संवैधानिक निकायको मूल्य र मान्यतामा प्रहार गर्ने प्रवृत्तिमा रोक लगाउने विषयहरु ऐननै समावेश गर्नुपर्छ
शारदाप्रसाद त्रिताल ।
१. सरकारले विगतमा संसदमा पेश गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक फिर्ता गरेर सराहनीय काम गरेको छ ।
२. विगतमा पेश भएको विधेयक ज्यादै स्वार्थपरक र अमिल्दो थियो । यसमा सुधार गर्ने विषय पक्कै पनि राम्रो सोच हो तर उक्त आयोगको व्यवस्था र महत्वलाई दर्शाउने गरी थप सुधारसहित पेश हुन सक्छ कि सक्तैन भन्ने प्रश्न चाहिं अझै बाँकी नै छ ।
३. प्रधानमन्त्री अध्यक्ष र प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहेको र मुख्यसचिव नै सचिव रहने संवैधानिक परिषद देशको सबैभन्दा उच्चस्तरको प्रतिनिधित्व भएको संयन्त्र हो । उपसभामुखको व्यवस्था वर्तमान संविधानले पहिलो पटक गरेको हो (उपसभामुखलाई सायद लैङ्गिक र दलगत प्रतिनिधित्व बढाउने उद्देश्यले समावेश गरेको हुनुपर्छ) ।
४. प्रधानन्यायाधीश बाहेक सबै पदाधिकारी उच्च स्तरका राजनीतिक व्यक्तित्व सहभागी हुने संयन्त्र हो यो ।
५. सत्तारुढ र सम्भावित वैकल्पिक सत्ताधारी दलको साझा निर्णय हुने संयन्त्र पनि हो यो ।
६. बनोटको दृष्टिले उत्कृष्ट र उदाहरणीय निर्णय हुनुपर्ने संस्था हो यो ।
७. शासकीय संयन्त्रका उच्च स्तरका पदाधिकारी रहने भएकोले कुनै गल्तीविना निर्णय भएको छ भन्ने विश्वास दिलाउन सक्ने र दिलाउनु पर्ने संस्था हो यो ।
८. कर्मचारीले सहयोग नगरेकोले काम हुन सकेन भन्न पनि नपाइने स्तरको संयन्त्र हो यो ।
तर विडम्वना !
९. प्रधानन्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्ने अधिकारक्षेत्र रहेको यस संस्था बारम्बार विवादमा आइरहेको छ ।
१०. दलगत दाउपेचको उच्च संयन्त्रको रुपमा यस संस्थालाई राजनीतिक नेतृत्वबाट नै बदनाम गराइएकोछ ।
११. भागबण्डा नमिलेर लगभग ५ वर्षदेखि अनिर्णयको बन्दी बनेको ‘बिचरा’ भन्नु पर्ने अवस्थामा पुर्याइएको संस्था बनेको छ ।
१२. यस संयन्त्रले हालसम्म गरेका निर्णय र सिफारिशहरु केही अपवादबाहेक अधिकांशत विवादास्पद नै भएको पाइएको छ ।
१३.यो संयन्त्रका निर्णय विवादास्पद हुनुमा ‘राम्रोवाला’ भन्दा ‘हाम्रोवाला’ लाई चुन्नु, ‘असलवाला’ लाई भन्दा ‘पसलवाला’ लाई चुन्नु, ‘राष्ट्रिय आवश्यकता’ प्रति भन्दा ‘भागबण्डा’ प्रति ध्यान दिनु नै मुख्य जिम्मेवार पक्ष हुन् ।
१४. प्रधानन्यायाधीश सदस्य रहेको संयन्त्र कानुनी रुपमा यस्तो विवादित बन्नु त अझै दुःखलाग्दो विषय भएको छ ।
प्रस्तुत सन्दर्भमा संवैधानिक परिषदसम्बन्धी ऐनमा देहायका कुरामा ध्यान दिई सुधार गर्नु आवश्यक देखिन्छ –
(क) देशको सबभन्दा उच्चस्तरको प्रतिनिधित्व भएको संस्था भएकोले यो स्तरको प्रतिनिधित्वको मर्यादा राख्न गम्भीरतापूर्वक ध्यान दिने गरी नयाँ प्रावधानहरु अर्थात् पदाधिकारीको लागि आचारसंहिताको व्यवस्था समेत ऐनमा समेट्ने ।
(ख) संवैधानिक निकायको मूल्य र मान्यतामा बारम्बार प्रहार गर्ने प्रवृत्तिमा रोक लगाउने विषयहरु ऐनमा नै समावेश गर्ने ।
(ग) संवैधानिक निकायका पदाधिकारीको लागि संविधानले स्पष्टसँग तोकेको ‘उच्च नैतिक चरित्र भएको’ भन्ने योग्यताको मूल्याङ्कन हुन सक्ने प्रक्रियाहरु ऐनमा स्पष्ट उल्लेख गर्ने । र, अन्य योग्यता र आचरणगत सूचकाङ्कहरु समेत समेट्ने ।
(घ) परिषदले संवैधानिक पदमा निकायगत रिक्त संख्या उल्लेख गर्दै आवेदन दिन सार्वजनिक रुपमा अनिवार्य सूचना प्रकाशित गर्ने वाध्यात्मक प्रावधान राख्ने ।
(ङ) प्राप्त आवेदनहरु मध्ये सबै योग्यता र प्रक्रिया पूरा गरी पेश भएका आवेदकहरुको नाम सार्वजनिक गर्ने र तिनको बारेमा सर्वसाधारणको प्रतिक्रिया लिने प्रावधान राख्ने । अथवा, दक्षिण अफ्रिकाको जस्तो ती आवेदन दिने व्यक्तिका सम्बन्धमा सार्वजनिक सुनुवाइको व्यवस्था गर्ने प्रावधान राख्ने ।
(च) विज्ञहरुसँग व्यापक छलफल गरी थप व्यवस्थाहरु समेत राखी पेश गर्ने ।
(छ) संसद र सम्बन्धित समितिले व्यापक अध्ययन र छलफल गरी पारित गर्ने ।