नत्र देश टाट पल्टिनेछ
डा. युवराज संग्रौला ।
सबै कुरा नकारात्मक मात्र छैनन् र नेपाल मात्र समस्याको रछ्यान पनि होइन । आज एउटा कार्यक्रममा मित्र खगेन्द्र प्रसाइको भनाइ हो यो । कुरा सत्य हो । जुन देशमा राजनीति दलको ‘बैचारिक दृष्टिकोण हुँदैन, त्यहाँ अर्थतन्त्र विदेशी वा बिचौलियाहरुको नियन्त्रणमा पुग्छ।’ भर्खरै देखिएको अमेरिकी संसदको नाटक र राजनीतिक अभद्रताले ‘इतिहासको अन्त भयो भन्ने फुकुयामाको भनाइ ठालुतन्त्र निर्माण गर्ने वित्तिय एकाधिकारवादी उदारवादलाई लागू हुने देखियो।’ भारतमा ‘उदारवाद’ वर्ग र धार्मिक विभाजनको बाटोमा छ र लोकतन्त्रको जननी भनिने बेलायतको लोकतन्त्रको हालत देखिएकै छ।
अर्थतन्त्र लोकतन्त्रको जीवन हो। एक जमानामा नेपाल धनी थियो। कौटील्यका समयदेखि नेपालको ऊन र कम्बल मगध जान्थे। नेपालले मगधलाई कागज बेच्थ्यो। नेपालले मगधलाई तामा र ब्रन्ज वा काँस मिसाएर बनाएका तरवार पनि बेच्थ्यो । नेपाल तिब्बतमा चाँदी र सुनका मुद्रा बेच्थ्यो। नेपाल धनी थियो। त्यसैकारण, मगधमा लिच्छवी राजकुमारीको विवाह भएको थियो र तिब्बतमा भृकुटीको। त्यस्ताका विवाह कुटनैतिक सम्बन्धको माध्यम थियो। सभ्य र शक्तिशाली देशसङ्ग वैवाहिक सम्बन्ध हुने गर्थ्यो।
नेपालको यो सम्पन्नता ‘निर्यातमुखी अर्थतन्त्रका कारणले’ प्राप्त भएको थियो। २०४६ पछि अनेक प्रपन्च गर्दै ‘कर उठाएर शासन गर्ने आयातमुखी अर्थतन्त्र निर्माण गरे र खोजी खोजी युवा बेचे । आज देश १७ खर्बको व्यापार घाटा र १८ खर्बको ऋृण बोकेको बूढो गधा भएको छ। अनि ढाँट कुरा गर्छन्, नेपालमा गरीवी १६ प्रतिशतमा झर्यो। यो ३५ खर्ब जनतालाई बाँडेर हेर त गरिबी बढ्यो कि घट्यो ?
देशको अर्थतन्त्रलाई निर्यातमुखी बनाइ स्वनिर्भर अर्थतन्त्र निर्माणको लडाइँ लड्नु नै अबको नेपालको लक्ष भएन भने देश टाट पल्टिने छ।
१. शिक्षा नालायक बनाइएको छ।
२. देशभक्तिको मनोविज्ञान धारासायी भएको छ।
३. उत्पादन गिर्दो छ।
४. राजनीति अस्थिरता बढ्दो छ।
५. हामी विदेशी माल र संस्कृतिका दास भएका छौँ । तर पनि मानिसलाई जीवनप्रति डर छैन । चाकरी, धुर्त्याइँ र सोखको नसा चढेको छ ।
नेपाली बनेर नेपाल हेर्न र नेपाल बनाउने दायीत्व मेरो हो भन्ने बुझ्न सकिएन भने, देशकै अर्थतन्त्र टाट पल्टियो भने तपाइँको सम्पत्ति रहने छैन । तसर्थ नेतालाई प्रश्न गर्न थालौं।