खतराको ‘घण्टी’ बजिसकेको छ
नारायण गाउँले ।
व्यक्तिभन्दा पनि माहोल र म्यासेज बलियो हुन्छ ! विष्णु पौडेल, आरजू देउबा या गोकुल बास्कोटासँग एउटा बिचौलियाले जति सजिलै कमिशनको प्रस्ताव राख्न सक्ला, काठमाडौंका मेयर बालेन या धरानका हर्क साम्पाङ्सँग राख्न सक्दैन ! ती भ्रष्ट हुँदैनन् भन्ने होइन तर एउटा माहोल, आभा, प्रभाव या सङ्कोचले सधैँ पर्खालको काम गर्छ र तिनलाई सजिलै भ्रष्ट हुन दिँदैन । ओली, देउबा या प्रचण्डजस्तो भन्सारदेखि प्रशासन र पुलिसदेखि अदालतसम्म फैलिएको अन्डर-टेबल च्यानल तिनसँग हुँदैन । दस्तुर बुझाएर टिकट हासिल गरेको नहुनाळे लगानी उठाउनुपर्ने हतार पनि हुँदैन । अनि अलिकति तलमाथि हुँदा तिनलाई काँध थाप्ने सङ्गठित पार्टी पछाडि हुँदैन । कसरी खाने भन्ने अनुभव पनि नहुने र स्टेक धेरै हाई हुने हुनाले भ्रष्टै भए पनि ती कम भ्रष्ट हुन्छन् !
कसैलाई लाग्दो हो, ती एकदुई नामले लहैलहैमा जितेका हुन् । मतदाताहरू बहकिएका मात्रै हुन् । तर, आम जनताबीच एउटा असह्य छटपटी र विद्रोह हुर्किँदै गएको र त्यो विष्फोटकै स्थितिमा पुगेको हेक्का हामीलाई नभएको हुन सक्छ । त्यो जनआवेगको अभिव्यक्ति कसैले नसोचेको स्तरमा र यही चुनाबमा पोखिने छाँट देखिँदै छ ! फेरि पनि यसलाई व्यक्तिमोह या बहकाउपन मात्रै मान्नेहरू आफै सकिने दिन आउन सक्छ । खतराको “घण्टी” बजिसकेको छ !
अति नै भएपछि खती हुनु त स्वाभाविक नै थियो, तर यति छिटै र यति धेरैको मनमा घण्टी बज्ला भन्ने सोचिएको थिएन । व्यक्ति भन्ने सोच्दा सोच्दै यो त माहोल र आन्दोलनको हुरी बनेर देशभरि फैलिइसकेछ । हुरीले केही राम्रा र हरिया पात पनि झार्ला, कुहेका र पुराना पातलाई भने पक्कै उडाउन सक्छ । कनभेन्सनल सिद्धान्तमा हिसाब गरिरहनुभएको छ भने यसपालि तपाईंको गणित नमिल्न पनि सक्छ !
यसपालि नसोचेको हुन सक्छ !