मलाई त अर्को चुनावको पो खुल्दुली लागिसक्यो



नारायण गाउँले ।

मैले आजसम्म देउबाको भिजन र विचार बोकेको कुनै लेख पढेको छैन । अस्पष्ट बोली र शारीरिक दुर्बलता अलग पाटो भयो तर कुनै पनि भाषणमा एक चिम्टी विद्वत्ता, तार्किकता र देश बनाउने रोडम्याप सुनेको छैन । हो, अन्य समकालीन नेता जस्तै उनी अर्को नेतालाई तुच्छ शब्दमा गाली गर्दैनन्, जी जोडेर बोल्छन् र तँ भन्दैनन् । दशमा एक अङ्क यसले आउला तर बाँकी ९ अङ्क ?

यत्रो विशाल चुनाबमा उनको भाषण सुनेर कति मत कांग्रेस या गठबन्धनमा खसे होलान् ? एउटा पनि नयाँ मत उनको भाषणले तानेजस्तो लाग्दैन । न उनको ‘बड़ी ल्याङ्बेज’ नै उत्साह भर्ने खालको छ । बोल्न नसके पनि सुन्न सक्ने धैर्य त होस् न भन्ने लाग्छ, त्यो पनि उनमा छैन । उनी सामान्य प्रश्नमैं पनि झोक्किन्छन् । उनले राजनैतिक जीवनमा स्वच्छ छवि कायम गरेका छन् भन्ने त झन् छँदै छैन । न अवसर नपाएकाले एकपल्ट हेरौँ भन्ने अवस्था छ । सार्वजनिक कार्यक्रममा ढङ्गसँग शिष्टतापूर्वक एकछिन बस्न सक्ने स्वास्थ्य र व्यक्तित्व पनि छैन ।
एउटा वडा अध्यक्ष पनि मलाई त्यसभन्दा राम्रो व्यक्ति छानिए हुन्थ्यो भन्ने लाग्छ । तीन करोड़ जनसङ्ख्यामा उनलाई नै प्रधानमन्त्री बनाउन भोट माग्नु र दिनुको औचित्य कसैसँग थिएन ।

अर्का दाबेदार ओलीलाई त कम्तिमा यो चुनाबमा फेरि प्रधानमन्त्रीको रूपमा भोट माग्ने र दिने औचित्य रत्तीभर थिएन । उनकै बहुमतमा देशको राजनीति सबैभन्दा अस्थिर, भ्रष्ट र दिशाहीन बनेको हो । उनकै नेतृत्वमा संसद सबैभन्दा पङ्गू बनेको मात्रै नभई अख्तियार, अदालतदेखि राष्ट्रपति कार्यालयसम्म सबै विवादित बने । काम गर्ने आशामा जनताले दिएको बहुमत उनले व्यक्तिगत महत्त्वाकाङ्क्षा र ईगोको तुष्टिका लागि प्रयोग नगरेको भए अहिले घण्टी बजाएको अनुमान गरिएका जनताले नेकपा भन्ने दललाई नै भोट दिने थिए ।

तुक मिलाएर भाषण गर्न र प्रश्नहरूको ओठे जबाफ दिन उनी सक्षम होलान् । इतिहासका केही पात्र, प्रसङ्ग र सामान्य ज्ञानका विषय उनलाई अरू नेताभन्दा बढ़ी ज्ञान होला तर एउटा नेताका रूपमा नभई नहुने विनयशीलता, जिम्मेदारीपन र राजनैतिक इमान् उनमा कत्ति पनि छैन । पछिल्ला तीन-चार वर्षका उनका भाषण दोहोऱ्याएर सुन्नुभो भने त्यहाँ विपक्षीदेखि आफ्नै सहकर्मी नेतालाई होच्याउने, गिद्ध र स्याल जस्ता उपमा दिने, आत्मप्रसंशा गर्ने र आफूबाहेक सारा दोषी रहेको दाबी गर्नेबाहेक थप केही भेटिन्न । उनी अगाडि पनि देशमा भ्रष्टाचार नभएको होइन । तर कारबाही र रोकथाम नभए पनि प्रश्न उठ्दा हामी छानबिन गर्छौं र दोषी देखिए कारबाही हुन्छ भन्नेसम्म सुन्न पाइन्थ्यो । उनले त हाकाहाकी आफै काँध थापेर सफाइ दिने अनौठो र खतरनाक नजीर स्थापित गरे । उनको कार्यकाल पार्टीको झगड़ा, भागबण्डा र एकले अर्कालाई जथाभावी गाली गरेर बित्यो । विघटनका केही महिनामात्रै होइन वर्सैसम्म संसद अवरोध गर्ने र तलबभत्ता बुझ्ने अराष्ट्रिय गतिविधि गरेर फेरि संसदमा पुग्ने औचित्य उनले कसरी स्थापित गर्न सक्थे र ?

कम्तिमा त्यो बेथिति र पाँच वर्ष खेर जानुमा अलिकति गल्तीबोध गरेर अब नदोहोऱ्याउने अठोट गरेको भए पनि अलग हुन्थ्यो । उनमा रत्तीभर आत्मालोचना छैन । भीम रावल या घनश्यामहरूले पार्टीको होइन, उनका निरङ्कुश र गैरसंवैधानिक कदमको विरोध गरेका थिए । तर उनले पार्टी भनेको केपी ओली हो भन्ने भाष्य स्थापित गरे । पार्टीविरोधी भनेर घनश्यामले नपाएको टिकट पार्टीलाई सबैभन्दा बढ़ी दुःख दिने दीपक बोहोराले किन पाए भन्ने प्रश्नको के उत्तर होला ?

रोचक त के छ भने उनलाई मिडियाले तपाईं भनेर नलेखेकोमा उनले पत्रकारसम्मेलन नै गरेर संस्कारको पाठ पढ़ाएका थिए । तर उनी आफै प्रतिस्पर्धीलाई तिमी या उनी भनेर सामान्य आदरसम्म प्रयोग गर्दैनन् । रवि लामिछाने उनका लागि ‘यसो पत्रकारिता गरेर खाने केटो’ मात्रै रह्यो । सार्वजनिक मञ्चमा उनीसम्म नभनी त्यो र ऊ भनेर सम्बोधन गर्ने उनको घमण्ड अचम्मको थियो ।

प्रचण्ड भन्ने त अलग अस्तित्व नभएर घोषित रूपमैं माथिका दुईबीच पेण्डुलमको भूमिकामा थिए । आजभोलिको नयाँ घड़ीमा त्यो नभए पनि चल्छ नै ।

तीन वटा दल दल नभएर प्राइभेट कम्पनी जस्तो भएपछि देशमा ठूलो राजनैतिक भ्याकुम देखिएको थियो । एउटा डरलाग्दो खालीपन ! एउटै धक्कामा त्यो खाली ठाउँ नभरिएला तर सधैँ खाली पनि रहन्न । खाली ठाउँमा राम्रै वस्तु मात्रै भरिन्छ भन्ने त हुँदैन तर खाली रही रहनु दुर्घटनालाई निम्ता दिनुजस्तै हुन्छ । मलाई त अर्को चुनाबको पो खुल्दुली लागिसक्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार