देवकोटाको दार्शनिक व्यक्तित्व



डा. गोविन्दशरण उपाध्याय ।
१. दूई जना अध्येता प्रा.डा. दुर्गाप्रसाद अर्याल र गोविन्दशरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् । अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा । विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ । अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे । उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् ।

नेपाली समाजमा राजा पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी देवत्वकरण गरिएका व्यक्ति देवकोटा नै हुन् । देवकोटाको गरिवी, उहाँको आशुकवित्व, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण, बहुभाषाहरूको ज्ञान सहित उनको बहुलट्ठीपन पनि चर्चाको विषय बनेका छन् । पृथ्वीनारायण शाहलाई “हिन्दूवादी“ मान्नेहरू र राजा महेन्द्रलाई “नेपाली भाषा थोपरेको“ आरोप लगाउनेहरू देवकोटाको बहुव्यक्तित्वका आगाडी उनके आफ्नो मन्त्रित्वकालमा नेपाली भाषाको सन्दर्भमा गरेका निर्णयहरूमा सवाल खडा गरेर अलोप्रिय बन्न चाहन्नन् ।

जव हामी दर्शनशास्त्रको कुरा गर्छौं हामीले दर्शनशास्त्रका आधारभूत प्रश्नहरू र क्षेत्रका विषयमा सही जानकारी प्राप्त गरेको हुनुपर्छ । देवकोटाका विशाल विचार भण्डारमा अनेकौं दार्शनिक प्रश्नहरूका उत्तर छन् तर के उनी दार्शनिक सिद्धान्तकार कहलाउन योग्य छन् त ? के देवकोटालाई “सिद्धान्तकार“ भन्न मिल्छ त ? यो प्रश्नको वस्तुगत उत्तर खोज्नु आवश्यक पर्छ । देवकोटा पनि मान्छे नै हुन्, उनी देउता होइन । उनी सबैथोकका ज्ञाता पनि होइन । तर उनी त्यस बखतको नेपाली सामाजिक, सांस्कृतिक राजनैतिक परिवेश भन्दा ५० बर्षपछिको चेतना बोकेका मान्छे हुन् भन्न मिल्छ ।

२, उनले आफ्नो जीवनकालमा लेखेका ६५४ बटा कविता, छ बटा महाकाव्य, (छ बटा प्रकाशित भएका छैनन्) ११ बटा निवन्ध (अंग्रेजी सहित) ४ वटा अनुवाद, २ बटा नाटक, अनेकौं खण्डकाव्यहरू, समालोचनाहरूप्रकाशित छन् र अझैं थुप्रै प्रकाशनको क्रममा छन् । सम्भवतः अझैं पनि केही खोज समेत भैसकेका छैनन् । सम्भवतः खोज हुन बाँकी लेखौटमा विशुद्ध दर्शनशास्त्र सम्बन्धित पुस्तक भेटियो भने अचम्म मान्नु पर्दैन । आफ्नो समय भन्दा ५० वर्षपछिको सोच राख्ने देवकोटा दर्शनशास्त्रका सिद्धान्तहरूसंग अपरिचित थिए भन्न मिल्दैन ्र मैले यहाँ दर्शनशास्त्र शब्दको प्रयोग “दर्शनशास्त्र भनेकै वैदिक, उपनिषदीय, पौराणिक, जैन, बौद्ध वा षड्दर्शन मात्र हुन् “ भन्ने पूर्वाग्रह मुक्त भएर गरेको छु । धरती धेरै फैलिएको छ । सबै थोक भारतवर्षले देख्न सक्दैन ।

नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वरूपमा दार्शनिक चेतना पानीमा नून मिसिएझैं अभिन्न छ । दर्शनशास्त्र र अन्य विधालाई फरकफरक अवस्थामा अध्ययन/अध्यापन गर्न अभ्यस्त पश्चिमा अनुसन्धानकर्ताको लागि नेपाली सांस्कृतिक तथा धार्मिक बनावटबाट दार्शनिक चेतना अलग्याउनु निकै मेहनत गर्नुपर्छ । यतिबिध्न हुँदा पनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक चरित्रबाट दर्शनशास्त्रलाई टपक्क टिपेर अलग पार्ने कल्पना गर्न सकिन्न । यसको अर्थ, यहाँ दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व छैन भन्ने पटक्कै होइन । धर्म, संस्कृति, राजनीति, सिद्धान्त तथा संस्कारहरू एकअर्कोमा अन्योश्रित भएको नाताले दर्शनशास्त्रलाई बुझ्न पनि समग्रको ज्ञान हुनैपर्छ । दूई फक्लेटे सत्यमा विकसित भएको चिन्तन–संस्कारका लागि नेपाली दर्शनशास्त्र सधैं “अपूर्ण, धर्मसंग टाँसिएको“ हुन्छ । जुन सत्य होइन ्र देवकोटा यही समाजका उपज भएकोले उनका दार्शनिक चिन्तन पनि उनका सृजनामा छरिएर रहेका छन् ।

देवकोटाको दार्शनिक चिन्तनलाई सुकरात, अरस्तु, प्लेटोको आँखाले हेरिनुपर्छ, देकार्त, ह्युम, कान्ट वा सात्रेको आँखाले बुझ्ने प्रयत्न गर्नुहुँदैन । यसैगरी देवकोटालाई आचार्य शङ्कर, निम्बार्क, रामानुज, उपनिषद तथा वेदका बहुआयामिक दृष्टिकोणले बुझ्ने प्रयत्न गर्नुपर्छ, सांख्य, योग, वेदान्त वा राधाकृष्णन्, अरविँदोका नजरियाले बुझ्न गाह्रो हुन्छ । देवकोटालाई पढेर मार्क्सवाद“ ठान्ने, देवकोटालाई पढेर आध्यात्मवादी मान्ने, देवकोटालाई पढेर मानवतावादी मान्ने र देवकोटालाई केवल बग्दो नदीझैं निर्झर मान्ने सबै ठीक छन् । किनभने वैदिक संस्कृति र सभ्यतामा विकसित हुने सत्य बहुआयामिक नै हुन्छ । जुन देवकोटामा छरपष्ट छरिएको छ । सिमल्न धेरै बाँकी छ तर देवकोटालाई केवल प्रगतिवादी ठान्नेहरूले देवकोटाको अर्धसत्य बखान गरेझैं मानवतावादी तथा आध्यात्मवादीहरू पनि यही श्रेणीमा पर्छन् ।

३. तेसो भए के देवकोटा दार्शनिक हुन् वा होइनन् ? यो प्रश्न आफैमा पूर्वाग्रह पूर्ण पश्चिमेली दार्शनिक दृष्टिकोणमा आधारित छ ्र देवकोटा निश्चय नै दार्शनिक सिद्धान्तकार होइनन् न उनले दर्शनशास्त्र विषयमा विद्यावारिधि नै गरेका छन् तर उनका रचनाहरूमा दर्शनशास्त्रको चेतना राइछाई छ । उनी नेपाली समाजका सशक्त बौद्धिक आवाज हुन् जसले प्रथमतः नेपाली भाषालाई वैश्विकस्तरमा उभ्याएका छन् भने यही भाषामा व्यक्ति भएका परम्परागत तथा आफ्ना समयको सङ्घारमा उभिएर बहुआयामिक रूपमा व्यक्त भएका छन् । उनको चिन्तनको परिधि यतिबिध्न विशाल छ कि खोज्नेले आफ्नो अभिरुची अनुसार खोजेको विषयवस्तु प्राप्त गर्छ । उनी विश्वविद्यालयमा दीक्षित दार्शनिक होइन तर दार्शनिकहरूलाई दृष्टिकोण दिने शक्तिशाली विचारक अवश्य हुन् ।

नेपालका धेरैजसो विचारकहरू तिनथरिका राजनैतिक घेरामा बाँधिएरका छन् । यही साँघुरो घेराभित्र रहेर विचारकहरूको समीक्षा गरिन्छ । पहिलो र शक्तिशाली घेरा हो “प्रगतिशील“ बर्गको । प्रगतिशील भनिए पनि धेरैजसो समालोचकहरूहरू मार्क्सवादी हुन्छन् । उनीहरूले हरेक “चिन्तन“लाई मार्क्सवादी दृष्टिकोणमा ढाल्ने प्रयत्न गर्छन् । आधुनिक मनिषीहरूको कुरा छोडौं, यिनीहरूले मार्क्सवादसंग गोरू बेचेको पनि सम्बन्ध नभएको वेदका चिन्तनमा पनि मार्क्सवाद खोज्छन् र “सेथिस, एन्टीथेसिस र सिन्थेसिस“को जामा पहिराई दिन्छन् । मूलतः मार्क्सवाद एउटा प्रभावशाली “राजनैतिक अर्थचिन्तन“ हो तर मार्क्सवाद बैज्ञानिक दर्शनशास्त्र हो भन्दै हरेक ठाउँमा थोपर्ने प्रयत्न गर्छन् र प्रगतिवादको चस्मा तयार गर्छन् । देवकोटाको चिन्तनउपर पनि “प्रगतिवाद“को कोट पहिराउनेहरू थुप्रै छन् । समरकन्दको भाषण, सुलोचना महाकाव्यमा प्रस्तुत भएका केही कथन र अन्धविश्वास उपर उनको प्रहारलाई “प्रगतिवाद“का रूपमा प्रस्तुत गर्छन् ।

दोश्रो प्रवृति समाजवाद (प्रजातन्त्रवादी)हरूको हो जसले देवकोटाका विचारहरूका आधारमा उनलाई “समाजवादी घोषित गर्छन् । तेस्रोधार, परम्परावादीहरूको हो जसले देबकोटालाई पूर्णतया वैदिक सनातन धर्मका विनम्र र प्रखर प्रस्तोताका रूपमा देख्छन् र त्यही रूपमा प्रस्तुत गर्छन् । मैले माथि उल्लेख नगरेको चौथोधार चाहिं मानवतावादको हो जुन देवकोटाको सरलमन र समयको आवश्यकताका कारण देवकोटाको सवल पक्ष भन्न मिल्छ तर यसो गर्दा पनि उहाँका “चिन्तन“मा न्याय हुनैसक्दैन । यस सम्बन्धमा अंग्रेजीका प्राध्यापक डा. पद्म प्रसाद देवकोटाले “द विच डक्टर“ नामक अंग्रेजी निवन्ध संग्रहमा महाकविको सम्वन्धमा लेखेको तत्थ्य मनन गर्नुपर्ने देखिन्छ ्र प्राध्यापक पद्मप्रसादले लेखेका छन् “…देबकोटा नेपाली समाजमा प्रचलित अनेकौं अन्धविश्वास र कुरीतिका प्रवल विरोधी थिए । तर उनी नास्तिक थिएनन् । उनले सधैं नेपाली समाजमा व्याप्त रहेको अध्यात्मिक चेतनाको भौतिकतहमा विश्वास गरिरहे र वैज्ञानिक चिन्तन तथा व्यबहारप्रति समर्थन गरिरहे । उनले नेपाली मौलिक परम्परा र बैज्ञानिक चिन्तनको जोड़मा जीवनको अर्थ खोजे ्र“

४. परम्परावादीले देवकोटालाई अन्धविश्वासतिर डोर्याउने सम्भावना हुन्छ, प्रगतिवादीले देवकोटालाई कम्युनिस्टका रूपमा उभ्याउन खोजेको देखिन्छ, समाजवादीले धर्मनिरपेक्षवादको राजनीतिको कित्तामा उभ्याउने प्रयत्न गरेको बुझ्न सकिन्छ भने मानवतावादी धारहरूमा उपरोक्त चारैप्रकारका प्रवृत्तिहरू बुझ्न सकिन्छ । मेरो ठम्याई भने उपरोक्त सबै अतिवादका विपरित देवकोटा एउटा विनम्र तथा चिन्तनशील नागरिक हुन् जसले नेपाल र नेपालीको चहुर्दिश विकासको सपना देखे । उनले आफुले देखेको सपना प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, नेपाली भाषालाई नेपालको पहिचानका तत्वका रूपमा स्थापित गरेर देखाए । उनी साधारण मान्छे नै थिए तर उनको चिन्तन “वाद. प्रतिवाद, विवाद“को पिंजडामा कैद थिएन । उनी जतिधेरै प्रगतिशील थिए त्यतिनै धेरै परम्परावादी पनि थिए । उनी जतिधेरै उदात्त चिन्तनका थिए तेतिनै धेरै स्वधर्म, संस्कृति तथा परम्पराका पक्षधर पनि थिए । उनले छुवाछुतको आलोचना गरे भने हत्यानै गर्ने भए पछि गाई हत्याको विपक्षमा विचार पनि दिए । साथै जनताको सर्वतोमुखी प्रगति र वैज्ञानिक विकासका लागि तत्कालीन सोभियतको साम्यवादका पक्षमा पनि उभिए ।

लेखक तथा साहित्यकार सूर्य विक्रम ज्ञावलीले देवकोटाको प्रतिभालाई सम्मान गर्दै एउटा कार्यक्रममा “महाकवि“ भन्दै सम्बोधन गरेको वाणी कालान्तरमा देवकोटाको एकल चिनारी बन्न पुग्यो । देवकोटा “महाकवि“को उपाधि कुनै विश्वविद्यालय, संघसंस्था वा सरकारबाट प्राप्त गरेका होइन । उनको “महाकवि“ देशका जनताले सामुहिक रूपमा प्रदान गरेको प्रेमपूर्ण सम्मान हो । सायद यदि कुनै संघसंस्था वा सरकारले यो उपाधि दिएको भए, देवकोटाको व्यक्तित्व यतिबिध्न विशाल र स्वीकार्य हुने थिएन । भारतीय घुमन्ते विद्वान राहुल साँन्कृत्यायनले “पन्त, निराला र प्रसाद“को समवेत देवकोटा हुन्“ भनेर गरेको प्रसंशा अर्थपूर्ण मान्नुपर्छ । भारतीयहरूले चानचुने अवस्थामा नेपाली विद्वानको सम्मानमा शब्द खर्च गरेको विरलै भेटिन्छ । भारतीय वाहेक आफ्ना छिमेकी मुलुकका प्रतिभाहरूको सम्मान गर्न गर्ने सवालमा भारतीय विद्वानहरू निकै कन्जुस्याइँ गर्छन् ।

५. दर्शनशास्त्रका आफ्ना पूर्वस्थापित मान्यताहरू हुन्छन् । ती मान्यताहरूको फ्रेममा अटाउने गरि प्रेषित गरिएका विचारहरू दर्शनशास्त्रको श्रेणीमा पर्छन् । आजको समयमा अन्य शैक्षिक विषयवस्तुहरूले प्रगति गरेझैं दर्शनशास्त्रभित्र पनि अनेकौं नवीन विषयवस्तुहरूले स्थान पाएका छन् । यदि परम्परागत रूपमा भन्ने हो भने कुनै पनि विचारकको विचार “दर्शनशास्त्र“ बन्न निम्नतम परमतत्वका विषयमा प्रश्न सोधिएको र उत्तर दिएको हुनुपर्छ । नैतिक–अनैतिक, शुभअशुभ, उचितअनुचित, राम्रो नराम्रो, मूल्यवान्, अमूल्य तथा मूल्यहीन विषयहरू वारे चर्चा गरिएको हुनुपर्छ । ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र सीमाका विषयमा छलफल गरिएको हुनुपर्छ । प्रस्तुत गरिएको विचार तर्कका दृष्टिकोणले बैध हुनुपर्छ र स्वतन्त्रता, परतन्त्रताआदिका विषयमा चर्चा गरिएको हुनुपर्छ । बर्तमान समयमा दर्शनशास्त्रले विश्वको जुनसुकै विधाभित्र मूल्यको तत्थ्य उठान गर्न आरम्भ गरेको छ–मनोविज्ञानको दर्शन, बायोलोजीको दर्शन, विज्ञानको दर्शन, अर्थशास्त्रको दर्शन, राजनीतिको दर्शनआदिआदि ।

उपरोक्त परम्परागत दार्शनिक प्रश्नहरू गर्ने र तिनको अर्थपूर्ण वा निरर्थक उत्तर खोज्ने मान्छे हो । त्यसैले अहिलेको विश्वमा दर्शनशास्त्रको मानवतावादी धार पनि निकै तिखारिंदै गैरहेको छ । के देवकोटाका कृतिहरूमा तत्वमीमांसा, ज्ञान मीमांसा, नीति मीमांसा, तर्क मीमांसा तथा मानवीय मूल्यका विषयमा प्रश्नहरूको उठान र उत्तर उपलब्ध छन् त ? के देवकोटाका कृतिहरूमा उपरोक्त प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ त ? यी प्रश्नहरूको उत्तर यदि “छ“मा आउँछ भने देवकोटा दार्शनिक हुन्, यदि “छैन“ भन्ने आउँछ भने देवकोटा विचारक, समाजसेवी, राजनीतिज्ञ, बैज्ञानिक त हुन सक्छन् तर दार्शनिक होइन । निश्चयनै देवकोटा विश्वविद्यालयबाट दर्शनशास्त्रको डिग्री प्राप्त गरेका हिगल, राधाकृष्णन् वा रसेलजस्ता दार्शनिक त होइनन् तर उनले आफ्ना कृतिहरूमा उपरोक्त दर्शनशास्त्रका आधारभूत प्रश्नहरूको उत्तर दिएको हुँदा उनी दार्शनिक कवि, समाजसुधारक, राजनीतिज्ञ तथा चिन्तक अवश्य हुन् ।

क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही

सुप्रिम सहकारी ठगीमा रविलाई प्रतिवादी बनाउन प्रहरीको राय

बुटवल । रुपन्देहीमा प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

सरकारले स्पष्टीकरण सोधेपछि कुलमानद्वारा कार्यसम्पादन मूल्यांकन मन्त्रालयमा पेस, ९८अंक दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा

संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,