक्षा दिने एकमात्र नेपालको युनिभर्सिटीमा समाजशास्त्रीय मानवशास्त्रीय मानक पश्चिमी दृष्टिकोण बाट ब्याख्यान हुन थालियो, राज्यकै तर्फबाट नाकको साइजको आधारमा धर्म बिभाजन गर्न सुरु गर्न थालियो, त्यो क्रम बिस्तारै बढ्दै गएर अन्ततः आज हामी तेरो धर्म र मेरो धर्मको नाउँमा पाखुरा सुर्किने ठाउँमा आईपुगियो।हाम्रो हजुरबुवाको पालामा एउटै पोखरीमा एउटै थानमा एउटै चौतारीमा जात्रा–मात्रा मेलापात लाग्ने सबै पर्वहरु सबै तिर्थस्थलहरु आज नाकको आधारमा त्यो चुच्चे नाकको अर्को थेप्चेको हो अर्को कालेको मात्रै हो भन्ने मानसिकता आम भैसकेको छ। दसकौं लगाएर हामीलाई बिभाजन गर्दै ल्याएर अन्ततः हामी अहिले हाम्रो समाज प्यालेस्टाइन र इजरायल जसरी अलगअलग सैन्य क्याम्पमा बसे जसरी बस्न सुरु भएको छ।
यस्तो बेला यहाँनेर हिन्दु बौद्ध बिचमा समन्वयको कुरा गर्नु ऐक्यबद्धताको कुरा गर्नु भनेको ‘तोलमोलके बोल’ को अवस्था छ। हामी एक हौं ! हामी एकै हौं भन्नुभएको पनि दायाँबायाँ हेरेर बोल्नुपर्ने अवस्थामा हामी आइपुगी सकेका छौं भन्ने कुरा दलाई लामा समेत तौलिदै बोल्नुपर्छ नभए रिसाउँछ भनेर भन्न पर्ने अवस्थामा छ भने झन् म जस्तो सडकछाप फुस्राको के कुरा ?
सन् १९९२ को नोभेम्बरमा दलाइ लामाले अखिल भारतीय विद्यार्थी परिषद्को सम्मेलनको उद्घाटन गरेपछि हिन्दी साप्ताहिक पांचजन्य (२२ नोभेम्बर १९९२) ले उहाँसँग अन्तर्वार्ता लिएको थियो । हिन्दु र बौद्धहरूका बीच रहेको निकट सम्बन्ध र त्यसलाई बिगार्न भइरहेको प्रयासबारे उहाँले भन्नुभयो – ‘म हिन्दु र बौद्धलाई जुम्ल्याहा दाजुभाइ मान्छु । यी दुवै धर्मका बीच समाधि, योग र तन्त्र जस्ता कुराहरूमा समानता छ जुन बौद्धहरूले हिन्दु धर्मबाट लिएका हुन् । दुई धर्मको बीच मुख्य फरक आत्मा परमात्मा र कर्मको विषयमा हो । हामी बुद्ध धर्मलाई त्यसको जन्मको समयमा रहेको अध्यात्मवादबाट वर्णन गर्न सक्छौं जुन हिन्दु धर्म थियो । केही व्यक्तिहरू जैन, बौद्ध र सिखलाई हिन्दुबाट बेग्लै धर्म मान्छन् । हामीले बेग्लाबेग्लै हिन्दुहरूको समूहमा हेर्यो भने बौद्ध र जैनहरू पनि विस्तृत हिन्दु विचारकै एक धारा भएको पाउनेछौं । ……. मैले हिन्दु र बौद्ध एक हुन् भनी भनेमा केही बौद्धहरूले मेरो आलोचना गर्नेछन् तर दुवै एकदम बेग्लै हुन् भनेमा सो गलत हुनेछ ।’
भूटानका राजा जिग्मे वाङचुकले दिनुभएको अन्तर्वार्ता (द टाइम्स अफ इन्डिया, ७ जनवरी १९९३) मा चाख लाग्ने कुरा भन्नुभएको छ । उहाँको भनाइ छ– ‘म सक्रियताका साथ दशैं पर्वमा भाग लिन्छु । उनीहरूले कसरी भेदभाव भयो भनी भन्न सक्छन् ? हाम्रा दुई समूहबीच यति धेरै सांस्कृतिक र धार्मिक समानता रहेका छन्। हाम्रो इष्टदेव महाकाली हुन् र हामी शिव र विष्णुको पनि पुजा गर्छौं।’ –(बहु जातीय बहुभाषीय नेपाल– प्रकाश ए राज) माथिल्लो अभिव्यक्ति कुनै सामान्यजनको होइन, हामी हिन्दु बौद्ध धार्मिक आधारमा बिभाजन हुनुपर्ने कुनै कारण नै थिएन तर भयौं गरियो यो गर्ने हाम्रो अघिल्लो पुस्ताहरु हुन्। विखण्डनको बिउ हामीले जानीनजानी हामी आफैंले रोपेका हौं, यसमा कुनै सन्देह छैन नियतबस नहुन सक्छ तर परिणाम भोग्नुपर्ने हामी भयौं र हामीले आज रोपेको संघीयता धर्मनिरपेक्षताको बिउ हाम्रो आउने पुस्ताहरुले व्यहोर्ने पक्का छ, त्यो कुन रूपमा व्यहोर्ने छ यसै भन्न नसकिएला। अफगानिस्तानी जसरी व्यहोर्नुपर्ने हो की रुवाण्डाली नागरिकले जसरी व्यहोर्नुपर्ने हो त्यो चाहिँ हेर्दै जाऔं !!