स्वच्छता
डा. गोविन्दशरण उपाध्याय ।
शुभ–अशुभ, उचित–अनुचित, लाभहानी, स्वर्गनर्क, पापपुण्य तथा कर्तव्यअकर्तव्यका विषयहरू बढो जटील हुन्छन् । समाज, परिवेश, संस्कृति तथा बातावरणआदि प्रेरकतत्व हुन्छन् । एउटा समाज वा धर्मका लागि एउटा कर्म वा वस्तु शुभ हुन्छ भने त्यही कर्म र वस्तु अर्को समाजका लागि शुभअशुभसँग कुनै सरोकार नभएको हुनसक्छ र तेस्रो समाजमा त्यो अपवित्र नै पनि मानिन सक्छ । वैदिक शास्त्रहरूले एस्तो शुभअशुभको समस्या समाधान गर्नका लागि सर्वभौम गुणहरूलाई नै धर्म मानेर वैश्विक प्रतिमान स्थापित गर्ने प्रयत्न गरेका छन् । सर्वप्रथम महाराज मनुले १० प्रकारका कर्तव्यहरू विश्वका सबै मानिसका लागि अनिवार्य बताउनु भयो जसमा धृति, क्षमा, दम, अस्तेय,शौच,, इन्द्रिय निग्रह, धी, विद्या, सत्य तथा अक्रोध छन् । विश्वको जुनसुकै मानिसले असल गुण धारण गर्ने, क्षमा दिने तथा क्षमा प्राप्त गर्ने, अनावश्यक इन्द्रिय प्रयोगबाट जोगिनेआदि अस्वीकार गर्न मिल्दैन । यसैगरी, शारीरिक तथा मानसिक शुद्धता पनि विश्वका हरेक व्यक्ति, समाज तथा राष्ट्रलाई चाहिन्छ । आजको जमानामा त स्वच्छतालाई निकै महत्व दिइन्छ ।
आधुनिक समाजले भौतिक स्वच्छतालाई निकै महत्व दिन्छ तर मानसिक स्वच्छताका विषयमा मौन छ । श्रीमद्भागवतले भौतिक स्वच्छता (पवित्रता) सहित मानसिक स्वच्छतामा बढी महत्व दिन्छ । मन शुद्ध छैन भने मान्छेको शरीर स्वच्छ हुँदैमा उ स्वास्थ्य हुँदैन । मानसिक रूपमा अस्वच्छ व्यक्तिले आफैले आफैलाई सम्मान गर्न सक्दैन भने अरूको सम्मान गर्छ भन्ने कल्पना नै गर्नु पर्दैन । मान्छे भौतिक र आध्यात्मिक प्राणी दूवै हो । भौतिक प्राणीका रूपमा मानिस पूर्णतया भौतिक वस्तु र क्रियाकलापमा आश्रित रहनुपर्छ भने मानसिक उसको आध्यात्मिक स्वच्छता पनि आवश्यक छ । श्रीमद्भागवतले अजामिल प्रसंगमा भौतिक पवित्रताका तुलनामा मानसिक पवित्रतालाई महत्व दिएको छ ।
घटना वा कारणवस कुनै व्यक्ति यदि पापकर्ममा लाग्छ भने पनि यदि सम्बन्धित व्यक्तिले असल आचरणको शिक्षा प्राप्त गरेको छ भने सद्कर्मका प्रभावले ऊ असद्कर्मबाट वीरत हुन सक्छ । मान्छेको समय सधैं एकै हुँदैन । अजिविकको लागि फरकफरक काम गर्नुपर्छ ्र ती कर्म आफुलाई मन परेकै हुनुपर्छ भन्ने हुँदैन । उदाहरणका लागि यदाकदा एउटा पूर्ण शाकाहारी व्यक्तिले मासुको पसलमा बसेर त्यो बेच्नु पर्ने हुन्छ ्र मासु बेच्नु उसको पेसा होइन, त्यो उसको मालिकले खटाएको काम मात्र हो । यसैगरी कहिलेकाहीं असल कर्म पनि जवजस्ती घटीत हुन्छन् । उदाहरणका लागि कुनै व्यक्ति विशेषलाई दान दिन पटक्कै मन पर्दैन तर कुनै बलियो व्यक्तिले सम्बन्धित व्यक्तिसंग जवर्जस्ती गर्दै जाडोमा बस्त्र नभएका बालबालिकाका लागि बस्त्र दान गर्न बाध्य पार्यो । उपरोक्त दूवै प्रतिनिधिहरूको कार्य आफ्नो इच्छाअनुरुप छैनन् तर त्यसको प्रभावचाहिं पर्न सक्छ ।
दान गर्न इच्छा नहुँदानहुदै पनि दान गर्ने व्यक्तिले यदि बाल्यकालमा सत्कर्मको अभ्यास गरेको छ भने उसमा दानको भावना प्राकृतिक रूपमा जागृत हुन सक्छ । त्यसैगरी मासुपसलमा बसेर मासु बेच्ने व्यक्ति जतिनै असल भए पनि यदि उसले कुनै बखतमा पापकर्मको अभ्यास गरेको थियो भने पापकर्मको प्रभावमा पर्न सक्छ ।
तसर्थ, कर्म जे–जस्तो भए पनि मानसिक रूपमा निर्दोष, पवित्र तथा छलरहित हुने व्यक्ति असल हुन्छ स्वच्छ हुन्छ । जुन व्यक्ति निर्दोष र स्वच्छ हुन्छ, उसले परमात्मासंग सहजरूपमा सम्वन्ध स्थापित गर्छ र उसको मृत्यु सफल हुन्छ । मैले पहिले नै निवेदन गरेको छु कि श्रीमद्भागवतको भाषा “समाधिभाषा“ हो । समाधिभाषाको अर्थ र प्रयोजन बुझ्न अध्यात्मप्रति दृढ जिज्ञासा हुनुपर्छ । केवल मूढे तर्कले सत्य प्राप्त हुँदैन । श्रद्धा र आस्थापूर्वक गरिएका हरेक जिज्ञासाको उत्तर हुन्छ । यो संसारमा यमदुत पनि छन्, देवदूत पनि छन् ।
देवदूत र यमदूत दुबैको कार्य फरकफरक छ । यमदूतले शास्त्र विरुद्ध गरिएका अशुचि कर्मको दण्ड दिन्छन् भने देवदूतहरू शास्त्रीय विधि पूर्वक गरिएका कर्महरूको पुरस्कार दिन्छन् तर कुन् कर्म कर्म शास्त्रीय छ र कुन कर्म छैन भनेर बुझ्न गुरुशिष्य परम्परामा आबद्ध भएर नम्रतापूर्वक शास्त्रीय विधिलाई बुझ्नु पर्छ । अजामिलले “नारायण“ भनेर मात्रै मुक्ति प्राप्त गरेको होइन । उसले सदाचारको अभ्यास बाल्यकाल गरेको थियो र जीवनमा सद्कर्म घटीत हुँदा त्यो सदाचार (शुभकर्म) बलवान् भएको हो ।
तथाकथित धेरै आधुनिकहरूलाई “अजामिल“को मुक्ति अस्वाभाविक लाग्न सक्छ तर यमदूत र देवदूतहरूको संवादले उसका शुभकर्महरू जागृत भएर गहिरो मानसिक पश्चाताप गरेको बिर्सनु हुँदैन । अपराध पनि बारम्वार गर्ने अनि, क्षमा पनि बारम्वार माग्नेहरूको मन निर्दोष हुँदैन । हात्तीले नुहाएपचि आंगमा धूलो खन्याएर अपवित्र भएझैं जस्तोसुकै सद्कर्म गरे पनि वारम्वार शास्त्रीय आचरणको उलंघन गर्ने जीवले उन्मुक्ति प्राप्त गर्दैन । अजामिलले पाप गरे तर देवदूत तथा यमदूतको सम्बादले उनको चित्त निर्दोष बन्यो । यसरी चित्त निर्दोष बनाएर स्वच्छता प्राप्त गर्ने कामचाहिं जीवकै हुन्छ । आफ्ना असल÷खराव कर्मको जिम्मेवारी आफ्नै हुन्छ ।
स्वस्तिअस्तु